शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • धुम्बाराहीमा केपी ओली र माधव नेपाल पक्षबीच छलफल

धुम्बाराहीमा केपी ओली र माधव नेपाल पक्षबीच छलफल

  • सोमवार, चैत्र २, २०७७
धुम्बाराहीमा केपी ओली र माधव नेपाल पक्षबीच छलफल

काठमाडौं–नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराही सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

पार्टीको आन्तरिक विवाद समाधान गर्न दुई समूह छलफलमा जुटेका हुन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेयता ओली र नेता नेपालबीच भेटवार्ता भएको छैन । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै नेपाल पक्ष सडक संघर्षमा उत्रिएको थियो।

सर्वोच्च अदालतले संसद विघटन खारेज र नेकपा विवादमा ओली र प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी पूर्ववत् अवस्थामै ब्यूँताइदिएको छ। नेपाल र खनाल एमालेमा फर्किए पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकलौटी निर्णय गरेपछि यो समूह असन्तुष्ट छ ।

प्रधानमन्त्री ओलीले आफूखुसी बालुवाटारमा बैठक राखेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएपछि त्यसको विरोधमा नेपाल पक्षले आइतबार निर्वाचन आयोगमा उजुरी दिएको छ।

ओलीले पार्टीमा गरेको नियुक्ति र जिम्मेवारी हेरफेर विरुद्ध बहुमत सदस्यसहित यो समूहले निर्वाचन आयोगमा उजुरी दिएको हो। आफूहरु २०७१ सालमा भएको एमाले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्य भएको भन्दै आयोगमा वरिष्ठ नेता नेपालसहित ११ जना शीर्ष नेताले हस्ताक्षर गरेर पत्र बुझाएका हुन्। उनीहरुले ओलीको सो निर्णय कार्यन्वयन नगर्न आयोगलाई आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार