बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • एक हजार दिनपछि जेलबाट छुटिन् साउदीकी चर्चित महिला अधिकारकर्मी

एक हजार दिनपछि जेलबाट छुटिन् साउदीकी चर्चित महिला अधिकारकर्मी

  • बिहिबार, माघ २९, २०७७
एक हजार दिनपछि जेलबाट छुटिन् साउदीकी चर्चित महिला अधिकारकर्मी

साउदी अरबकी चर्चित महिला अधिकारकर्मी लौजाइन अल-हाथलउल जेल मुक्त भएकी छन्। १ हजार १ दिन जेल परेकी उनी बुधबार घर पुगेको आफन्तहरूले जानकारी दिएका छन्।

उनकी बहिनी लिनाले ३ वर्षअघि पक्राउ परेकी लौजाइनको तस्बिर ट्वीटरबाट सार्वजनिक गर्दै उनी घरमा रहेको जानकारी दिएकी हुन्।लौजाइनकी अर्की बहिनी आलियाले भनेकी छन्- उनी अहिले आमाबुवाको घरमा छन्। यो मेरो जीवनको सबैभन्दा राम्रो दिन हो।

लौजाइन पक्राउ परेदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उनको रिहाइका लागि अभियान चलेको थियो।जेलमा रहँदा राम्रो आचरण देखाएको भन्दै लौजाइनको कैद सजाय बाँकी हुँदै उनलाई रिहाइ गरिएको बताइएको छ। उनलाई पाँच वर्षसम्म साउदीबाहिर जान प्रतिबन्ध लगाइको छ। उनले नियम तोडेमा फेरि जेल सजाय हुने सर्त राखिएको छ।

३१ वर्षीया लौजाइन साउदी महिलालाई गाडी चलाउने अधिकार दिनुपर्छ भनेर अभियान चलाउने नेतृत्वकर्ता हुन्। उनले साउदीमा हरेक महिलाका साथमा महत्वपूर्ण निर्णय गर्न पुरूष ‘गार्जियन’ चाहिने चलनको विरोधमा पनि अभियान चलाएकी थिइन्।

उनलाई विदेशीका एजेन्डा लागू गराउन खोजेको र इन्टरनेटका माध्यमबाट सार्वजनिक हितमा क्षति पुर्‍याएको आरोपमा ५ वर्ष आठ महिना जेल सजाय सुनाइएको थियो।

उनले आफूलाई सुनाइएको जेल सजाय र हिरासतमा हुँदा भएको यौनदुर्व्यवहारविरूद्ध भोक हड्ताल गरेकी थिइन्। आफूमाथि भएको दुर्व्यवहारविरूद्ध दिएको लौजाइनको पुनरावदेनलाई साउदीको एक अदालतले पर्याप्त प्रमाण नभएको भन्दै खारेज गरिदिएको थियो।

चर्चामा

सम्बन्धित समाचार