शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • बजेट निकासापछि सुदूरपश्चिमका अस्पतालमा अक्सिजन प्लान्ट खरिद कार्य अगाडि बढ्यो

बजेट निकासापछि सुदूरपश्चिमका अस्पतालमा अक्सिजन प्लान्ट खरिद कार्य अगाडि बढ्यो

  • सोमवार, जेष्ठ ३, २०७८
बजेट निकासापछि सुदूरपश्चिमका अस्पतालमा अक्सिजन प्लान्ट खरिद कार्य अगाडि बढ्यो

धनगढी– सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा भइरहेको अक्सिजनको अभावकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अक्सिजन प्लान्ट जडान गर्न बजेट पठाएको छ।

जसअनुसार सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको हो।

बजेट निकासा भएपछि उपचारमा सहजता हुने अपेक्षा गरिएको छ। आवश्यक उपकरण खरिदको कार्यलाई तत्काल बढाउने बताइएको छ।

यहाँ अक्सिजन उत्पादन गर्ने ठूलो प्लान्ट नहुँदा यहाँका अस्पतालहरुमा अक्सिजन आपूर्तिमा समस्या देखिदै आएको थियो। सुरुमा तीन अस्पताल अक्सिजन प्लान्ट जडान गर्न ४÷४ करोड बजेट निकासा गरेको बताउँदै प्रतितिनिधी सभा सदस्य नारदमुनि रानाले अरु अस्पतालको लागि पहल जारी रहेको बताए।

डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले डडेल्धुरा अस्पतालमा थप बजेट स्थानीय तहमा जुटाएर अस्पतालमा ठूलो अक्सिजन प्लान्ट जडान गर्ने योजना रहेको बताए।महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले पनि अक्सिजन प्लान्ट जडान कार्य अब अगाडि बढाउने बताए।

सेती प्रादेशिक अस्पताललाई संघीय सरकारले निकासा भन्दा पहिले नै बजेट उपलब्धताको आश्वासन दिएकोले केही दिन अगाडिदेखि प्रक्रिया अगाडि बढाएको बताइएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले सरकारले आश्वासन दिइसकेपछि अक्सिजन ट्याङ्क खरिद गर्न केही दिन अगाडि नै टेण्डर आह्वान गरिसकेको र खरिदको थप प्रक्रिया पनि अगाडि बढेको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा कोभिडका बिरामीलाई अक्सिजनको व्यवस्था मिलाउन अस्पतालहरुलाई हम्मेहम्मे भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा अक्सिजन ग्याँस उत्पादन गर्ने उद्योगको अभावमा देशका अन्य भागबाट अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता रहेको छ।

चर्चामा

सम्बन्धित समाचार