काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा लैजाने लक्ष्यमा सफलता प्राप्त भइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको बताएका छन् ।
मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रङ्गशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।
सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मक रूपमा कम गर्न नेपाल सफल रहेको र महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायलाई साथ दिँदै सुरक्षित रहन पनि उनले आग्रह गरेका छन् ।
समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’को यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।