काठमाडौ — प्रदेशसभा एककी सदस्य उषाकला राईले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेकी छिन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत् केन्द्रीय कमिटी सदस्य फिर्ता गरेको जानकारी दिएकी हुन् ।
“यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केहि होइन जनताको दुई पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ । सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइ रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ, उनले भनेकी छिन्, “यो बिचको विकसित राजनितिक परिघट्नामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु । तर मेरो ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रिय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।”
ओलीले मंगलवार केन्द्रीय कमिटी विस्तार गरेका थिए । केन्द्रीय सदस्य बनाएका अरु केही नेताहरुले पनि अस्वीकारको घोषणा गरिसकेका छन् ।