मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश १
  • स्थानीय तहको बजेट : कतै कुटाकुट, कतै घरेलु रक्सीलाई अनुमति

स्थानीय तहको बजेट : कतै कुटाकुट, कतै घरेलु रक्सीलाई अनुमति

  • शनिबार, असार १२, २०७८
स्थानीय तहको बजेट : कतै कुटाकुट, कतै घरेलु रक्सीलाई अनुमति

देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशले असार १० गते आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । बजेट घोषणाका क्रममा केही स्थानीय तहमा अनपेच्छित घटना भए । कतै कुटाकुट भयो, कतै नाराबाजी भयो । कतै ठेकदारहरुको धम्कीका कारण सुरक्षा घेराका वीच बजेट घोषणा गर्नुपर्यो ।

केही स्थानीय तहले रोचक निर्णय गरे । यसमध्ये गुल्मीको एउटा गाउँपालिकाले घरेलु रक्सी विक्री गर्न दिने भएको छ ।

स्थानीय तहको बजेट घोषणाका क्रममा कतिपय स्थानीय तहमा देखिएका केही घटनाहरु हामीले यहाँ चर्चा गरेका छौं –

मौलापुर नगरपालिका : श्रीमानलाई प्रमुख अतिथि बनाउँदा कुटाकुट, साँझ मेयरको पदै चट्

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा एमाले नेता प्रभु शाह प्रमुख अतिथि बसेको बिषयलाई लिएर कुटाकुट भएको छ । यस नगरपालिकामा प्रभु साहकी पत्नी रीनाकुमारी साह माओवादीबाट निर्वाचित मेयर हुन् । नगरसभा सकिएको केही घण्टा नबित्दै निर्वाचन आयोगले उनको मेयर पख खारेज भएको घोषणा गरिदिएको छ ।

नगरप्रमुख साहले आफ्ना पति पूर्वमन्त्री प्रभु साहलाई नगरसभामा प्रमुख अतिथिका रुपमा बोलाएकी थिइन् । तर, प्रतिपक्षी दल कांग्रेस, माओवादी र नेकपा एमालेका माधव नेपाल पक्षीय नेता कार्यकर्ता बिरोधमा उत्रिए ।

दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि कुटाकुट सुरु भयो । नगरपालिका कार्यालय बाहिर हिंसात्मक झडप हुने स्थिति आएपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँसका साथै हवाई फायर नै गर्नुप¥यो ।

मेयरका पतिलाई प्रमुख अतिथि बनाउने बिषयले दिनभर झडप भयो । यता साँझ निर्वाचन आयोगले मेयर साहको पद रिक्तको सूचना प्रकाशन ग¥यो । माओवादी छाडेर श्रीमानसँगै एमालेमा गएकी रीनालाई माओवादी केन्द्रको पत्रअनुसार आयोगले पदबाट हटाएको थियो ।

उनीसँगै प्रभु साह मन्त्री छँदा स्वकीय सचिव रहेका कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहाको पनि मेयर पद गएको छ ।

बिर्तामोड नगरपालिकाः बाहिर आन्दोलन, भित्र बजेट भाषण

झापाको बिर्तामोड नगरपालिकामा निकै कडा सुरक्षा घेराबीच नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाले लगाउने ठेक्कासम्बन्धी विवादका कारण स्थानीय युवाहरुको एक समूहले बजेट ल्याउन नदिने बताएपछि सुरक्षा घेरावीच बजेट घोषणा गरिएको हो ।

असन्तुष्ट युवाहरुले नगरपालिकाले अपारदर्शी ढंगबाट ठेक्का सम्झौता गरेको भन्दै सोको खारेजीको माग राख्दै बिरोध प्रर्दशन गरे । प्रदर्शनकारी र प्रहरीबिच नगरपालिकाको गेटमा केहीबेर तनाबसमेत भएको थियो ।

दर्जनौंको संख्यामा उपस्थित सुरक्षाकर्मीले जनप्रतिनिधि, कर्मचारी र पत्रकारलाई मात्र प्रवेश दिएका थिए । युवाहरुले आन्दोलन गरेपछि बैठक १ घण्टा ढीलो गरी सुरु भएको थियो । विभिन्न पार्टीमा आवद्ध युवाले उठाएको बिषयमा छानविन गर्ने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ ।

बिर्तामोड नगरपालिकाले अवरोधका बीच आगामी आर्थिक बर्ष ०७८÷८९ का लागि १ अर्ब ३० करोड ७७ लाख ९५ हजार ५ सयको बजेट सार्वजनिक गरेको छ ।

चिरिबाबुलाई थपियो चिन्ताः ललितपुरमा बजेट नै पास भएन यता ललितपुर महानगरपालिकामा मेयर र उपमेयर नै अल्पमतमा परेपछि बजेट पास हुन सकेन । महानगरले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्न बिहीबार नगरसभाको आयोजना गरेको थियो । तर, अधिकांश सदस्यहरू नगरसभामा नआएपछि बजेट पारित हुन रोकियो ।

नगरसभामा नगरप्रमुख चिरिबाबु महर्जन अल्पमतमा परेका छन् । नगरसभामा गणपुरक संख्या नपुगेपछि शनिबार (आज) का लागि अर्को बैठक सारिएको छ ।

नगरसभामा १३६ सदस्य रहेकोमा ९६ जना सहभागी भएनन् । बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएको भन्दै बहिष्कार गरेपछि नगरप्रमुख चिरिबाबु महर्जनलाई चिन्ता थपिएको हो ।

गुल्मीको मालिका गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्ड बनाउने कानून पारित गरेको छ । गाउँपालिकाको सातौं गाउँ सभाले नेपालको संविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गरी ऐन जारी गरेको हो । सो ऐनअनुसार अब गाउँ पालिकाभित्र घरेलु रक्सी उत्पादन गर्नेहरुले दर्ता गरेर ब्राण्ड राखेर बिक्री वितरण गर्नुपर्नेछ ।

नियम नमानी खुलारुपमा विक्रीवितरण गरे ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्थासमेत गरिएको छ । लुकीछुपी रुपमा घरेलु मदिरा उत्पादन गर्दै आएकाहरुलाई यो ऐन पास भएपछि अब निर्धक्क रुपमा प्रक्रिया पु¥याएर मदिरा उत्पादन गर्ने बाटो खुलेको छ । त्यसका लागि उनीहरुले गाउँपालिकाबाट अनुमति लिनुपर्ने छ भने उत्पादन गरेअनुसारको कर समेत तिर्नुपर्नेछ ।

अब घरेलु मदिराको गुणस्तर निर्धारण गरेर स्टीकर टास्ने र सिलबन्दी पछि बिक्रीका लागि खुला हुने गाउँपालिकाका प्रशासकीय अधिकृत दीपक भण्डारीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार