बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • कतै पद फालाफाल, कतै हाँसको चाल

कतै पद फालाफाल, कतै हाँसको चाल

  • बुधबार, माघ २१, २०७७
कतै पद फालाफाल, कतै हाँसको चाल

केपी ओलीको ओँठे जवाफको भर पर्दापर्दै पार्टी औपचारिक विभाजनमा जानुपर्ने स्थितिमा पुगिरहेको बेला प्रचण्डकै मुखबाट केपीशैलीमा जवाफ निस्किएपछि केही नेताले अचम्म मानेका छन् । अस्ति सोमबार पेरिसडाँडामा नेकपाको केन्द्रीय कमिटी बैठक चलिरहँदा पूर्वएमालेतर्फका नेता डा.विजय पौडेल जुरुक्क उठे । त्यसबेला अध्यक्ष प्रचण्डले अध्यक्षता ग्रहण गर्दै मन्तव्य दिइरहेका थिए । डा. विजय तलैबाट बोल्न थाले, ‘तपाईंहरूले सहमति जुटाउन नसकेको वा अरु केही समस्या परेको हो ? महासचिवबिना बैठक कसरी बसिन्छ ? त्यसैले यही बैठकबाट महासचिव छानौँ । यसरी कति दिन चल्छ ?’ विजय बोलिसकेर थचक्क बसे ।

अनि, प्रचण्ड कुरा मोडेर विजयको जिज्ञाशातिर गए अनि भने, ‘हामी सल्लाह गरिरहेका छौँ । तर, आजै–यही बैठकबाट त हुँदैन ।’ यति भनेपछि कुरा सकियो । तर, विजय र उनीजस्ता अरु थुप्रै केन्द्रीय सदस्य केही भन्न खोज्दै थिए । मौका पाएनन् ।

प्रचण्ड–माधव नेतृत्वको पार्टीमा महासचिवको मात्र अभाव छैन, थुप्रै जिल्ला र विभिन्न जनसंगठनमा कि संयोजक छैनन्, कि सहसंयोजक वा सचिव छैनन् । जस्तो बाग्मती प्रदेश अध्यक्ष नारायण दाहाल एकापट्टि भए, सचिव आनन्द पोखरेल ओलीतिर गए । त्यहाँ अब पूर्व एमाले खै ! उता, केपी पक्षले चाहिँ कोही मान्छे आफ्नो पक्षमा खुल्नासाथ हाताहाती पद दिएर घोषणा नै गरिदिने गरेको छ । अहोरात्र आन्दोलनमै जुटेको प्रचण्ड–माधव समूहमा कतिपय पद रिक्त भइदिँदा आन्दोलनकै संयोजन र व्यवस्थापनका कामहरूमा समस्या आइरहेको छ ।

कानुन व्यवसायी संगठन र पेशागत जिल्ला कमिटी मात्रै हो, प्रचण्ड–माधव समूहसँग संयोजक र सहसंयोजक साथ रहेको । बाँकी सबै जनसंगठनमा कि संयोजक कि सहसंयोजक छैनन् । ओली पक्षले चाहिँ जुन–जुन जिल्ला र जनसंगठनमा यस्तो रिक्तता व्यहो¥यो, ती–ती ठाउँमा आफ्ना मान्छे तोकिसकेको छ । पेरिसडाँडास्रोतका अनुसार सामान्यतया सर्वोच्च अदालतबाट संसद विघटनबारेको फैसला नआउञ्जेल यस्तै स्थिति राख्ने नीति बनाइएको छ । तर, काम नै ठप्प हुने गरी भएका रिक्ततालाई मेट्नचाहिँ आजभोलिमै स्थायी कमिटी बैठक बस्दै छ । केपी समूहको चातुर्यता कस्तो छ भने, बीचमा रहेका मान्छेहरू आफूतिर खुल्नासाथ हत्तपत्त कामको जिम्मा दिने र तिनलाई एक्सपोज पनि गरिहाल्ने । फलतः त्यो मान्छे लाजले पनि फर्किएर अर्को समूहमा जाँदैन ।

जस्तो, पुस ५ को कदमलगत्तैका भेला, बैठकमा प्रभु साह, दावा तामाङहरू प्रचण्ड–माधव समूहतिर देखिएका थिए । तर, जब मन्त्री पाउने भए, केपीकहाँ दौडिहाले । र, त्यताबाट तुरुन्तै मन्त्री बनाइहालियो । गौरीशंकर चौधरी पूर्वमाओवादी भए पनि प्रचण्डतिर गएका थिएनन् । उनलाई पनि गइहाल्छन् कि भनेर स्वाट्टै मन्त्री बनाइयो । त्यस्तै, ओली खेमा छोडेर कञ्चनपुरबाट पूर्वमाओवादीतर्फका विक्रमबहादुर शाही प्रचण्डतिर फर्किएका छन् । खोटाङका प्रदेश सांसद (पूर्वएमाले) राजन राई लामो समय तटस्थ बसेर प्रचण्ड–माधवतिर पुगेका छन् ।

पहिला प्रदेश मुख्यमन्त्रीको निर्वाचनमा यिनै राजनले मतपत्रमा हस्ताक्षर गरेर मत बदर गराएपछि शेरधन राईले दुई भोटबाट भीम आचार्यलाई हराएका थिए । अहिले फेरि त्यही प्रदेशमा शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । भीम आचार्यलाई पूर्वएमालेका तीन सांसद भए पुग्ने स्थिति छ । यस्तोमा विगतमा शेरधन जिताउन मत बदर गराउने राजन भीम भएतिरै पुग्दा भीमको भर बढेको छ । जनआस्था साप्ताहिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार