• होमपेज
  • समाचार
  • बादिकाको भिरमा जिप दुर्घटना, एकको मृत्यु

बादिकाको भिरमा जिप दुर्घटना, एकको मृत्यु

  • शुक्रबार, साउन १५, २०७८
बादिकाको भिरमा जिप दुर्घटना, एकको मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीनजिकै पर्ने बादिकाको भिरमा शुक्रबार बपहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग.१ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर धवलागिरि गाउँपालिका– ७ ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। उनका अनुसार सडकबाट खसेको जिप करिब चार मिटर तल सल्लाको बोटमा अड्किएको छ। जिपमा चालकसहित नाैजना सवार रहेकोमा सडकबाट जिप पल्टिँदा उछिट्टिएका सुनारको दुई सय मिटर तल भिरमा शव फेला परेको प्रहरीले जनाएको छ।

जिपभित्रै रहेका अन्य सबै घाइते भएको र उनीहरूको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि बेनीतर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको छ।

दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा ओरालोमा ब्रेकफेल भएर जिप दुर्घटनामा परेको बुझिन आएको र थप अनुसन्धान भइरहेको प्रनाउ राईले बताए । सडकबाट पल्टिएको जिप सल्लाको बोटमा अड्किएको र भिरमा खस्नबाट बचेकाले जिपमा सवार अन्यको ज्यान बचेको छ ।

चर्चामा

सम्बन्धित समाचार