• होमपेज
  • राजनीति
  • सुदुरपश्चिम प्रदेश : नेकपामा केन्द्रको किचलो प्रदेशमा सर्दै

सुदुरपश्चिम प्रदेश : नेकपामा केन्द्रको किचलो प्रदेशमा सर्दै

  • सोमवार, मंसिर २२, २०७७
सुदुरपश्चिम प्रदेश : नेकपामा केन्द्रको किचलो प्रदेशमा सर्दै

सुदुरपश्चिम प्रदेशमा डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य त्रिलोचन भट्टलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा नेता लेखराज भट्टले मुख्यमन्त्री बनाएको चर्चा अझै सेलाएको छैन ।

तर, आज तिनै मुख्यमन्त्री भट्ट र नेता भट्टवीच त्यति सुमधुर सम्बन्ध छैन । यसको कारण हो, नेकपामा तयार भएको नयाँ समीकरण । पछिल्लो समय लेखराज भट्ट ओलीतर्फ निकट देखिएपछि मुख्यमन्त्री भट्ट रावल र दाहाल निकट देखिएका छन् । ‘अहिले अति आवश्यक कामबाहेक मुख्यमन्त्री भट्ट र नेता भट्टवीच सम्पर्क हुँदैन’ नेकपामा एक नेताले भने ।

केही समयअघि प्रदेश कमिटीको एक औपचारिक बैठकमा नेता भट्टले प्रदेश सरकारको समीक्षा गर्नुपर्ने र परिवर्तनै विषय उठान गरेका थिए ।

सुदुरपश्चिम प्रदेशमा इञ्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य भीम रावलले त्यो विषय एजेन्डामा नरहेको बताएपछि भट्ट र रावलवीच तिक्तता सुरु भयो । उता त्यही घटनापछि मुख्यमन्त्री रावल निकट हुन पुगे ।

मुख्यमन्त्रीको सचिवालय पनि यस विषयलाई नकार्न सक्दैन । ‘त्यो बैठकमा म पनि थिएँ’ मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले भने, ‘लेखराज सरले समीक्षा मात्रै होइन, परिवर्तन नै गर्ने विषय उठान गर्नुभयो ।’

तत्कालीन माओवादी केन्द्रको इन्चार्ज हुँदा लेखराज भट्टले नै प्रस्ताव गरेका मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार परिवर्तन गर्ने प्रस्तावले पनि दुईवीच खटपटीको कडी बन्यो । प्रदेश कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री भट्टका प्रमुख स्वकिय ओलीले लेखराज भट्टले प्रचण्डभन्दा बढी ओलीलाई साथ दिन थालेपछि सुदूरपश्चिम प्रदेशका अधिकांश केन्द्रीय सदस्यहरू यस विषयमा सन्तुष्ट नभएको बताए ।

नेकपाको एक प्रदेश कमिटी सदस्यले केन्द्रीय स्तरमा भएको विवादको व्याज प्रदेश सरकारले खाइरहेको बताए । ‘केन्द्रमा यो विवाद नभएको भए प्रदेश सरकार फेरिने थियो’ उनले भने ‘यो विवादले सुदूरपश्चिम प्रदेश सरकारलाई भने लाभ भएको छ । ’

उसो त केन्द्रमा मतभेद सुरु हुनुभन्दा अघि नै तत्कालीन एमालेमा नेपाल र ओली गुट प्रष्ट देखिएको सुदूर पश्चिम प्रदेशमा अहिले नेपाल प्रचण्ड समूह र ओली समूह देखिएका छन् ।

५३ जना प्रदेशसभा रहेको सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट १४ जना सांसद छन् । ३९ जना प्रदेश सभा सदस्यमध्ये अहिले अधिकांश नेपाल–प्रचण्ड खेमाका छन् ।

केन्द्रको किचलो प्रदेश सरकारका मात्रै होइन, स्थानीय तहको सरकार र पाटी पंतिमा पनि परेको छ । दुबै पार्टीबाट निर्वाचित भएकाहरू मात्रै होइन, एउटै पार्टीबाटै निर्वाचित भएका तर, गुट फरक परेका स्थानीय तहमा समन्वय अभाव खड्किएको देखिन्छ ।

‘अहिले कैलालीका धेरै स्थानीय तहमा प्रमुख र उपप्रमुखवीच विवाद चर्किरहेको छ’ जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्य थापा भन्छन् ‘यसमा गुटको पनि समस्या छ हामीले पटक–पटक समन्वय गरिरहेका छौँ ।’

पार्टीभित्र पनि विवाद चर्किँदै जाँदा सरकारमा मात्रै होइन, तल्लो तहसम्मको पार्टी पंक्तिमा पनि समस्या देखिएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सदस्य नारदमुनि राना केन्द्रमा जस्तो विवाद जिल्लामा नदेखिए पनि भित्रभित्रै विवाद बढ्दै गइरहेको बताउँछन् । ‘गुटबन्दीको विवाद अहिले सतहमा आएको छैन’ कैलालीका सह–इन्चार्जसमेत रहेका राना भन्छन् ‘तर, भित्रभित्रै समस्या बढिरहेको छ ।’ अनलाइन खवरले तयार पारेकाे सातै प्रदेशमा के छ नेकपाको हालखबर ? काे एक अशंबाट 

चर्चामा

सम्बन्धित समाचार