नवविवाहित जोडीमाथि गरिएको एक सर्वेक्षणबाट अनेकौं रोचक तथा अचम्मलाग्दा तथ्य बाहिर आए । त्यसमा भनिएको छ- यो अनुसन्धानबाट थुप्रै अचम्मलाग्दा कुरा बाहिर आए, जसबाट नवविवाहित जोडीमा परस्परको प्रेम कुन हदसम्म आवश्यक हुन्छ भन्ने थाहा पाइन्छ । महिलाका तुलनामा पुरुषलाई जीवनसाथीबाट स्नेहको चाहना बढी हुन्छ । विवाहपछि श्रीमती आफ्ना श्रीमानले विवाहअघि भएका सबै खराब आचरणको त्याग गरून्, कुनै कुरामा बेखुसी नबनून् र आफ्नो कुरा ध्यानपूर्वक सुनून् र आफ्नो तारिफ गरिदिऊन् भन्ने चाहन्छिन् ।
श्रीमान् पनि श्रीमतीलाई उनले गरेभन्दा बढी प्रेम गर्न चाहन्छ । ऊ के पनि चाहन्छ भने आफ्नी श्रीमती अरूका श्रीमतीका तुलनामा आकर्षक देखियोस् । कुनै पनि श्रीमान् आफ्नी श्रीमतीलाई अन्य महिलाभन्दा स्मार्ट बनाउन चाहन्छ । थकित-थकित, कान्तिहीन तथा पीडाले सताएजस्ती देखिने श्रीमती कुनै पनि श्रीमानको सपनामा आउँदैनन् तसर्थ हरेक श्रीमान् जीवनसाथीलाई हरहमेशा तरोताजा एवं चुस्तदुरुस्त देख्न चाहन्छन् । विवाहपछि तुरुन्तैजस्तो उनीहरू एकअर्कामा धेरै कुराको परिवर्तन चाहन्छन् । यस्ता परिवर्तन सम्भव हुन कठिन भएकाले उनीहरू दुवैलाई खिन्नता मात्र हात लाग्छ । पछि-पछि त उनीहरूलाई एकअर्काको सामीप्य पनि झिँजो लाग्न थाल्छ ।
विवाहपछि श्रीमान श्रीमती दुवै एकअर्कामा परिवर्तन आओस् भन्ने चाहन्छन् तर सँगै के पनि अचम्मलाग्दो कुरा छ भने कतिपय दम्पतीले भनेको सुनिन्छ- ‘तिमी पहिले त यस्तो थिएनौ, विवाहपछि तिम्रो व्यवहार निकै फेरिएको छ ।’
यसमा लुकेको गाँठी कुरो के भने विवाहपछि सँगै बस्न थालेपछि दम्पतीलाई एकअर्काको विषयमा थुप्रै नयाँ कुरा थाहा हुन थाल्छ, जुन कुरा उनीहरूले विवाहअघि थाहा पाएका हुँदैनन् । जीवनसाथी अबेरसम्म सुत्नु, ढिलो गरी नुहाउनु, पछि गरौला नि भनेर काम पर सार्नु, बाह्य सम्बन्धलाई बढी महत्व दिनु, आफ्नो कोठा ताथ सामान लथालिंग राख्नु आदि जस्ता कुरामा जीवनसाथीबीच मनोमालिन्य हुन थाल्छ । कतिपय भने विवाहअघि सम्भावित जीवनसाथीलाई प्रभावित तुल्याउने उद्देश्यले त्यस्ता कामसमेत गरिदिन्छन् जुन कुरा कहिल्यै गर्दैनथे । फलस्वरूप विवाहपछि जब ऊ आफ्नो वास्तविक स्वरूपमा फर्कन्छ त्यतिखेर जीवनसाथीलाई लाग्छ कि ऊ विवाहपछि बदलिएको छ ।
वास्तविकता के हो भने विवाहपछि केही पनि परिवर्तन हुँदैन । न त श्रीमान् श्रीमतीको सोच, न व्यवहार न रहनसहन । बीचमा केही गरी कुनै परिवर्तन देखा प¥यो भने त्यसको जड हुने गर्छ–परिस्थिति । यस्तो परिवर्तन जीवनमा अचानक हुने गर्छ, जुन परिवर्तित परिस्थितिसँगै प्राकृतिक रूपले व्यक्तिको स्वभावको हिस्सा हुने गर्छ ।
पहिले जसलाई केवल व्यक्तिगत जीवनसँग सरोकार थियो, स्वतन्त्र बाँच्ने बानी लागेको थियो, अब विवाहपछि परिवारको रूपमा परिवर्तित भएसँगै व्यक्तिमा थुप्रै किसिमका नयाँ पारिवारिक जिम्मेवारीहरू पनि जोडिन थाल्छन् । यदाकदा समय एवं उचित व्यववस्थापनको कमीले पनि उसलाई आफ्नो जीवनसाथीको दृष्टिमा खरो उत्रन दिँदैन , फलतः जीवनसाथी आफूलाई उपेक्षा गरिएको ठानेर एकअर्काको गुनासो गर्न थाल्छन् ।
समझदारी आवश्यक
थोरै मात्र पनि आपसी तालमेल भयो भने नवविवाहितहरूको सम्बन्धमा नवजीवन भरिन थाल्छ । केही त्यस्ता कुरा छन् जसलाई अंगाल्न सके नवदम्पती जीवनभर एकअर्काको सुखदुःखमा रमाएर सन्तुष्ट जीवन बच्न सक्छन्
–कोही पनि सर्वगुणसम्पन्न हुँदैन । यसकारण आफ्नो जीवनसाथीलाई उसको कमजोरीका साथ स्वीकार्नु आवश्यक छ । सकारात्मक प्रयास गर्ने हो भने क्रमशः जीवनसाथीको कमीकमजोरीलाई हटाउन सकिन्छ ।
–जीवनसाथीमा सकारात्मक परिवर्तन आएको हेर्ने चाहना छ भने प्रेमको सहारा लिन सकिन्छ । क्रोध, रिस एवं जबरजस्ती आपसी सम्बन्धलाई जरैबाट निर्मूल पार्ने तत्व हुन् भने प्रेम अमृत हो ।
–जीवनसाथीप्रति विश्वास गर्नुपर्छ, आफू ऊप्रति संवेदनशील भएको र सदैव ख्याल राख्छु भन्ने कुरा दर्शाउनुपर्छ । बेलामौकामा उपहार दिएर पनि यस्तो भावना प्रदर्शित गर्न सकिन्छ । जीवनसाथीका लागि कुनै पनि निर्जीव वस्तुको तुलनामा आफ्नो जीवनसाथीले आफूप्रति व्यक्त गरेको प्रेमभाव तथा सम्मान बढी महत्वपूर्ण हुन्छ ।
–कुनै पनि कुरा लुकाएर गर्न खोज्नु वा झूटो बोल्नु आपसी सम्बन्धमा बन्चरो प्रहार गर्नु हो । आफूबाट गल्ती नै भइहालेछ भने पनि जीवनसाथीसँग इमान्दारीपूर्वक सत्य बोल्नु तथा सम्बन्धमा पारदर्शिता अंगाल्न राम्रो हुन्छ ।
–जीवनसाथीका बीच सामान्य ठाकठुक पर्नु सामान्य हो, आगो बल्नका लागि पनि अगुल्टो ठोस्नैपर्छ, तर ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्ने उखानलाई आत्मसात् गर्नुपर्छ । रिसाएको जीवनसाथीलाई खुसी पार्ने प्रयास छोड्नु हुँदैन ।
–विवाह भइसकेपछि प्रेमको लक्ष्य पूरा भयो भन्ने सोच्नु गलत हुन्छ, यो त एउटा विश्राम मात्र हो । जीवनसाथीका साथ पूरा यात्रा तय गर्न त बा“की नै हुन्छ तसर्थ परस्परमा खुसी बाँड्ने प्रयास जीवनभर जोड्नु हुँदैन।
–नातेदारको कुरालाई लिएर द्वन्द्वको स्थिति सिर्जना हुन दिनु हुँदैन, आफ्ना परिवारलाई सही साबित गर्नतिर लाग्दा र अरूको उचित मूल्यांकन नगर्दा द्वन्द्वको स्थिति पैदा हुन्छ ।
–जीवनसाथीका बीच आफूलाई उत्कृष्ट साबित गर्ने अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन । यो यस्तो सम्बन्ध हो जहाँ प्रतिस्पर्धा गर्नु प्रीतिकर हुँदैन अपितु अनिष्टकारक हुनसक्छ । तसर्थ जीवनसाथीको भावनाको सम्मान गर्नुपर्छ ।
–जीवनसाथीको सानातिना गल्तीप्रति आ“खा चिम्लनुपर्छ । अनावश्यक शंका गरेर लज्जित पार्ने वा हुने क्रियाकलाप त्याग्नुपर्छ । विवाह दुई आत्माको प्रेमपूर्ण बन्धन हो भन्ने कुरा कदापि भुल्नु हु“दैन र यो सम्बन्धमा भ्रम र अहम्लाई कुनै स्थान दिनु हुँदैन ।
–विवाहपछि आएको परिवर्तनलाई लिएर तिललाई पहाड बनाएर विवाद सिर्जना गर्नुहु“दैन, बरु हरेक परिवर्तनलाई बुझेर, त्यसको कारण ठम्याउनतर्फ लागेर त्यसलाई स्वीकार गर्नुपर्छ । समय–परिस्थितिअनुसार आफूलाई लाने प्रयास गर्दा दुवैको जीवन सुखद् हुन्छ ।