शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिमका बजारमा दूषित खाद्यान्न, तेल र प्रशोधित पानी, बस्तु र कम्पनीको नाम गोप्य राखियो

सुदूरपश्चिमका बजारमा दूषित खाद्यान्न, तेल र प्रशोधित पानी, बस्तु र कम्पनीको नाम गोप्य राखियो

  • मङ्लबार, बैशाख ७, २०७८
सुदूरपश्चिमका बजारमा दूषित खाद्यान्न, तेल र प्रशोधित पानी, बस्तु र कम्पनीको नाम गोप्य राखियो

धनगढी– सुदूरपश्चिमका बजारमा बिक्री हुने खाने तेल, खाद्यान्न, मसलाजन्य पदार्थ र प्रशोधित पानीलगायतका खाद्य वस्तुहरू दूषित र न्यून गुणस्तरीय रहेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षको ८ महिनामा १ हजार १ सय ३५ खाद्य बस्तुको नमूना परीक्षण गरेको छ। जसमध्ये ३० वटा कम्पनीले उत्पादन गरेका विभिन्न खाद्य पदार्थ दूषित र न्यून गुणस्तरीय रहेको पाइएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार तथा उद्योग निरीक्षणका क्रममा उपभोग्य मिती समाप्त भएका ८ किसिमको बस्तु फेला पारेको हो। त्यस्तै लेबल विवरण अपूर्ण भएका ७, बाहिरी रंग दूषित भएका ४ बस्तु भेट्टाएको छ। त्यसैगरी परीक्षणका क्रममा न्यून गुणस्तरका २ वस्तु भट्टिएको कार्यालयले जनाएको छ।

कार्यालयले बजार निरीक्षणको क्रममा कञ्चपुरको भीमदत्त नगरपालिका ४ मा रहेको गंगा जनरल स्टोरमा बेच्न राखेको तेल न्यून गुणस्तरीय र एसिडको मात्रा बढी रहेको भेट्टायो। त्यस्तै अत्तरियामा रहेको डडेल्धुरा रेष्टुरेन्ट एण्ड बारमा बेच्न राखेको प्रशोधित पानी न्यून गुणस्तरीय र बाह्य ठोस पदार्थको उपस्थिति रहेको भेट्टायो।

त्यसैगरी कञ्चपुरको भीमदत्त नगरपालिका ६ मा रहेको मंगलासेनी जनरल स्टोरमा राखिएको दाल बोडी दूषित र किराले खाएको भेट्टायो। उनीहरूलाई बयानका लागि पत्राचार गरिएको कार्यालयले जनाएको छ।

परीक्षणपश्चात् कैफियत देखिएका बस्तुको नाम र उत्पादन गर्ने कम्पनीको नाम खुलाउनु पर्ने हो, ताकी आम उपभोक्ता सचेत रहन सकुन्। तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बस्तु र उत्पादक कम्पनीको नाम भने गोप्य राखेको छ।

मानव स्वास्थ्यलाई प्रतिकुल असर पर्ने दूषित उत्पादन गर्ने उद्योगलाई कार्यालयले खाद्य ऐनअनुसार कारबाही गर्ने गर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने दूषित तथा न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरेका ५ कम्पनीविरूद्ध खाद्य ऐनअनुसार कारबाही गर्न मुद्दा दायर गर्ने प्रक्रिया अगाडी बढाइको बताएका छन्।

दूषित, न्यून गुणस्तरीय र मिसावटयुक्त खाद्य वस्तुको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सर्वप्रथम उपभोक्ताहरू स्वयम् सचेत रहन जरूरी रहेको बताइएको छ। उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपती ढुङ्गेलले बजारमा बिक्री वितरण गरिने खाद्य वस्तुहरूको लेबल विवरण, उत्पादन र उपभोग मिती, अधिकतम खुद्रा मूल्य र बिल काटेर मात्र वस्तु खरिद गर्न आम उपभोक्तालाई सुझाव दिएका छन्।

पछिल्लो समय बजारमा दूध, पानी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु दूषित र मिसावटयुक्त पाइने गरेको छ। सरकारी निकायले परीक्षण गर्दा नमूनाहरू दूषित पाइएपनि अहिलेसम्म थोरै कसुरदारलाई मात्र दण्डसजाय हुने गरेका छ। जसका कारण खाद्य वस्तुमा भइरहेको लापरबाही अझै बढ्न सक्ने चिन्ताहरू बढेका छन्।

चर्चामा

सम्बन्धित समाचार