• होमपेज
  • समाज
  • भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या

भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या

  • आइतवार, माघ २५, २०७७
भागरथीको मोबाइल ‘रिकभर’ गरिँदै, भारतीय सीमकार्डले अनुसन्धानमा समस्या

बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको मोबाइल ‘रिकभर’ गरिने भएको छ। घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको बताए।

उनले भागरथीले प्रयोग गर्ने मोबाइल पनि परीक्षणका लागि केन्द्रीय डिजिटल ल्याबमा पठाइरहेको दिनेशखबरलाई बताए। त्यसबाट मोबाइलमा भएका सबै म्यासेज, अडियो–भिडियो र कलका सबै विवरण प्राप्त निकाल्न सकिने भएकाले अनुसन्धानमा सहज हुने जनाए।

भागरथीले भारतीय सीमकार्ड पनि प्रयोग गर्ने खुलेको छ। घटनास्थलमा भेटिएको मोबाइलमा भारतीय सीमकार्ड मात्र फेला परेको र उनले प्रयोग गर्ने नेपाली सीमकार्ड सो दिन घरमै रहेको पाइएकाले प्रहरी अनुसन्धानमा केही समस्या भएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार भारतीय सीमकार्ड र मोबाइलका म्यासेज, भिडियो–अडियो र कलको विवरण समेत डिलिट गरेको पाइएपछि मोबाइलबाट बलियो ‘क्लु’फेला पर्न सकेको छैन।

तर डाटा ‘रिकभर’ भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भारतीय प्रहरीसँग पनि समन्वय गरेर अनुसन्धान भइरहेको बताए। भारतीय प्रहरीको सहयोगमा पनि कल डिटेल निकाल्न आवश्यक पहल थालिएको बताउँदै घटनाको सुक्ष्म अनुसन्धान जारी राखिएको जानकारी दिए।

सीमा नाका नजिक भएकाले चडेपानी क्षेत्रमा भारतीय नेटवर्कले काम गर्ने गरेको छ। सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन्। गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिइन्।

उनको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। ३ दिनदेखि घटनास्थलमा एसएसपी र सीआईबीका डीएसपीको नेतृत्वको प्रहरी टोली अनुसन्धानका लागि तैनाथ छ। आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी पनि बैतडीतर्फ हिँडेका छन्।

चर्चामा

सम्बन्धित समाचार