• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा कोरोना संक्रमितको सम्पर्क खोजी शून्य, संक्रमितहरूको संख्या झनझन उकालो लाग्दै

सुदूरपश्चिममा कोरोना संक्रमितको सम्पर्क खोजी शून्य, संक्रमितहरूको संख्या झनझन उकालो लाग्दै

  • शनिबार, बैशाख ४, २०७८
सुदूरपश्चिममा कोरोना संक्रमितको सम्पर्क खोजी शून्य, संक्रमितहरूको संख्या झनझन उकालो लाग्दै

धनगढी– सुदूरपश्चिममा कोरोना संक्रमितहरूको संख्या निरन्तर उकालो लागिरहेका बेला कन्ट्याक्ट ट्रेसिङ्ग अर्थात् सम्पर्क खोजी कार्य भने शून्यप्रायः छ।

पछिल्लो समय सुदूरपश्चिममा भारतबाट भित्रिने नेपालीहरूको संख्या बढेसँगै दैनिक संक्रमण दर पनि बढेर स्थिति भयावह बनेको छ। तर सीमानाकामा संक्रमितसँगै आएकाहरूमध्ये एन्टिजेन परीक्षणमा नेगेटिभ आए उनीहरूलाई घरमा अलग्गै बस्ने सर्तमा सार्वजनिक यातायातमै सोझै घर पठाइँदै छ।

बुधबार भारतको राजस्थानबाट एकै परिवारका तीन जना गौरीफन्टा नाकाबाट धनगढी भित्रिए। सीमानाकामा राखिएको हेल्थ डेस्कमा तीनै जनाको एन्टिजेन विधिबाट कोरोनाको परीक्षण गरियो। परीक्षणमा एक जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भयो भने, उनीसँगै आएका अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आयो।

सँगै आएका उनीहरूमा पनि १० देखि १४ दिनसम्म कोरोना संक्रमणको जोखिम उच्च रहने गर्छ। तर सीमानाकामा खटिएका स्वास्थ्यकर्मीहरूले कोरोना पोजेटिभ आएकालाई आइसोलेशनमा बसाले भने, अन्य दुई जनालाई धनगढी उपमहानगरपालिका -३ स्थित घरमा छुट्टै बस्ने सर्तमा सार्वजनिक यातायातमा घर पठाए।

सुदूरपश्चिमेलीहरूको मौलिक पर्व विषुका लागि धनगढी नजिक रहेको गौरीफन्टा नाकाबाट एक सातामा मात्र झण्डै ९ हजार नेपालीहरू भित्रिएका थिए। तीमध्ये २ हजार ७ सय ७५ जनाको मात्र एन्टिजेन विधिबाट कोरोनाको जाँच गरिएकोमा २ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो। हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये ८ हजार ९ सय ९१ जनाको कोरोना परीक्षण गरिएको छ भने ६१७ जनामा संक्रमण पुस्टि भएको छ।

गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले परीक्षणमा पोजेटिभ आएकाहरूलाई धनगढी उपमहानगरपालिका -१५ स्थित कनरीमा बनाइएको आइसोलेशनमा पठाइने गरिएको बताए। “पोजेटिभ आएकाहरूलाई एम्बुलेन्स बोलाएर कनरीस्थित आइसोलेशनमा पठाउने गरेका छौँ,” उनले भने, “नेगेटिभि आएकाहरूलाई घरमा अलग्गै बस्ने सर्तमा सार्वजनिक यातायातमै घर पठाउँने गरेका छौँ।”

तर स्वास्थ्य विज्ञहरूले भने भारतबाट अहिले कोरोना भित्रिने जोखिम उच्च रहेकाले सीमानाकामा होल्डिङ्ग सेन्टर राखेर भएपनि सबैको जाँच गर्नुपर्नेमा जोड दिएका छन्। धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीराज ओझाले संक्रमितसँगै आएकाहरूमा पनि १० देखि १४ दिनसम्म संक्रमणको जोखिम उच्च रहने भएकोले उनीहरूलाई सोझै घर नपठाएर कम्तीमा ३ दिन क्वारेन्टाइनमा राखी पुन परीक्षण गरेर मात्र घर पठाउनुपर्ने बताए।

सुदूरपश्चिमका सीमानाका र प्रदेशभित्र पनि अहिले कोरोना संक्रमणको दर व्यापक रूपमा बढिरहेको छ। तर कोरोना रोकथामका लागि कसैले पनि तदारूकता देखाएको पाइँदैन। कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन बढीभन्दा बढी परीक्षण गर्ने, सम्पर्क खोजी गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्ने जस्ता व्यवहारको अनिवार्य पालना गर्नुपर्ने हुन्छ। तर सम्बन्धित निकायहरूले भने पूर्ण बेवास्ता गरेको पाइएको छ।

चर्चामा

सम्बन्धित समाचार