बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नम्रता र विपीनको ‘प्रसाद’

नम्रता र विपीनको ‘प्रसाद’

  • शनिबार, मंसिर ६, २०७७
नम्रता र विपीनको ‘प्रसाद’

बाबुराम परियार (विपीन कार्की) र नारायणी (नम्रता श्रेष्ठ) को अन्तरजातीय प्रेमले उनीहरूलाई गाउँमा बस्न दिँदैन। नयाँ र सुखद भविष्यको खोजीमा उनीहरू काठमाडौं आउँछन्।

बाबुराम लुगा सिउने र रेस्टुरेन्टमा दोहोरी गाएर घरव्यवहार चलाउनेसम्मको कमाइ गर्न सक्ने हुन्छन्। पढे-लेखेकी नारायणी केटाकेटीहरूलाई पढाउने काम गर्छिन्। यो दम्पती सुखी नै हुन्छ।

तर बाबुरामको बच्चैदेखिको साथी रमेश (निश्चल बस्नेत) को उपस्थिति र बाबुराम र नारायणीको प्रेममा भाँजो हाल्ने कारण बन्छ।

यी तीन पात्रको वरिपरि घुम्ने फिल्मको केन्द्रमा भने सन्तान सुखको विषय छ। बाबुरामले डाक्टर मार्फत आफू सन्तानको बुबा बन्न नसक्ने थाहा पाएपछि सन्तान जन्माउने वैकल्पिक उपाय सोचिरहेका नारायणी गर्भवती हुन्छिन्। आफ्नी श्रीमतीको पेटमा अरूको बच्चा हुर्किरहेको थाहा पाएपछि बाबुरामलाई भाउन्न छुट्छ।

एक अर्कालाई असाध्यै माया गर्ने उनीहरू प्रेम र जीवनमा आउने संकट क्रमशः उत्कर्षमा पुग्छ। त्यो संकट के हो र त्यसको अन्त कहाँ गएर हुन्छ भनेर थाहा पाउन पूरा फिल्म हेर्नु होला।

यति चाहिँ भन्नै पर्छ, यो फिल्मको अन्त तपाईंलाई मन नपर्न पनि सक्छ। धेरै समीक्षकले प्रसाद फिल्मको अन्त र फिल्मले दर्शकमा छाड्ने प्रभाव वा सन्देशबारे आलोचना गरिसकेका छन्।

मिडियामा प्रशस्तै विवाद र बहस निम्त्याएको यो फिल्म हिजो मात्रै युट्युबमा हेर्न पाइने भएको हो।

वैचारिक र आधारभूत केही कुरामा चुकेको भए पनि दलित मुख्य पात्रको कथा भन्ने ‘प्रसाद’मा राम्रो सिनेमामा हुने धेरै राम्रा पक्ष छन्। बाबुरामले सहरमा परम्परागत सीपकै आधारमा लुगा सिलाएर वा गाएर जीवन पाल्ने कुरा अर्थपूर्ण छ।

चरित्र चित्रणमा पनि फिल्म सफल छ। यसमा विपीन, नम्रता र निश्चल आफ्नो भूमिकामा सुहाएका छ। काठमाडौं बाहिरबाट आएका पात्रको लवज फरक देखाउन पनि फिल्ममा ध्यान दिइएको छ।

विपीन कार्की सधैं राम्रो अभिनय गर्ने कलाकार हुन्। प्रसाद हेरून्जेल उनी विपीन कम र बाबुराम परियार बढी लाग्छन्।

काठमाडौं आएर संघर्ष गर्ने क्रममा कोठा खोज्नेदेखि जागिर पाउनेसम्मका संघर्ष साझा भोगाइ हो। विवाह गरेर सन्तान नहुने दम्पतीका दुःख पनि अपवादले मात्र भोग्ने भोगाइ होइन।

त्यसैले सामान्य ग्रामिण पृष्ठभूमिका बाबुराम र नारायणीको कथा धेरैको कथासँग नजिक लाग्छ। आममान्छेसँग नजिकका यी पात्रको सादगी र संवाद काल्पनिक कम र जीवन्त बढी छ।

‘प्रसाद’को पटकथा फिल्म समीक्षा र फिल्मसम्बन्धी रिपोर्टिङ पृष्ठभूमिबाट आएका सुशील पौडेलले लेखेका हुन्। निर्देशक दिनेश राउतको यो फिल्मको सिक्वलसमेत बन्ने तयारी भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार