• होमपेज
  • देश
  • प्रधानमन्त्री भन्छन्- नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध संविधानमा पहिल्यै घुसाइयो

प्रधानमन्त्री भन्छन्- नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध संविधानमा पहिल्यै घुसाइयो

  • शुक्रबार, असार ११, २०७८
प्रधानमन्त्री भन्छन्- नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध संविधानमा पहिल्यै घुसाइयो
फाईल तस्बीर

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध पहिल्यै संविधानमा घुसाइएको बताएका छन् । उनले संसदबाट प्रधानमन्त्री छानिने अहिलेको प्रणाली रहुन्जेल बहुमतको सरकार नबन्ने पनि बताएका छन् ।

सरकार नियन्त्रित नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउनका लागि मात्र भएको बताए ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संसदबाट प्रधानमन्त्री छानिने प्रणाली रहुन्जेल दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बन्नुपर्ने हुन्छ । यो संवैधानिक व्यवस्थामा भरसक बहुमत आउन सम्भव छैन । नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध पहिल्यै घुसाइएको छ ।’

उनी भन्छन्, ‘संविधानले भन्छ दुई वा दुई भन्दा बढी दल मिलेर बनेको सरकारमा सहभागी दल अलग हुनेबित्तिकै वा समर्थन गरेको दलले समर्थन फिर्ता लिनेबित्तिकै वा दल विभाजित भएमा पाँच वर्ष चल्दैन । …त्यहाँ बहुमत सिद्ध हुने कुरै आउँदैन । कि त वैकल्पिक सरकार बन्नुपर्यो, पाँचै वर्षको परिकल्पना कहाँ भयो ?’

संविधानका धाराहरुको व्याख्या गर्दै उनले भनेका छन्, ‘पाँच वर्षको परिकल्पना गरेको भए पुस ५ गते प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ताको खेल भएको होइन ? अनि परिकल्पना स्थायित्वको थियो भनेर झुट्टा कुरा गर्ने, जनता अल्मल्याउने कुरा गर्ने ? झुट्टा कुरा जनतालाई व्याख्या गरेर सुनाएर हिंड्ने ?’

पछिल्लोपटक सरकार प्रतिकूल आएका सर्वाेच्चका फैसलाहरुलाई ओलीले सरकारलाई काम गर्न नदिने र असफल गर्ने खालको भएको टिप्पणी समेत गरेका छन् । उनले यस अगाडि पनि कामचलाउ सरकारले पटक–पटक मन्त्रिपरिषद विस्तार गरेको उल्लेख गरेका छन् ।

नयाँ संविधान बन्नु अगाडि माधव नेपालले र नयाँ संविधान बनेपछि शेरबहादुर देउवाले गरेका कामका उदाहरण दिंदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कसैले गरेको कामको विरुद्ध दर्तै हुँदैन । तर, कसैले गरेको काम चाहिं खोजी खोजीकन गरिन्छ ।’

उनले अगाडि भनेका छन्, ‘बाढी पहिरो यस्तो अवस्था छ, यस्तो अवस्थामा गृहमन्त्री छैन । कोभिड १९ को यस्तो महामारी छ, स्वास्थ्यमन्त्री छैन । अदालतले त जरुरी परेको बेला आवश्यकताको सिद्धान्त भनेर प्रतिपादन गर्छ । बाढी पहिरोका बेला गृहमन्त्री आवश्यकताको सिद्धान्तभित्र पर्दछ कि पर्दैन, यस्तो महामारीका बेला स्वास्थ्यमन्त्री आवश्यकताको सिद्धान्त अन्तर्गत पर्छ कि पर्दैन ? अनि चार जना मन्त्री लिएर काम चल्ने भए न्यूनतम भनेर संविधानले २५ जनासम्मको मन्त्रिपरिषद् व्यवस्था गरेको छ । न्यूनतम भनेको त्योभन्दा कम भए देश, मुलुक र सरकार चल्दैन भनेर भनिएको हो ।’

यस पटक आफ्नो सिफारिशमा संसद भंग नभएको जिकिर

प्रधानमन्त्री ओलीले पहिलोपल्ट आफ्नो सिफारिशमा संसद भंग भएपनि यस पटक भने आफ्नो सिफारिशमा संसद भंग नभएको जिकिर समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्– पहिलोपल्ट विघटनको प्रस्ताव गरेको थिएँ । प्रतिनिधिसभाको मिति तोक्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदबाट सिफारिश गर्न लगेको थिएँ । त्यो मेरो सिफारिश थियो । यसपल्टको सिफारिश मेरो होइन । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेपछि मन्त्रिपरिषदको सिफारिशमा अथवा संविधानको धारा ७६ (७) प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्य रुपमा ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था कार्यान्वयन भएको हो ।

उनले अगाडि भनेका छन्– त्यहाँ ‘बट’–‘इफ’ छैन । प्रधानमन्त्री नियुक्त हुन सकेन, नसकेपछि ७६ (७) ले के भन्छ भने– प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नेछ र निर्वाचनका लागि नयाँ मिति तोक्नेछ । त्यसो भएर यसपल्ट मैले सिफारिश गरेको होइन, संविधानले सिफारिश गराएको हो ।

प्रधानमन्त्री ओलीले सरकार निर्माणमा सफल भएन भने संविधानको प्रावधान अनुसार जतिसुकै बेला निर्वाचन हुनसक्ने व्यवस्था गरेको समेत दावी गरेका छन् ।अनलाईन खबरबाट साभार

चर्चामा

सम्बन्धित समाचार