• होमपेज
  • प्रदेश ७
  • भागरथी हत्याको अनुसन्धान निर्मला प्रकरण जस्तो हुँदैनः प्रहरी

भागरथी हत्याको अनुसन्धान निर्मला प्रकरण जस्तो हुँदैनः प्रहरी

  • आइतवार, माघ २५, २०७७
भागरथी हत्याको अनुसन्धान निर्मला प्रकरण जस्तो हुँदैनः प्रहरी

काठमाडौँ – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अनुसन्धानमा कुनै कमि हुन नदिने प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले किशोरी हत्या घटनाको अनुसन्धानका लागि अत्यन्त सजगताका साथ सुक्ष्म अनुसन्धान भइरहेको बताए।

उनले भने, ‘अपराधी पत्ता लगाएर पक्राउ गरी कारबाही गर्न प्रहरी प्रतिवद्ध छ।’ भागरथी हत्याको अनुसन्धान पनि कञ्चनपुरकी किशोरी निर्मला पन्तको जस्तै नहोस् भनेर चौतर्फी रुपमा खबरदारी भइरहेको छ।

शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यो घटना पनि निर्मला प्रकरण जस्तो नहोस् भनेर खबरदारी गरेका छन्। यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भागरथीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

शनिबार भागरथीको न्यायकाे माग गर्दै काठमाडौँमा प्रदर्शन भएको थियो । प्रदर्शनका सहभागीहरुले भागरथीका हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेका थिए। उनीहरुले यो घटनाको अनुसन्धानमा पनि निर्मला प्रकरणको जस्तै लापवार्ही नगर्न प्रहरी प्रशासनलाई खबरदारी गरेका थिए।

निर्मला प्रकरणमा जस्तै भागरथीका हत्याराले पनि उन्मुक्ति नपाओस् भनेर सामाजिक सञ्जालमार्फत पनि व्यापक खबरदारी भइरहेको छ। यो खबरदारीबारे प्रहरी प्रवक्ता कुँवरले भने, ‘अनुसन्धान भइरहेकाे छ । प्रहरीले विगतकाे कमजाेरीबाट पनि पाठ सिकेर काम गरिरहेकाे छ।’

उनले अनुसन्धानमा लापर्वाही नहाेस् भनेर नै सुरुमै घटनास्थलमा उच्च सुरक्षा अधिकारीहरु खटाइएकाे बताए। प्रारम्भिक अनुसन्धानका क्रममै सरकारी वकिल, डाक्टर तथा प्रमुख जिल्ला अधिकारी लगायत घटनास्थल पुगेको उनले बताए।

उनले अपराध अनुसन्धानकाे सफलताबारे भने तत्काल केही भन्न नमिल्ने बताए। ‘अनुसन्धानमा कति सफल भयाैँ भनेर अहिले भन्ने कुरा भएन’, उनले भने, ‘तर अपराधी छिट्टै पक्राउ पर्छन्, प्रहरी संवेदनशील भएर लागेकाे छ।’ कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी अझै पत्ता लागेका छैनन्। बैतडीमा फेरि उस्तै घटना दोहारिएपछि सिंगो मुलुक स्तब्ध बनेको छ।

विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया किशोरी भागरथी भट्टको विभत्स ढंगले हत्या गरिएको अवस्थामा जंगलको झाडीमा शव फेला परेको थियो। डेढ महिनाअघि मात्रै श्रीमान् गुमाएकी आमा द्रोपति भट्ट जवान छोरीको पनि बलात्कारपछि विभत्स हत्या भएको घटनाले मर्माहत छिन्। दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले घटनाको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित रहेको बताए।

चर्चामा

सम्बन्धित समाचार