• होमपेज
  • समाचार
  • ठूला नदीहरुमा आज उच्च जोखिम, शुक्रबारदेखि जोखिम घट्दै जाने

ठूला नदीहरुमा आज उच्च जोखिम, शुक्रबारदेखि जोखिम घट्दै जाने

  • बिहिबार, असार ३, २०७८
ठूला नदीहरुमा आज उच्च जोखिम, शुक्रबारदेखि जोखिम घट्दै जाने

देशका अधिकांश स्थानमा बर्षा हुने क्रम नरोकिएकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म पुगेको छ । त्यस्तै गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम निम्तिन सक्ने छ । गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रमा पनि जोखिम उच्च रहेको छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने मध्यम जोखिमको सम्भावना छ ।

कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको अवस्था रहेको महाशाखाले जनाएको छ ।

प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजको तुलनामा शुक्रबार कम जोखिम रहने भएकाले जोखिमको अवस्था विस्तारै कम हुँदै जाने महाशाखाको अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार