शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

  • आइतवार, पुस १९, २०७७
उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

निमेन्द्र शाही — सुदूर पश्चिम प्रदेशका हिमालयहरूका चुचुरा यस वर्ष हिउँ पग्लेर उजाड बनेका छन् । दार्चुलाको अपिनाम्पा हिमशृङ्खला क्षेत्रमा यस वर्ष अहिले सम्मकै कम हिउँ देखिएको छ । त्यस्तै, बझाङको साइपालमा पनि त्यस्तै छ । लामो समयसम्म पानी नपरेका कारण हिमालय पर्वतहरूमा हिउँ खाली भएपछि हिमालहरू उजाड भएका हुन् ।

‘यस वर्ष अपिका डाँडाहरू नाङ्गा भएका छन्, सिनोको मासु गलेजस्तो कहीँ कहीँ मात्र हिउँ छ अरु सबै उजाड बनेको छ । मेरो सम्झनामा यो पहिलो पटक हिमाल यसरी खाली देखिएको हो,’ अपिनाम्पा संरक्षित क्षेत्रका निवर्तमान अध्यक्ष चक्रसिंह ह्याकीले बताए । उनले थपे, ‘मैले पाँच वर्ष अपि संरक्षित क्षेत्रको नेतृत्व सम्हाल्ने अवसर पाएको थिएँ, हिमालको लस्कर कहिले पनि यसरी खाली हुँदैन थियो । यस वर्ष अहिलेसम्म पानी नपरेर यसो भएको होला । अर्कोतिर जलवायू परिवर्तनको असर पनि हुन सक्छ ।’

बझाङको साइपाल हिमाल, बाजुराको बडिमालिका र बूढीनन्दा दार्चुलाको अपिनाम्पा र ओम हिमालका टाकुराहरू उजाड बनेका छन् । ‘हाम्रो गाउँबाट हिमाल चाँदी जस्तै टल्किन्थे तर यस वर्ष हिउँ पग्लिएर उजाड डाँडा बनेका छन् । यो वर्ष पहिलेजस्तो पानी परेको छैन । त्यही भएर होला अर्कोतिर जलवायु परिवर्तनको असरले पनि हिमाल खाली भएका हुन् कि,’ बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानसिंह सुर्मेलीले बताए ।

‘लामो समयसम्म पानी नपरेका कारण हिमालमा हिउँ थपिन पाएको छैन । भएको हिउँ पग्लिँदै गएको छ । यसरी नियमित पानी नपर्ने हो भने बाँकी रहेका हिमालको हिउँ पनि पग्लेर हेर्नलायक नहुन सक्छन्,’ आन्तरिक पर्यटक पुनरुत्थान समिति सुदूरपश्चिमका सह–संयोजक प्रमानन्द भण्डारीले बताए ।


‘हिउँ नपरेका कारण बाहिरबाट आउने पर्यटकको समेत संख्या बढेको छैन । गत वर्ष यस समयमा तराईका जिल्ला र भारतबाट हिउँ खेल्ने र फोटो खिच्न आउनेहरूको लर्को थियो । यस वर्ष हिमाल खाली हुँदा होटल व्यवसायीलाई समस्या भएको छ,’ बैतडी होटल व्यवसायी समितिका अध्यक्ष वासु भट्टले बताए ।

‘समयमा हिउँ नपर्दा हिमाल खाली भएर उजाड बनेका छन्, यसले प्राकृतिक मनमोहकता त हरायो तर पानी नै नपर्दा किसानहरूलाई समेत समस्या हुने देखिएको छ । यति लामो समयसम्म हिउँ परेको छैन,’ अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालले बताए ।


हिमालहरूको लस्करै देखिने सुदूरका पहाडी जिल्लामा बाँकी रहेको हिउँ नै खाली हुँदा हिमालयको आकर्षण कुरुपतातिर मोडिएको छ । यसले यससँग जोडिएका व्यवसायीलाई निराश बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार