शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • समाचार
  • घण्टौंसम्म अस्पतालमै रहन्छन् शव, छेउमै रहेका बिरामीमा त्रास(भिडिओसहित)

घण्टौंसम्म अस्पतालमै रहन्छन् शव, छेउमै रहेका बिरामीमा त्रास(भिडिओसहित)

  • मङ्लबार, बैशाख २८, २०७८
घण्टौंसम्म अस्पतालमै रहन्छन् शव, छेउमै रहेका बिरामीमा त्रास(भिडिओसहित)

धनगढी — सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसले विकराल रुप लिएको छ। जताततै संक्रमितहरु देखिन थालेपछि महामारीको अभूतपूर्व संकट नै आइपरेको हो।

यहाँका अस्पतालहरुमा दैनिक मृत्युदर भयावह बन्दै गएको अधिकारीहरुले बताएका छन्। व्यवस्थापकीय कमजोरीका कारण मृतकको शव समेत घण्टौंसम्म अस्पतालमै राखिँदा अन्य बिरामीहरुलाई मनोवैज्ञानिक असर पर्ने गरेको पाइएको हो।

सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै बिरामी र मृतकको संख्या ह्वात्तै बढेको हो। २७ दिनको अवधिमा प्रदेशभित्र १० हजार बढीमा कोरोना भाइरस पुस्टि भएको छ, भने मृतकको संख्या २ नाँघेको छ। अस्पतालमा बेड तथा अक्सिजन र औषधि नपाएर ती बिरामीहरूको मृत्यु भइरहेको अधिकारीहरुले बताएका छन्।

यतिबेला अस्पतालहरू बिरामीहरूको भार थेक्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल बाहिर टाँगिएको पाल मुनि उपचारको गुहार मागिरहेकाहरुलाई आफ्नो ज्यान जोगाउन हम्मेहम्मे भइरहेको छ।

स्थानीय प्रशासनले भने मृतकका आफन्तको सहमतिमा शव व्यवस्थापन गर्ने कार्य हुँदै आएकाले व्यवस्थापनमा थोरै ढिलाई भएको बताएको छ। समयमा मृतकका आफन्त नआउँदा शव व्यवस्थापनमा समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण कञ्चनपुरमा ७० तथा कैलालीमा ६० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। कञ्चनपुरमा भाइरसका विरामी बढेसँगै मृतकको संख्या पनि बढ्दै गएको हो।

अस्पतालमा मृतकको शवको समयमा व्यवस्थापन नहुँदा अन्य विरामीहरुलाई समस्या भइरहेको गुनासो आइरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले भने नेपाली सेनालाई शव व्यवस्थापनको जिम्मा दिइएकाले केहि ढिलाई भएको हुनसक्ने बताए।

अक्सिजन र बेड अभावसँगै उपचारका लागि समेत समयमा डक्टर नआउँदा कतिपय विरामीले ज्यान गुमाउनु परिरहेको आफन्तहरुको गुनासो छ। बेड नपाएर अस्पताल बाहिर टाँगिएको पाल मुनि बस्दै आएकामध्ये कतिपय विरामीले अक्सिजन नपाएकै कारण अवस्था गम्भीर बन्दै गएको विरामीका आफन्तहरुको गुनासो छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा विरामी कुरुवा नन्दराज जोशीले मृतकलाई अस्पतालको बेडमा घण्टौसम्म राखिँदा अन्य विरामीहरुलाई समस्या भइरहेको गुनासो गरे।

जटिल समस्या भएर अस्पताल भर्ना भएका विरामीको उपचार सहज रुपमा नभएको भन्दै बिरामीका आफन्तहरुले आक्रोस समेत जनाएका छन्। बिरामी नजिकै घण्टौसम्म शव राखिदा कुरुवाहरुलाई मानसिक रुपमा समस्या भइरहेको बताउँदै आफन्तलाई उपचार गर्न ल्याएकी अर्की कुरुवा सुनिता रोकायाले अक्सिजन र बेड नपाएर विरामी छटपटिरहेको अवस्थामा मृत्यु भएकाहरुको समयमा शव व्यवस्थापन नहुँदा उपचार गराइरहेका अन्य विरामीलाई मनोवैज्ञानिक असर परिरहेको बताइन्।

प्रदेशभित्र दैनिक कोरोनाका कारण मृत्युदर भयावह भइरहेको अवस्थामा अक्सिजन आपूर्ति, बेड व्यवस्थापन, औषधि लगायत विरामीको उपचार व्यवस्थापनमा केन्द्रित भएर लाग्नुपर्ने प्रदेश सरकार र स्थानीय सरकार भने यसका लागि बैठक, छलफल र तयारी भइरहेको भन्दै जिम्मेवारीबाट पन्छिने गरेको छ।

चर्चामा

सम्बन्धित समाचार