• होमपेज
  • राजनीति
  • मन्त्री क्वार्टरमा बादलको बिलौना – अदालतले बिताउँछ कि क्या हो ?

मन्त्री क्वार्टरमा बादलको बिलौना – अदालतले बिताउँछ कि क्या हो ?

के बादलहरूले ओलीलाई छोड्न सक्लान् ?

  • मङ्लबार, माघ २७, २०७७
मन्त्री क्वार्टरमा बादलको बिलौना – अदालतले बिताउँछ कि क्या हो ?

काठमाडौं — गृहमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’ले केही दिनअघि मन्त्री क्वार्टरमा आफ्ना केही भित्रियालाई बोलाए ।

आधा दर्जन नेता कार्यकर्तालाई वरिपरी राखेर बोल्न शुरू गरेका बादलले आफू ओली समूहमा लाग्नुपर्ने बाध्यताका बारेमा ब्रिफिङ गरे । ५ मिनेट जति प्रष्टीकरण दिइसकेपछि उनले फ्याट्ट भने – ‘कमरेडहरू, यता लाग्न त लागियो, तर अदालतले बिताउला जस्तो छ !’

यति भनेपछि केहीबेर सन्नाटा छायो । भेलामा पुगेका एक जिल्लास्तरीय नेताले भनिहाले, ‘सरकारी वकिलहरूले त बिजोग तर्क गरिरहेका छन् । राजाको अधिकार ओलीमा छ भनेर भन्नसमेत भ्याए ।’
जवाफमा बादलले भने, ‘त्यो तर्क मात्र हो । राजा-साजा आउने कुरा केही छैन । हामीले नारायणहिटी दरबार अघिको आमसभामा पनि प्रष्ट पारिसकेका छौं ।’

दोस्रो बरियताको नेता हुन पाइने आशा बोकेर ओली समूहमा लागेका बादलले अदालतप्रति शंका गर्नुलाई अर्थपूर्ण मानिन्छ । ओलीले आफूतिर लाग्ने पूर्व माओवादी नेताहरूलाई सबैतिर सेटिङ भइसकेको ब्रिफिङ गर्ने गरेका थिए ।

बादललाई अदालतप्रति शंका लाग्नु भनेको ओलीमाथिको शंका हो । उनले अहिले ओलीले आफूलाई झुक्याएको अनुभव गरिरहेका छन् ।

उनीनिकट मानिएका एक कार्यकर्ताले भने – ‘अहिले मन्त्रीज्यूलाई साँच्चिकै गल्ती त गरिएन भनेर फील भइरहेको छ ।’

संसारभरका अदालतहरूमा पक्ष र प्रतिपक्षका वकिलहरूले गरेको तर्कअनुसार फैसला आउने गर्छ । नेपालको सर्वोच्च अदालत पनि त्यसबाट विमुख हुन मिल्दैन ।

अदालत स्रोत भन्छ – ‘अदालतले हेर्ने भनेकै वकिलहरूको तर्क हो । अहिलेसम्म अदालतले कमजोर तर्क गरेका वकिलहरूको पक्षमा फैसला गरेको छैन ।’

तर एक हप्ता अघिदेखि शुरू भएको विपक्षीहरूको बहस ‘उदेक’ लाग्दो छ । सरकारी वकिलहरूले प्रधानमन्त्री ओलीसँग यसअघिका राजासँग भएको अधिकार निहित छ भन्दै तर्क गरेका छन् ।

महान्यायाधिवक्ता अग्नि खरेलले शुरूकै दिन भनेका थिए, ‘प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार संविधानले दिएको छैन, तर म महान्यायाधिवक्ता भएकाले सरकारको प्रतिरक्षा गर्नु मेरो संवैधानिक दायित्व हो ।’

के बादलहरूले ओलीलाई छोड्न सक्लान् ?

स्रोत भन्छ – ‘बादल मात्र होइन विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवाली जस्ता नेताहरूले पनि ओलीलाई छोड्न सक्छन्, यदि संसद पुनःस्थापना भयो भने ।’

उनीहरूले डे वानदेखि ओलीलाई गलत कदम नचाल्न आग्रह गरिरहेका थिए । संसद पुनःस्थापनापछि ओलीसँग रहेका आधा सांसदले छोड्ने अनुमान बालुवाटारले लगाइसकेको छ ।

अहिले ओलीको हातमा ७० को हाराहारीमा निवर्तमान माननीयहरू छन् । संसद पुनःस्थापनापछि ३० देखि ३२ जना सांसदले ओलीलाई छोड्ने बालुवाटारकै आंकलन छ ।

त्यसो भयो भने, राष्ट्रपतिमाथि पनि महाभियोगको चट्याङ सजिलै बर्सिनेछ । नेकपा बीटमा रिपोर्ट गर्ने ओलीनिकटमै रहेका पत्रकारहरूले चिया गफमा भन्ने गरेका छन् – ‘ओलीको पतन विद्रूप हुने भो ।’

बादलको रणनीति!
संसद पुनःस्थापनापछि बादलसँग तीन विकल्प रहनेछ । पहिलो ओलीसँगै टाँसिने । दोस्रो आत्मालोचनासहित प्रचण्ड-नेपाल पक्षमा आउने । तेस्रो कतै पनि नलाग्ने । अथवा पार्टी एकता हुनुपर्छ भन्दै वामदेव गौतमको लाइनमा आउने ।

तीनै अवस्थामा बादलको मन्त्रीपद चैट हुनेछ । यदि पार्टी विभाजनका लागि अहिलेको प्रावधानअनुसार ४० प्रतिशत नपुगे ओली लगायत सबैलाई प्रचण्ड-नेपाल पक्षले कारवाही गर्नेछ र सांसद पनि पनि चैट हुनेछ ।

तर ओली बाठा छन् । संसद पुनःस्थापना भएलगत्तै वा हुने थाहा भएपछि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेछन् । बादलसँग प्रचण्ड-नेपालसँग मिल्न जाने उपाय सहज हुनेछ । तर उनको राजनीतिक करियर भने ध्वस्त भइसकेको हुनेछ ।

नारायणहिटी अगाडिको आमसभामा बादलले भनेका थिए – ‘अब देश तेस्रो जनआन्दोलनमा जानेछ ।’ उनले झुक्किएर या प्रचण्ड-नेपाल समूहमा गएर भाषण गर्नका लागि तयार पारिएको चिर्कटो पढेका होइनन् ।

उनले अदालतले संसद पुनःस्थापना गरिदियो भने आफू सडकमै आइन्छ भन्ने सोचेर भाषण गरेका हुन् । गृहमन्त्री आफैं छन्, तेस्रो जनान्दोलनको आवश्यकता उनले अहिले परिकल्पना पनि गर्न नसक्ने कुरा हो । ज्वती न्युज बाट

चर्चामा

सम्बन्धित समाचार