बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कोरोना परीक्षण विना त्रिनगर–गौरीफन्टा नाकाबाट मध्यरातमा पनि घर फर्किनेको लर्को

कोरोना परीक्षण विना त्रिनगर–गौरीफन्टा नाकाबाट मध्यरातमा पनि घर फर्किनेको लर्को

  • शुक्रबार, चैत्र २७, २०७७
कोरोना परीक्षण विना त्रिनगर–गौरीफन्टा नाकाबाट मध्यरातमा पनि घर फर्किनेको लर्को

धनगढी–सुदूरपश्चिमका सीमानाकाबाट सयौँको संख्यामा नेपाली विना परीक्षण धमाधम आफ्नो घरतर्फ फर्किन थालेपछि कोरोना भाइरसको नयाँ प्रकार अब दूरदराजका गाउँगाँउसम्म पुग्ने चिन्ता बढेको छ।

सीमानाकामा राखिएको हेल्थ डेस्कमा पर्याप्त स्वास्थ्यकर्मी नखटाइँदा भारतबाट भित्रिने सबैको एन्टिजेन परीक्षण हुन सकेको छैन। नाकामा परीक्षण किट अभाव भइरहँदा अबेर रातिसमेत नेपालीहरू बिना परीक्षण आफ्नो घर फर्किन थालेका छन्।

बुधबार अबेर राति मात्र धनगढी नजिकै रहेको त्रिनगर–गौरीफन्टा नाकाबाट झण्डै १ हजार नेपाली भित्रिए। बिहीबार राति पनि त्यतिकै संख्यामा नेपालीहरू भित्रिएका छन्।

भारतका विभिन्न राज्यबाट आएका उनीहरू राति ८ बजे नाकामा पुगेपछि प्रहरीले केही मानिसको ज्वरो नापेर भित्र्याउने गरेको छ भने, केही ज्वरोसमेत ननापेर भित्रिने गरेका छन्।

तर रातिको समयमा हेल्थ डेस्कमा कर्मचारी नहुँदा उनीहरूको एन्टिजेन परीक्षण भने हुन सकेको छैन। नेपाल भित्रिएका उनीहरू सार्वजनिक सवारी साधनमा बसेर आफ्नो घरतर्फ लाग्ने गरेका छन्। सीमामा राखिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य सहायक गणेश साँउदले जनशक्ति अभावका कारण सबैको जाँच गर्न नसकिने बताए।

“जनशक्तिको अभाव छ,”, उनले भने, “दिउँसै सबैको जाँच गर्न नसकिएको अवस्थामा रातिको बेला त झनै असम्भव छ। हामीलाई माथिबाट पनि राति ८ बजेसम्म नाकामा खटिन निर्देशन आएको हुनाले त्यो बेलासम्म मात्र नाकामा बस्छौँ।”

सुदूरपश्चिमका सीमानाकाबाट सयौँको संख्यामा नेपाली विना परीक्षण धमाधम आफ्नो घरतर्फ फर्किरहेका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्रिनगर–गौरीफन्टा नाकामा राखिएको डेस्कमा बिहान ६ बजेदेखि राति ८ बजेसम्म कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको छ। नाकामा पुगेकाहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसतर्फ ध्यान नदिएर रातिको समयमा नाकाबाट भित्रिन नपाइने भन्दै प्रशासन पन्छिन थालेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो रातिको समयमा पनि नाकाबाट नेपालीहरू भित्रिरहेका बारे आफूलाई जानकारी नभएको बताउँछन्। “मलाई त्यो बारेमा जानकारी छैन”, उनले भने, “राति ८ बजेपछि सीमा पूर्ण रूपमा बन्द हुने भएकोले आवतजावत पनि बन्द हुन्छ, त्यो विषयमा म बुझौँला।”

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने त्रिनगर–गौरीफन्टा नाकाबाट बुधबार राति ठूलो संख्यामा नेपालीहरू भित्रिएको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरूलाई अबेर रातिसम्म सीमा नाकामा खटिन निर्देशन दिएको बताए। सुदूरपश्चिमेलीहरूको मौलिक पर्व बिसु र नयाँ वर्ष नजिकिएसँगै अहिले भारतका विभिन्न राज्यबाट नेपालीहरूको ठूलो जमात नेपाल भित्रिरहेको छ।

यो अवस्थामा कोरोनाको नयाँ प्रकार र कोरोनाको दोस्रो लहर भित्रिने जोखिम उच्च छ। तर स्थानीय प्रशासनले भने नाकाबाट भित्रिने सबैको परीक्षण गर्नतर्फ ध्यान केन्द्रीत गर्न सकेको छैन।

चर्चामा

सम्बन्धित समाचार