• होमपेज
  • राजनीति
  • ओलीतिर खुले थापा, गौतम अनिर्णीत

ओलीतिर खुले थापा, गौतम अनिर्णीत

  • बिहिबार, पुस ९, २०७७
ओलीतिर खुले थापा, गौतम अनिर्णीत

काठमाडौं : सत्तारुढ दल नेकपामा विभाजन आए पनि सचिवालयकै दुई नेता उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा कतै खुलेका थिएनन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैले गौतम र थापालाई आआफूतिर तान्न निकै दौडधुप गरेका थिए। यद्यपि, मन्त्री थापा बुधबारदेखि प्रधानमन्त्री ओलीका पक्षमा खुलेका छन्।
थापाले बुधबार बिहान ओलीसँगको छलफलपछि आफू उक्त समूहतिर लाग्ने निर्णय लिएका हुन्। पूर्वमाओवादी धारका थापाले यससँगै दाहालसँगको लामो राजनीतिक सहयात्रा छाडेका छन्। यसले शीर्ष नेताहरू तहमै विगतको पार्टीको धार पनि भत्किएको छ। दाहालसँग एमाले धारका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेता छन्। ओलीतिर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायत पूर्वमाओवादी धारका नेता छन्।

मन्त्री थापाले बुधबारैै आफू ओलीतिर लाग्ने निर्णयमा पुगेको निकटका नेताहरूलाई सुनाएका थिए। ओलीले उनलाई आफूपछि दोस्रो नम्बरको नेता बनाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ।
उनले बुधबारै दाहालसँग खुमलटारमा भेट गरेका थिए। दिउँसो बानेश्वरमा पुनः दाहालसहितका नेतासँग छलफल गरेका थिए। तर, अन्तिममा उनले ओलीतिरै आफूलाई खुलाउने निर्णय गरेका हुन्।

एकता गर्दा नेकपा केन्द्रीय समितिमा थापा पक्षका ३४ केन्द्रीय सदस्य थिए। त्यसमध्ये थापासहित प्रदेश ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी, राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक) र केन्द्रीय सदस्य दावा लामा दुवैतिरका भेला र बैठकमा नगई बसेका थिए। थापाले बुधबार ती तीन नेतालाई मन्त्री क्वार्टरमै बोलाएर आफू ओलीतिर खुलेको र ओलीलाई वचन दिएर आएको जनकारी गराएका थिए। थापालाई ओलीतिर नखुल्न उनी पक्षका नेताहरूको चर्काे दबाब थियो। तर, ओलीतिरै खुलेपछि भने उनलाई तीन नेताले पनि साथ नदिने संकेत गरेका थिए। त्यसपछि थापा निवासमा बिदाइ भेट गरेर उनीहरू निस्केको स्रोतले बताएको छ।

उपाध्यक्ष गौतम भने अझै कतै खुलेका छैनन्। उनले अझै केही दिन तटस्थताकै नीति अख्तियार गर्ने र केही दिनपछि मात्र निर्णय लिने बताइरहेका छन्। बिहीबारको दुवै पक्षको बैठकमा पनि गौतम सहभागी नहुने भएका छन्। उनले अझै निर्णय नगरिसकेको उनीनिकट नेता केशवलाल श्रेष्ठले बताए। श्रेष्ठ भने दाहाल–नेपाल खेमामा लागेका छन्।
‘वामदेव कमरेडले अझै म सोचविचार गर्दै छु भन्नुभएको छ। बिहीबार हुने दुवै पक्षका केन्द्रीय समिति बैठकमा पनि उहाँले सहभागिता नजनाउने बताउनुभएको छ’, श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने।

ओली पक्षले देशभरका नेता–कार्यकर्तालाई आफूतिरै तान्न, संगठित बनाउन सातै प्रदेशमा प्रशिक्षणात्मक अभियान चलाउने निर्णय गरेको छ। उसले त्यसका लागि केन्द्रीय वक्ता पनि तय गरेको छ। बिहीबार बस्ने बैठकबाट संगठन विस्तार र निर्वाचन तयारीको एजेन्डामा केन्द्रित रही छलफल हुने प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
‘प्रधानमन्त्री तथा अध्यक्षले निर्देशनात्मक प्रशिक्षण दिनुहुन्छ। सातवटै प्रदेशमा प्रशिक्षण चलाउने हुन्छ। संगठन विस्तार र निर्वाचनको तयारीमा जुट्ने गरी अगाडि जाने हुन्छ’, ज्ञवालीले भने।
ओली पक्षले बुधबार पनि सातै प्रदेशबाट केन्द्रीय समितिमा मनोनीत नेताहरूलाई कार्यगत प्रशिक्षण राजधानीका विभिन्न पार्टी प्यालेसमा दिएको थियो। प्रदेश १ को भेला बत्तिसपुतली, प्रदेश २ को अनामनगर, बागमती प्रदेशको तीनकुने, गण्डकी प्रदेशको पुल्चोक, लुम्बिनी प्रदेशको नयाँ बानेश्वर, कर्णाली प्रदेशको सुकेधारा र सुदूरपश्चिम प्रदेशको कार्निभल रेस्टुरेन्टमा कार्यगत प्रशिक्षण ओली पक्षले आयोजना गरेको थियो।

प्रदेश १ को भेलामा सुवासचन्द्र नेम्बाङ, प्रदीप ज्ञवाली, मणि थापा र डा. शिवमाया तुम्बाहाङ्फे, प्रदेश २ को भेलामा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, बागमतीमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, गण्डकीमा टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनीमा विष्णु पौडेल, शंकर पोखरेल, मणि थापा र गोमा देवकोटाले प्रशिक्षण दिएका थिए। त्यस्तै, कर्णाली प्रदेशको भेलामा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे खटिएका थिए।

यी भेलामा निर्वाचनको तयारीमा जुट्ने, संगठन विस्तारमा लाग्ने गरी प्रशिक्षण दिइएको थियो। पार्टीमा विभाजनको अवस्था आउनुमा दाहाल र नेपाल बढी जिम्मेवार रहेको नेताहरूले बताएका थिए। सरकारलाई घेराबन्दीमा राखेर काम गर्न नदिएको बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन भएको विषय जनतालाई बुझाएर निर्वाचनको तयारी गर्नुपर्ने नेताहरूको भनाइ थियो।

महासचिव चयन गर्दै दाहाल–नेपाल
दाहाल–नेपाल पक्षले बिहीबारको केन्द्रीय समिति बैठकबाट महासचिवका विषयमा पनि छलफल गर्ने भएको छ। रिक्त पदपूर्तिको एजेन्डामा रहेर यो विषयमा छलफल गर्न लागेको जनाइएको छ। नेकपा महासचिव विष्णु पौडेल ओलीतिर लागेपछि यो पक्षसँग महासचिव पद रिक्त छ। महासचिवका लागि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, भीम रावल, वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी देखिएका छन्। ओलीलाई अध्यक्षबाट हटाई उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय यो समूहले मंगलबार निर्णय लिएको थियो। पार्टी बैठक सञ्चालनलगायत कामका लागि पनि यो समूहले बिहीबारको बैठकबाट महासचिव चयन गर्ने सम्भावना अधिक रहेको एक स्थायी समिति सदस्यले बताए।

वरिष्ठ नेता झलनाथ खनाल सुरेन्द्र पाण्डेलाई महासचिव बनाउनुपर्ने पक्षमा छन्। दाहालले एकीकृत हुँदा कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रस्ताव र त्यसमा ओलीले लेखेको जवाफी प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूची छ। त्यस अतिरिक्त दाहालले बिहीबारको बैठकमा ओलीले लेखेको ३८ पृष्ठको प्रस्तावको जवाफी प्रस्तावका रूपमा लेखेको ४० पृष्ठको प्रस्ताव पनि बिहीबार केन्द्रीय सदस्यलाई अध्ययनका लागि दिने तयारी छ। बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम पनि घोषणा गर्ने तयारी यो पक्षले गरेको छ।

चर्चामा

सम्बन्धित समाचार