शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • भारतबाट हतियार ल्याएर बिक्री गर्ने व्यक्ति पक्राउ

भारतबाट हतियार ल्याएर बिक्री गर्ने व्यक्ति पक्राउ

  • शनिबार, मंसिर २०, २०७७
भारतबाट हतियार ल्याएर बिक्री गर्ने व्यक्ति पक्राउ

विराटनगर : भारतबाट हतियार नेपाल भित्र्याएर बिक्री गर्ने गरेको भन्दै एक जनालाई मोरङको सुनवर्षीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल पनि फेला परेको छ ।
सुनवर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार मण्डल झुँगी चोकबाट पक्राउ परेको पुष्टि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गरे । शुक्रबार दिउँसो पक्राउ परेका मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद भएको जानकारी राईले दिए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार एउटा होटलमा मदिरा सेवनका लागि बसेका मण्डलले कम्मरमा भिरेको पेस्तोल स्थानीयले देखेका हुन् । कम्मरमा हतियार देखेर स्थानीय बासिन्दाले खवर गर्ने वित्तिकै परिचालित प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको जानकारी उनले दिए ।

उनका अनुसार पक्राउ गरेर अनुसन्धान थालेपछि उनले बिक्रीका लागि पेस्तोल भारतको भागलपुरतिरबाट ल्याएको खुलेको छ । पक्राउ परेका मण्डलले भने कसलाई बिक्रीका लागि पेस्तोल ल्याएको हो भन्ने खुलाएका छैनन् । उनको साथबाट बरामद भएको मोबाइलको कल डिटेल्सका आधारमा हतियार किन्न खोज्ने व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको एसपी खड्काले बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट खुलेका विवरण, पक्राउ परेका व्यक्तिबाट प्राप्त सूचना र उनको कनेक्सनका आधारमा हतियार खरिद गर्नेसम्म पुग्न प्रहरीले प्रयास गरिरहेको छ । पक्राउ परेका व्यक्तिले भने पैसा कमाउनका लागि भागलपुरबाट ल्याएर हतियार महँगोमा बिक्री गर्ने गरेको प्रहरीलाई बताएका छन् । उनले कतिमा हतियार खरिद गर्थे र नेपाल ल्याएर कति रुपैयाँमा बिक्री गर्थे भन्ने बारेमा खुल्न बाँकी रहेको एसपी खड्काको भनाइ छ ।

मण्डलको विगतको पृष्टभूमि हेर्दा पनि हतियारको कारोबारसँगै जोडिएको उनले बताए । मण्डल सात वर्षअघि हतियारसहित पक्राउ परेको प्रहरी दाबी छ । यसअघि हतियारसहित पक्राउ परेका उनी जेल सजाय भुक्तान गरेर छुटेको र पुनः हतियारकै कारोबारमा संलग्न भएको प्रहरीको भनाइ छ । प्रहरीले शनिबार सार्वजनिक विदा भएकाले उनी कति वर्ष जेल गएका हुन् र अदालतले कहिले दोषी ठहर गरेको हो भन्ने बारेमा खुल्न नसकेको बताएको छ ।

हतियारसहित पक्राउ परेपछि अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको र सजाय भुक्तान गरेर मण्डल छुटेको पाइएको एसपी खड्काले बताए । तर कहिले र कति वर्ष जेल बसेर छुटेका हुन् भन्ने बारेमा यकिन हुन बाँकी रहेको उनको भनाइ छ । विगतको पृष्टभूमिको अध्ययन गर्दा पनि उनी हतियारका कारोबारी भएको पुष्टि हुने प्रहरी दाबी छ ।

‘विगतदेखिनै भागलपुरतिरबाट लुकाईछिपाई हतियार नेपाल ल्याउने गरेको पाइयो,’ एसपी खड्काले भने, ‘नेपाल भित्राएपछि विभिन्न अपराधमा संलग्न व्यक्ति र समूहलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ मण्डलबाट पेस्तोल खरिद गर्नेहरुले नेपालमा अपराधिक गतिविधी सञ्चालन गर्ने गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–५ बाट हतियारसहित पक्राउ परेका राजकुमार मण्डल र उनको साथबाट प्रहरीले बरामद गरेको पेस्तोल, गोली तथा नगद र मोबाइल ।

चर्चामा

सम्बन्धित समाचार