• होमपेज
  • समाचार
  • ट्याक्सीमा हालेर वयोवृद्ध कलाकारलाई गौशालाको धर्मशालामा छाडिएपछि….

ट्याक्सीमा हालेर वयोवृद्ध कलाकारलाई गौशालाको धर्मशालामा छाडिएपछि….

उद्धार गरेर मानवसेवा आश्रमलाई जिम्मा

  • मङ्लबार, साउन १२, २०७८
ट्याक्सीमा हालेर वयोवृद्ध कलाकारलाई गौशालाको धर्मशालामा छाडिएपछि….

‘एउटै क्षेत्रमा काम गर्ने सदस्यलाई आश्रममा बुझाउन खोज्दा त आँखाबाट आँसु थाम्न सकिएन, भने आफूलाई जन्म दिने बुवा–आमालाई नै आश्रममा पठाउने निर्दयी सन्तानलाई पापी, अधर्मी भन्दा फरक नपर्ने रहेछ’ चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सोमबार साँझ आफ्नो सामाजिक संजाल मार्फत ब्यक्त गरेको अभिव्यक्ति हो यो ।

वयोवृद्ध कलाकार सुवर्ण श्रेष्ठलाई रानीवन, बनस्थलीस्थित मानव सेवा आश्रमका रेस्क्यु समूहलाई हेरविचारका लागि जिम्मा लगाएपछि संघका अध्यक्ष खड्काले सामाजिक सञ्जाल यो स्टाटस पोष्ट गरेका हुन् ।

गत आइतबार मध्यान्न गौशालाको धर्मशाला अघि एउटा ट्याक्सीमा ल्याएर छोडिएकी कलाकार सुवर्ण श्रेष्ठलाई संघले उद्धार गरेर मानव सेवा आश्रममा जिम्मा लगाएको हो । थुप्रै नेपाली चलचित्रमा काम गरेकी श्रेष्ठलाई चलचित्र कलाकार संघले निशुल्क सदस्यता समेत दिलाएको थियो । त्यसबाहेक श्रेष्ठलाई संघले विगतमा सम्मान, सहयोग गर्ने तथा राहत प्रदान गर्ने समेत गरेको थियो ।

‘साउन १० गते अर्थात आईतबार दिउँसो एक्कासि संघका अध्यक्ष रविन्द्र खड्कालाई गौशाला धर्मशालाबाट दामोदर पाण्डेले फोन गरे । तपाईं कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का हो ? सुवर्ण श्रेष्ठ नाम गरेकी एक जना वृद्धा चिन्नुहुन्छ भनेर सोधे’ कलाकार संघले मंगलबार जारी गरेको विज्ञप्तीमा अगाडि भनिएको छ ‘श्रेष्ठ अलपत्र परेर रुँदै हुनुहुन्छ । सुवर्ण श्रेष्ठ नाम बताउने दिदीलाई एउटा ट्याक्सीले ल्याएर छोडेर हिँड्यो । अब कहाँ जानु, के गरौँ ? मेरो कोही छैन भनेर रुँदै कलाकार संघको अध्यक्षलाई फोन गरिदिनुस् भन्नु भएकोले फोन गरेको ।’ खबरका आधारमा अध्यक्ष खड्का तथा उपाध्यक्ष निरौला धर्मशालामा पुगेर उनको उद्धार गरेको विज्ञप्तीमा उल्लेख छ । ‘त्यो दृष्य हृदय विदारक थियो’, प्रवक्ता निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उनलाई ट्याक्सीमा ल्याएर कसले छाडिदियो भन्नेबारे स्पष्ट भएको छैन ।

संघ, पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायतको पहलमा श्रेष्ठलाई आश्रममाको जिम्मा लगाइएको हो । ‘आइतबार दिउँसो तीन बजेदेखि प्रारम्भ भएको सुवण श्रेष्ठको उद्धार तथा उचित रेखदेखको व्यवस्थापनको कार्य राति ९ बजे मात्र सम्पन्न भएको विज्ञप्तीमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार