शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बजार
  • बजारमा नयाँ टिसर्ट- नाटकै हो, ९ टंकी नै हो

बजारमा नयाँ टिसर्ट- नाटकै हो, ९ टंकी नै हो

  • बिहिबार, माघ २९, २०७७
बजारमा नयाँ टिसर्ट- नाटकै हो, ९ टंकी नै हो

यतिबेला सामाजिक सञ्जालमा एउटा वाक्य खुबै भाइरल छ, ‘नाटकै हो, नौटंकी नै हो।’ यो वाक्य नेकपा अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्द जोडेर बनेको ‘मिम’ हो। प्रचण्डले एक कार्यक्रममा प्रधानमन्त्रीले भारतीय च्यानललाई दिएको अन्तर्वार्ता ‘नाटकै हो’ भनेका थिए। उता ओलीले जवाफ दिँदै ‘नौटंकी नै हो’ भने।

यी दुईका भनाइ जोडेर बनेको वाक्य रातारात मिम बन्यो, टिकटकमा भाइरल भयो। अझ यही शब्द राखेर गीत पनि सार्वजनिक भए। दुई नेताले बोलेको शैली र शब्दले राजनीति बुझ्ने र यसबारे जानकार रहनेको मात्र होइन, राजनीतिबाट टाढा जनताको पनि ध्यान खिच्यो। अझ युवा पुस्ता उनीहरूका मिम बनाउन अघि सरे।

मिम, टिकटक र गीतपछि यतिबेला ‘नाटकै हो, नौटंकी नै हो’ ले टिसर्टमा स्थान पाएको छ। फेसबुक र ट्विटरतिर अचेल यही वाक्य प्रिन्ट भएका टिसर्ट देखिन थालेको छ। केहीले यस्ता टिसर्ट लगाएर पोस्ट गरेका छन् भने कतिपय पसल र प्रिन्टिङ प्रेसबाट प्रिन्ट गरिन्छ भन्दै जानकारी दिन थालेका छन्।

यहीमध्ये पर्छ मूलपानीस्थित ‘मूलपानी स्पोर्ट’। केही दिनदेखि कम्पनीले यस्तै टिसर्ट प्रिन्ट गर्दैछ। मूलपानी स्पोर्ट खेलकुद सामग्री बिक्री गर्ने पसल हो। यहाँ जर्सी, जुत्ता, घुँडामा लगाउने प्याडलगायत सामान पनि पाइन्छ।

‘अहिले चल्तीमा आएको वाक्यलाई टिसर्ट प्रिन्टमा ल्याउन पाए व्यापार बढ्छ कि भन्ने सोचले प्रिन्ट निकालेका हौं,’ मूलपानी स्पोर्टका सञ्चालक बाबुराम खतिवडाले भने।

२३ वर्षीय बाबुरामले गत वर्ष मात्रै पसल सञ्चालन गरेका हुन्। व्यवसाय थालनी मात्र के गरेका थिए, कोरोना महामारीले काम थन्कियो। लकडाउन सकिएसँगै उनले केही स्थानीय क्लब जस्तै, आरबी डायमण्ड, पाजु नेपाल र स्कुल तथा कलेजका लागि जर्सी प्रिन्ट गर्न थाले। योसँगै टिसर्टमा ‘नाटकै हो, ९ टंकी नै हो’ प्रिन्ट गराउन पाए व्यवसाय बढाउन सकिन्छ भन्ने उनलाई लागेको हो।

‘बजारमा ट्रेन्डिङ कुरा चलिरहेको हुन्छ। त्यही सोचले यस्तो टिसर्ट प्रिन्ट निकाल्यौं। तर सोचेजस्तो व्यापार भएको छैन,’ उनी केही गुनासो सुनाउँछन्।

व्यवसायी बाबुरामलाई राजनीतिमा उत्ति चासो छैन। उनी देशको स्थितिबारे अपडेट भए पनि नजिकबाट संलग्न नभएको बताउँछन्। व्यावसायिक सोचकै कारण उनले बजार र सर्वसाधारणमा चलिरहेको भाइरल वाक्यलाई व्यवसायमा परिणत गर्ने आइडिया निकालेका हुन्।

‘ग्राहकहरू टिसर्ट यसो हेर्नुहुन्छ। ए, यस्तो पनि आइसक्यो’ भन्दै हाँस्ने, रमाइलो गर्ने गर्नुहुन्छ। तर उत्ति रूचाउनुभएको देखिएन,’ बाबुरामले बजारको मागबारे भने।

त्यसैले अहिले उनले ‘नाटकै हो, नौटंकी नै हो’ टिसर्टको नमूना मात्र राखेका छन्। ग्राहकबाट अर्डर आए प्रिन्ट गरिदिन्छन्।

मूलपानी स्पोर्टले तीन साइजमा टिसर्ट प्रिन्ट गर्दैछ- मिडियम, लार्ज र एक्ट्रा लार्ज। झन्डै चार दिनमा जम्मा एक दर्जन टिसर्ट बिक्री भएको बाबुराम बताउँछन्। प्रत्येक टिसर्टको मूल्य पाँच सय रूपैयाँ तोकेका छन्। काठमाडौं उपत्यकाभित्र मूलपानी स्पोर्टले डेलिभरी सेवा पनि उपलब्ध गराएको छ।

चर्चामा

सम्बन्धित समाचार