शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

  • बुधबार, असार २, २०७८
रोकिएका परीक्षा सञ्चालनको तयारीका लागि लोकसेवा आयोगको निर्देशन

लोकसेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन दिइएको हो ।

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले मातहतका कार्यालय प्रमुखहरूलाई कोरोना (कोभिड–१९) सङ्क्रमणको दर कम भएलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले रोकिएका परीक्षा छिटो सक्नका लागि दुई÷तीन सिफ्टमा पनि काम गर्नुपर्ने भएकाले आवश्यक सामग्री र जनशक्ति चुस्त दुरुस्त रूपमा राख्नका लागि निर्देशन दिए ।

कोभिडको अवस्थामा परीक्षा सञ्चालनसम्बन्धी मापदण्डअनुसार रोकिएका परीक्षा सञ्चालनको तयारी गर्न निर्देशन दिइएको हो । आयोगले यसअघि पनि मापदण्डअनुसार केही परीक्षा सञ्चालन गरेको थियो ।

आगामी परीक्षा सञ्चालन पनि मापदण्डअनुसार गर्ने सम्बन्धमा छलफल भएको हो । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कार्यालय प्रमुखहरूले परीक्षा गर्न सकिने अवस्था रहेको आयोगलाई जानकारी गराएको बताए ।

आवश्यक सामग्री, जनशक्तिलगायत सबै कुरा चुस्त दुरुस्त रहनुपर्ने सम्बन्धमा छलफल केन्द्रित रहेको पनि उहाँले जानकारी दिनुभयो । परीक्षा केन्द्र तोक्नका लागि ठाउँको अभाव हुनसक्ने भएको हुँदा त्यसका लागि विद्यालय र क्याम्पससँग समन्वय गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

वार्षिकोत्सवका अवसरमा आयोगले तीन जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । आयोगमा कार्यरत शाखा अधिकृत यमुना सापकोटा, कार्यालय सहयोगी सुकमान तामाङ र दिपायल कार्यालयका नायब सुब्बा मानबहादुर साउदलाई पुरस्कृत गरिएको हो । यसैगरी आयोगले सूचना प्रविधिमा काम गर्ने कम्प्युटर अपरेटर तीन जनालाई पनि सम्मानित गर्ने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार