बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ६
  • हेलिकोप्टरमा डोजर लगेर हुम्लामा बाटो

हेलिकोप्टरमा डोजर लगेर हुम्लामा बाटो

  • बिहिबार, पुस ९, २०७७
हेलिकोप्टरमा डोजर लगेर हुम्लामा बाटो

कविराज कार्की हुम्लाको सर्केगाड गाउँपालिकामा वीरगन्जदेखि डोजर लगेर सडकको ट्र्याक खोलिएको छ । नागाडखोलादेखि गुसाँसम्मको १५ सय मिटर ट्र्याक खोलिएको हो ।

चट्टानी भिरबीचको गोरेटो बाटोलाई चार मिटर चौडा बनाइएको छ । पैदलयात्रासमेत गर्न मुस्किल हुने बाटो फराकिलो भएपछि अहिले सर्वसाधारणलाई आउजाउमा सहज भएको छ । यहाँबाट सदरमुकाम पुग्‍न तीन दिनको पैदलयात्रा तय गर्नुपर्छ । सञ्चारको पहुँच पुगेको छैन ।

यस्तोमा गाउँकै बासिन्दासमेत रहेका पाराडिसो कन्स्ट्रक्सन कम्पनी प्रालिका निर्माण व्यवसायी पारस धामीले बाटो बनाउने ठेक्का पाएका थिए । ०७६ जेठ ३१ गते कर्णाली प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयबाट एक करोड ३५ लाख रुपैयाँ ठेक्का सम्झौता भयो । त्यसपछि बाटो बनाउने काम सुरु भएको हो ।

पहिलो चरणमा नागाडखोलादेखि गुसाँसम्मको १५ सय मिटर ट्र्याक खोलेको धामीले बताए । ‘सम्झौताअनुसारै समयमै ट्र्याक खोल्ने काम सकाएका छौं,’’ उनले भने, ‘‘ढुंगा-माटो मात्रै नभइ चट्टान धेरै भएको खण्ड हो यो । सल्लाका धेरै ठुल्ठूला रुखहरु पनि थिए ।’’

मानिस हिँड्न मिल्नेमात्रै सानो भिरको गोरेटो बाटो थियो । अहिले चार मिटर चौडाइ भएको कच्ची बाटो बनेको छ । बाटो बनेसँगै स्थानीय बासिन्दा खुसी भएका छन् ।

गुसाँका बासिन्दा नरबहादुर फडेराका अनुसार पहिला भिरको बाटो अत्यन्तै जोखिम थियो । घोडा-खच्चड हिँड्ने बाटो थिएन । बर्खाको समयमा स्थानीयलाई हिँड्न थप सकस हुन्थ्यो ।

उनी भन्छन्, “गुसाँमा उत्पादन भएको आलु, सिमी, मुलालगायत तरकारीका भारी बजारसम्म पुर्‍याउन गाह्रो पर्थ्यो । बाटो बनेदेखि सहज भएको छ ।” घोडा-खच्चड हुनेले पनि बाटो नहुँदा प्रयोग गर्न पाएका थिएनन् । अब सजिलै घोडा-खच्चडमा सामान ल्याउन मिल्ने भएको छ ।

पाराडिसो कन्ट्रक्सनले वीरगन्जदेखि मुगुको गमगढीसम्म टिपरमा डोजर लगेको थियो । मुगुदेखि हुम्लासम्म गाडी गुड्ने सडक नहुँदा डोजर हेलिकोप्टरमा लैजानु परेको हो ।

मुगुदेखि नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा सर्केगाड गाउँपालिकाको नागाडमा डोजर लगियो । मुगुबाट हेलिकोप्टरमा सात टिप गरी डोजर नागाड झारिएको हो । हेलिकोप्टरबाट एउटा सिंगै डोजर एकै टिपमा लैजान नमिल्दा डोजरको विभिन्न भाग अलग-अलग गरी लगिएको थियो ।

निर्माणस्थलमा डोजर जडान गर्न १५ जनाको टोली वीरगन्जबाटै गएको थियो । जडान खर्च मात्रै करिब १५ लाख रुपैयाँ लागेको बताइएको छ ।

२५ वर्षीय निर्माण व्यवसायी धामी भन्छन्, ‘‘सानोमा मलाई गाउँको विकास नभएको देखेर अच्चम लागेर आउँथ्यो । ठूलो भएपछि आफैँ बनाउनेबारे सोच्न थालेँ । सीए पढ्न काठमाडौं छिरेँ । अहिले आफैँले बाटो खन्ने जिम्मा पाएँ ।’’

यस ठाउँमा बाटो बनाउने ठेक्का पाए पनि कतिपयले डोजर नहुँदा काम सुरु गर्न नसकेको उनको भनाइ छ । खच्चादेखि जैरसम्मको एक करोड सम्झौताको टेन्डर पनि वर्षौंदेखि अन्योलमा परेको उनले सुनाए ।

‘यस्ताखालका कैयौँ टेन्डर माटोमा मिसिएर गएका छन् । भौगोलिक विकटताका कारण समयमै कच्चापदार्थ पाउन पनि गाह्रो छ,’’ उनले भने ।

काम नगर्ने अरु निर्माण व्यवसायीलाई पाराडिसोको कामले चुनौती दिएको सर्केगाड ३ का वडाध्यक्ष गजबहादुर रावत बताउँछन् । पाराडिसो कन्स्ट्रक्सनका धामी भन्छन्, ‘‘आफ्नै गाउँ हो, हुम्लाले अहिलेसम्म विकासको गति लिन सकेको छैन । विकासले गति लिन नसकेको देख्दा सरकारले सौतेनी व्यवहार गरेकोजस्तो लाग्छ । यदि, प्रदेश सरकारले बजेट छुट्ट्याए पनि गाउँपालिकाकै मिलेमतोमा हिनामिना हुन्छ । यसमा सरकारको ध्यान जाओस् ।’’

उनलाई परेको ठेक्काबाट नाफामा आएको रकमले बाँकी गुसाँदेखि जैर-तुम्चसम्मको सडकको ट्र्याक खोल्ने योजना पनि धामीले बनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार