शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पति वियोगका आँसु नथामिदै छोरी गुमाइन् द्रोपतीले

पति वियोगका आँसु नथामिदै छोरी गुमाइन् द्रोपतीले

  • शनिबार, माघ २४, २०७७
पति वियोगका आँसु नथामिदै छोरी गुमाइन् द्रोपतीले

बैतडि– बैतडीको दोगडाकेदार गाउँपालिका–७ को चडेपानी यतिबेला शोकाकुल छ। गाउँकी होनहार किशोरी भागरथीको अकल्पनीय मृत्युले गाउँलेका आँखाबाट अविरल आँसु बगिरहेका छन। उनीहरुका आँसु रोकिएका छैनन्। बोली फुट्न सकेको छैन।

भागरथीले सबैलाई चटक्कै छोडेर गएको पत्यार लागिरहेको छैन। तर लवलेक सामुदायिक वनको बनमाराको झाडीतिर आँखा डुलाउँदा लडिरहेकी भागरथीलाई हेर्दा उनीहरु बोलाउँदै भन्थे, उठ् भागरथी ! उठ! घटनास्थलमा उपस्थित प्राय सबैका आँखा रसाएका थिए। स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको विषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन्।

पति वियोगको आँसु नथामिदै छोरी गुमाउन पुगेकी द्रोपतीको खुसी दैवले सदाका लागि चुडेको छ। छोरी कतै जिउँदै टुप्लुक्क आईपुग्छिन् कि भन्ने आशा बाँकी नै थियो। तर बिहीबार साँझ छोरीको मृत्युको खबरपछि उनी बेहोस नै भइन्। लाउलाउ खाउखाउ भन्ने उमेरकी छोरी सधैका लागि गुमाएकी द्रोपतीलाई पीडामाथि पीडा थपिएको छ। सुगरका बिरामी श्रीमानलाई गुमाएपछि साहारा बनेकी छोरी सदा सदाका लागि छोडेर गएपछि उनलाई बोलाउँदै घरी–घरी भक्कानिन्छिन्।

ठुलो मान्छे बनाउने धोको राखेर पढाइरहेकी छोरी बुढेसकालको सहारा बन्ला भन्ने सोचेकी उनले कलिलैमा निमोठिदिएको भन्दै उनी भक्कानिन्छिन्। आफ्नो वरीपरी खोज्न थाल्छीन्। छिनछिनमा मुर्छित हुन्छिन्। क्षणभरमै बेहोस हुन्छिन्। गाउँका अरु महिलाहरुले द्रोपतिलाई सम्हाल्ने कोसिस गरिरहेका छन्। रोजगारीका सिलसिलामा भारतको दिल्लीमा रहेको जेठो छोरा फर्किरहेको छ। घर खर्च चलाउन र बहिनीको पढाई खर्च जुटाउन समस्या भएपछि नै कक्षा १० मा पढ्दापढ्दै उनी भारत पसेका थिए।

बुवाको किरियामा बसेकी आमालाई भागरथीले नै घरको सबै काममा सघाउने गरेकी थिइन्। तर उनको खुसीमाथि कुन पापीले आँखा लगायो। बलात्कारपछि उनको हत्या गर्ने दानव को थियो? सबैका मनमा यस्तै कुरा खेलिरहेका छन् अहिले। भागरथीको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान कार्य गरिरहेपनि न्याय पाउनेमा पीडित पक्ष विश्वस्त हुन सकेका छैनन्। उनीहरुले भागरथीको बलात्कारपछि हत्या गर्ने जो कोहीलाई पनि दण्डित गर्नुपर्ने माग राखेका छन्। # दिनेश खबरबा ६

चर्चामा

सम्बन्धित समाचार