जिल्लाको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले नियम विपरीत लिखित अनुमति दिएर नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको पाइएको छ । त्यसरी अनुमति दिएर अवैध रुपमा उत्खनन् गर्न दिइएको नदीजन्य पदार्थ मेयर गुप्ताको आफ्नै इँट्टा उद्योगको प्रयोगका लागि हो । रामग्राम नगरपालिका वडा नम्बर १ सण्डामा सञ्चालनमा रहेको शिव शंकर इट्टा उद्योगको नाममा ५ हजार घनफिट (५० ट्याक्टर) भस्कट ( माटो र बालुवा मिसिएको पाँगो) खोलाबाट निकासी गर्न अनुमति दिनुभएको हो ।
ढुंगा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थपनसम्बन्धी मापदण्ड २०७७ विपरीत गुप्ताले ठेक्का नै नगलागेको रामग्राम–१ सण्डास्थित झरही खोलाबाट २० दिनसम्म ३ वटा ट्याक्टरबाट नदीजन्य पदार्थ निकासी गर्न अनुमति दिएका हुन् ।
मेयर गुप्ताले नगरपालिकाको लेटर प्याडमा हस्ताक्षर गरी मंसिर १० देखि ३० गतेसम्म निकासीका लागि अनुमति दिइएको ट्याक्टरले दैनिक २० देखि २५ टाली भन्दाबढी नदीजन्य पदार्थ उद्योगमा पु¥याउने गरेको स्थानीयले बताएका छन् ।
काँचो इट्टाका लागि भस्कट प्रयोग गर्ने गरिन्छ । उद्योगलाई अनुमति दिएका मेयर गुप्ताले भने स्थानीयलाई नदीजन्य पदार्थ निकासीका लागि अनुमति माग्न जाँदा दिन नमिल्ने भन्दै फर्काइ दिने गरेको स्थानीय बृजेन्द्र कुमार गुप्ताले बताउनुभयो ।
’गाउँमा घर बनाएकाहरुले जग पुर्नका लागि भस्कट माग्दा नियमले मिल्दैन भन्दै मेयरले फर्काउने गरेका छन् । आफ्नो उद्योगमा भने दैनिक रुपमा टेक्टरले बोकी रहेका छन्, ’बृजेन्द्रले भन्नुभयो ।
नगर क्षेत्रमा ३ वटा खोला छन् । बञ्जरियास्थित तुरिया खोला बाहेक झरही र भलुही खोलाको ठेक्का नलागेको नगरपालिकाले जनाएको छ । नदीजन्य पदार्थ उत्खनन्का लागि कसैलाई पनि अनुमति दिने भनेर कार्यपालिकाबाट समेत निर्णय नभएको अनुगमन समितिका संयोजक एंव उपप्रमुख रम्भा कुँवरले बताउनुभयो ।
जिल्ला अनुगमन समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले स्थानीय तह आफैले त्यसरी नदीजन्य पदार्थ निकासीका लागि अनुमति दिन नमिल्ने बताउनुभयो । अन्नपूण पोष्ट