शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • कोरोना खोप लगाउनेलाई वर्षभरी सित्तैमा मासु

कोरोना खोप लगाउनेलाई वर्षभरी सित्तैमा मासु

  • शनिबार, असार १२, २०७८
कोरोना खोप लगाउनेलाई वर्षभरी सित्तैमा मासु

वर्षैभरी सित्तैमा मज्जाले मासु खान चाहनुहुन्छ ? यदि त्यसो हो भने कोभिड १९ को खोप लगाउनुहोस् । कोरोना खोप लगाउन नपाएर तड्पिरहेको बेला खोप पनि लगाउने र सित्तैमा मासु पनि खान पाइने खबरले पुलकित हुनुभयो होला । तर मख्ख नपर्नुस् किन कि यो नेपालको खबर होइन ।

वास्तवमा अमेरिकास्थित एक कम्पनीले कोरोना खोप लगाउनका लागि मानिसहरुलाई प्रोत्साहित गर्न यस्तो अफर ल्याएको हो । मासु प्रोसेसिङ गर्ने ब्राजिलियन बहुराष्ट्रिय कम्पनी जेबीएस एसएको अमेरिकास्थित शाखाले बिहीबार यस्तो घोषणा गरेको हो ।

कम्पनीले प्रायोजन गरेका अमेरिकामा रहेका विभिन्न भ्याक्सिनेसन क्लिनिकहरुमा गएर आगामी हप्ताहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरुमध्ये ५० अमेरिकी परिवारले आगामी वर्षभर सित्तैमा मासु पाउनेछन् । कम्पनीले ती परिवारलाई एक वर्षका लागि नि:शुल्क रुपमा सुँगुगर, कुखुरा तथा गाईको मासु उपलब्ध गराउने जनाएको छ ।

स्मरण रहोस् गत वर्ष उक्त कम्पनीमा मासु प्याक गर्ने हजारौँ कामदारहरुमा कोरोना भाइरसको संक्रमणदर उच्च देखिएपछि संक्रमण रोक्न केही समयका लागि कारखाना नै बन्द गर्नु परेको थियो । त्यसले अमेरिकामा मासु आपूर्तिमा असहजता आउनुका साथै मासुको मूल्यवृद्धि पनि भएको थियो ।

हाल कम्पनीका अमेरिकास्थित ६६ हजार कर्मचारीमध्ये ७० प्रतिशतले पूर्ण खोप प्राप्त गरिसकेको बताइएको छ । खोप लगाउनेहरुलाई सित्तैमा मासु उपलब्ध गराउने अफरले अमेरिकाका विभिन्न ग्रामीण इलकाहरुमा समेत खोपप्रति सचेतना जगाउने र मानिसहरुलाई कोरोना खोप लगाउनका लागि उत्प्रेरित गर्ने विश्वास कम्पनीको छ ।

कम्पनीले आगमी शनिबारदेखि कोलोराडोस्थित ग्रीलीमा आफ्नो पहिलो कोरोना खोप क्लिनिक सुरुवात गर्नेछ । उक्त क्षेत्रमा जेबिएस कम्पनीको एउटा ठूलो गौमांस कारखाना पनि छ । गतवर्ष उक्त कारखानाका झण्डै ३ सय कामदार कोरोना संक्रमित भएर ६ जनाको मृत्यु भएको थियो ।

स्मरण रहोस् विश्वका कतिपय देशहरुमा जनताहरु खोपका लागि तड्पिरहेको बेला कतिपय देशहरुमा भने जनताले खोप लगाउने इच्छा नगर्नाले खोप खेर जाने अवस्था छ । यस्तोमा विभिन्न मुलुकहरुले खोप लगाएबापत नगद पुरस्कार देखि कुखुरा, गाई, अण्डा तथा गाँजासम्म पुरस्कार दिने अभियानहरु चलाउनु परेको छ।

रोयटर्सबाट

चर्चामा

सम्बन्धित समाचार