शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • धर्मेन्द्र प्रकरण: आइजीपी र गृहसचिवले कुल्चिए अदालतको आदेश

धर्मेन्द्र प्रकरण: आइजीपी र गृहसचिवले कुल्चिए अदालतको आदेश

बाँस्तोलाका वकिल भन्छन्- ‘अवहेलनाको निवेदन दिन्छौं’

  • मङ्लबार, फाल्गुन ११, २०७७
धर्मेन्द्र प्रकरण: आइजीपी र गृहसचिवले कुल्चिए अदालतको आदेश

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई प्रहरीले पहिलोपटक पुस २९ मा ललितपुरको गिम्दीबाट गिरफ्तार गरेको थियो । त्यसयता सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बाँस्तोलालाई पाँच पटक छाड्ने आदेश गरिसकेको छ । तर, सोमबार पाँचौपटक प्रहरीले उनलाई सर्वोच्चको गेटबाट पक्राउ गरेर काभ्रेपलाञ्चोक प्रहरीको हिरासतमा थुनेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र सुश्मालता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई फेरि पक्राउ नगर्न कडा आदेश गरेको छ । बन्दी प्रत्यक्षीकरणको आदेश यसअघि पनि जारी भएको भन्दै अदालतले भनेको छ- ‘अब पनि सोही विषयमा पक्राउ गरिएमा विपक्षीलाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम कारवाही हुने ब्यहोराको जनाउ विपक्षीहरूलाई दिनु र आजै थुनाबाट छाडनु ।’

बाँस्तोलालाई ‘बिना कारण थुनेको’ अदालतको ठहर छ । तर, गृह प्रशासनले सो आदेशको मसी सुक्न नपाउँदै धर्मेन्द्रलाई फेरि पक्राउ गरेको छ । सर्वोच्चको गेटमा बास्तोलालाई लछार पछार पार्दै पक्राउ गरेको देख्नेहरुले प्रहरीको व्यवहारलाई ‘अमानवीय’ भनेका छन् ।

अदालतले प्रहरी महानिरीक्षक शैलेस थापाक्षेत्री र गृहसचिव महेश्वर न्यौपाने सहितका सरकारी अधिकारीलाई तोकेर भनेको छ–‘फेरि पक्राउ गरिए विपक्षीलाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम कारवाही हुने व्यहोराको जनाउ विपक्षीहरुलाई दिनु ।’ बन्दी प्रत्यक्षीकरणको रिटमा गृह–सचिव न्यौपाने र आइजीपी शैलेश थापा सहितलाई विपक्षी बनाइएको छ ।

‘प्रधानमन्त्री, प्रहरी र गृहमन्त्रालयले कानुन मानेका छैनन्’ धर्मेन्द्रको मुद्दामा बहस गरेका अधिवक्ता एकराज भण्डारीले भने– ‘दिनदहाडै कानुन मिच्न पाइँदैन, गृह–सचिव र आइजीपीविरुद्ध अदालतको अवहेलनाको निवेदन दिन्छौं ।’

निलो भ्यानमा फनफनी

गिम्दीबाट पक्रेर बास्तोलालाई जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखियो । ०७६ मा एकान्तकुनास्थित एनसेल मुख्यालयमा भएको विष्फोटमा धर्मेन्द्र पनि संलग्न रहेको प्रहरीको दाबी थियो ।
तर, सर्वोच्च अदालतले माघ २२ मा उनलाई छाड्नुपर्ने फैसला सुनायो । अदालतले आदेश गरेको केही मिनेटमा ‘कञ्चन’ लाई प्रहरीले सर्वोच्चको गेट बाहिर हत्कडी लगायो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीले उनलाई माघ २३ मा जिल्ला अदालत काठमाडौंमा उपस्थित गरायो । ‘कञ्चन’ लाई कमलपोखरीस्थित आँगन मिठाई पसलमा बम विष्फोट गराएको मुद्दामा प्रतिवादी बनाइएको थियो । तर, उनलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्ने आदेश दियो ।

त्यसपछि पनि उनलाई प्रहरीले छाडेन । प्रहरी वृत्त महाराजगञ्जले बसुन्धारास्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको विष्फोटमा संलग्न रहेको आरोपमा थुन्यो । अदालतबाट उनीविरुद्ध म्याद जारी भएको थियो । सो मुद्दामा ३५ हजार धरौटी बुझाएर छुट्नासाथ जिल्ला अदालतको ढोकाबाट माघ २६ मा उनलाई प्रहरीले फेरि पक्रियो ।

त्यसपछि उनलाई धरान लगेर थुनियो । ईलाका प्रहरी कार्यालय धरानले उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलायो । अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले सोमबार उनलाई छाड्ने आदेश दिएको छ । तर, गृह प्रशासनले उनलाई फेरि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा थुनेको छ । काभ्रेपलाञ्चोकमा बाँस्तोलाको पुरानो मुद्दा बाँकी रहेको प्रहरीले दाबी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार