शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • संसारका अनौठा सजायहरु : कार्टुन हेर्नेदेखि संगीत सुन्नेसम्म

संसारका अनौठा सजायहरु : कार्टुन हेर्नेदेखि संगीत सुन्नेसम्म

  • बुधबार, साउन ६, २०७८
संसारका अनौठा सजायहरु : कार्टुन हेर्नेदेखि संगीत सुन्नेसम्म

संसारका हरेक देशमा अपराध नियन्त्रणका लागि विशेष कानून बनाइएको हुन्छ । कुनै पनि अपराधीलाई उसको अपराधका लागि कानून बमोजिम सजाय दिइन्छ, चाहे सानो होस् वा ठूलो ।

कुनै अपराधका लागि अपराधीको अभियोग ठहर भएसँगै जेल सजाय र जरिमाना पनि हुन्छ । कतिपय मुलुक तथा ठाउँहरुमा भने यस्ता अनौठो खाले कानून हुन्छन् जसले अपराधीलाई निकै रोचक खालका सजाय दिन्छन् ।

स्पेनको एन्डालुसियामा बस्ने एक २५ वर्षीय युवकका बुवा आमाले उसलाई पकेट मनी दिन छाडेका थिए । बुवाआमाले खाजा खर्च दिन छाडेपछि ती युवक अदालतमा आएर मुद्दा हाले बुवाआमाविरुद्ध । यद्यपि अदालतले ती युवकलाई उल्टै सजाय सुनाइदियो । अदालतको फैसलामा ती युवकलाई ३० दिनभित्र बुवाआमाको घर छाड्न र आफ्नै खुट्टामा उभिन आदेश दिइएको थियो ।

सन् २००३ मा अमेरिकाको शिकागोमा बस्ने दुईजना युवकहरुले क्रिसमसको बेलुकी चर्चबाट यशुको मूर्ति चोरे र त्यसमा क्षति पूराए । उक्त अपराधमा दोषी ठहर भएपछि ती दुवै युवकलाई ४५ दिनको जेल सजाय भयो । त्यससँगै उनीहरुलाई आफ्नो गृहनगरमा एक गधासँग मार्चपास गर्ने आदेश पनि दिइएको थियो ।

बीबीसीको रिपोर्ट अनुसार सन् २००८ मा एन्ड्रयू भेक्टरलाई आफ्नो कारमा चर्को आवाजमा गीत बजाएवापत १२० पाउण्ड जरिमाना सुनाइयोस् । उनले आफ्नो कारमा मनपर्ने र्‍याप सुनिरहेका थिए । यद्यपि पछि अदालतले जरिमाना रकम घटाएर ३० पाउण्डमा झारिदियो । साथै उनलाई २० घण्टासम्म बिथोवन, बाख र शोपेनको शास्त्रीय संगीत सुन्नुपर्ने आदेश दिइयो ।

अमेरिकाको ओक्लाहोमामा बस्ने १७ वर्षका टाइलर एलरेडद्वारा मदिरा सेवन गरेर गाडी चलाएका कारण भएको दुर्घटनामा उनका एकजना साथीको मृत्यु भयो । उक्त घटना सन् २०११ को हो । उक्त समयमा हाइस्कूलमा पढ्ने टाइलरलाई अदालतले हाइस्कूल तथा ग्राजुएसन सक्नैपर्ने, वर्षभरि नै लागू औषध, मदिरा र निकोटिन परीक्षण गर्नुपर्ने तथा १० वर्षसम्म चर्च जानैपर्ने सजाय सुनायो ।

अमेरिकाको मिसौरीमा बस्ने डेविड बेरी नामका व्यक्तिले सयौँ हरिणको सिकार गरे । सन् २०१८ मा उक्त अपराधमा उनी दोषी ठहर भए । अदालतले उनलाई एक वर्षसम्म जेलमा बसेर महिनामा कम्तिमा एक पटक डिज्नीको बम्बी कार्टुन हेर्नुपर्ने सजाय सुनाएको थियो ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार