शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • आगामी जाडो यामसम्म जनजीवन सामान्य हुने कोरोना भ्याक्सिन निर्माताको अनुमान

आगामी जाडो यामसम्म जनजीवन सामान्य हुने कोरोना भ्याक्सिन निर्माताको अनुमान

  • सोमवार, मंसिर १, २०७७
आगामी जाडो यामसम्म जनजीवन सामान्य हुने कोरोना भ्याक्सिन निर्माताको अनुमान

एजेन्सी । कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनले आगामी गृष्म याममा ठूलो प्रभाव देखाउने र अर्को वर्ष जाडो सुरु हुुँदासम्म जनजीवन सामान्य अवस्थामा फर्कनसक्ने बायोनटेक कम्पनीका सहसंस्थापक उगुर साहिनले बताएका छन् । जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले मिलेर तयार गरेको जाब नामक नयाँ भ्याक्सिनले तेस्रो चरणको परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारिता देखाएको छ, यस परीक्षणमा झन्डै ४३ हजार मानिसहरु सहभागी थिए । साहिनले कोरोनाको फैलावटमा कमी आउने र संक्रमित संख्या नाटकीय रुपमा कम हुने आशा पनि व्यक्त गरेका छन् ।

बीबीसी वानका एन्ड्रियु मारसँगको अन्तर्वार्तामा प्रोफेसर साहिनले कोरोनाको फैलावट यस भ्याक्सिनले कम गर्ने विश्वास रहेको बताए । ‘म धेरै विश्वस्त छुकि मानिसहरुबीच कोरोनाको फैलावटलाई यस्तो अति प्रभावकारी भ्याक्सिनले कम गर्नेछ, ९० प्रतिशतले नहुनसक्छ तर ५० प्रतिशतले हुनसक्छ । तर हामीले यो बिर्सन हुन्न् कि यतिले पनि महामारीको फैलावटमा नाटकीय कमी ल्याउनसक्छ’ उनले भनेका छन् । ६ वटा देशमा परीक्षण गरिएको जाब भ्याक्सिनका दुुई डोज तीन साताको अन्तरमा परीक्षण सहभागीहरुलाई लगाइएको थियो ।

बेलायतले यसै वर्षको अन्त्यसम्म १ करोड जाब डोज भ्याक्सिन पाउने अपेक्षा गरिएको छ, थप ३ करोड डोजका लागि पनि बेलायतले अहिल्यै अर्डर गरिसकेको छ । बीबीसीका अनुसार वृद्धवृद्धा र केयर होम्समा काम गर्ने कर्मचारी प्राथमिकतामा पर्न सक्छन् । यसअघि जाब भ्याक्सिनको प्रभावकारिता बारेको समाचार गत सोमबार सार्वजनिक भएलगत्तै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक सर जोन बेलले आगामी वसन्तसम्म जनजीवन सामान्य अवस्थामा फर्कनसक्ने विश्वास व्यक्त गरेका थिए । ‘म सायद यस्तो भन्ने पहिलो व्यक्ति हुनसक्छु । तर, मैले केही विश्वासका आधारमा यस्तो भनेको छु,’ उनले दाबी गरेका थिए । यद्यपि, प्रोफेसर साहिनले यो अवस्था लामो हुने बताएका छन् । ‘यदि सबै कुुरा यसरी नै राम्रो चल्यो भने यसै वर्षको अन्त्यसम्म भ्याक्सिन वितरण सुरु हुन्छ,’ साहिनले भनेका छन् ।

आगामी अप्रिलसम्म विश्वव्यापी रुपमा ३० करोडभन्दा धेरै डोज भ्याक्सिन वितरण गर्ने लक्ष्य रहेको उनले बताएका छन् । साहिनका अनुसार भ्याक्सिनको प्रभावको यो सुरुवातमात्रै हुनेछ । उनका अनुसार ठूलो प्रभाव केहीपछि मात्रै देखिनेछ । ‘गर्मीयामले हामीलाई सहयोग गर्नेछ किनकि यस समय संक्रमण दर कम गर्नेछ र यसकारण यो निकै महत्वपूर्ण छ किनकि हामीले आगामी जाडोयाम अघि धेरैलाई भ्याक्सिन लगाएका हुनेछौं ।’

चर्चामा

सम्बन्धित समाचार