बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बैतडी दुर्घटना : आफन्तले विमलालाई सुनाउन सकेका छैनन्– ‘तिम्रा श्रीमान् रहेनन् !’

बैतडी दुर्घटना : आफन्तले विमलालाई सुनाउन सकेका छैनन्– ‘तिम्रा श्रीमान् रहेनन् !’

घाइते चालक भन्छन्, ‘अचानक स्टेयरिङ अड्कियो, बायाँ मोड्न नपाउँदा बस भिरबाट खस्यो ।’

  • शुक्रबार, कार्तिक २८, २०७७
बैतडी दुर्घटना : आफन्तले विमलालाई सुनाउन सकेका छैनन्– ‘तिम्रा श्रीमान् रहेनन् !’

धनगढी — बैतडीको पाटनमा केही बेर रोकिएपछि बस खोड्पेको उकालो चढ्न थाल्यो । राति दस बज्नै लागेको थियो । यात्रु कोही सिटमै निदाउँदै त कोही झकाउँदै थिए । २ नम्बर सिटमा बसेका २० वर्षे पुरन टमाटा एयर फोन लगाएर गीत सुनिरहेका थिए । अचानक बस गड्याङ–गुडुङ गर्न थाल्यो । उनले आँखा खोले, बस भिरबाट खस्दै थियो । गुल्टिँदै गरेको बसबाट कतिखेर बाहिर आइपुगे, उनले पत्तै पाएनन् । उनी भिरमा अड्किएका थिए ।

‘आफूलाई हेरेँ, ठिकै छु जस्तो लाग्यो अनि झुरुक्क उठेँ,’ उनले भने, ‘गोजी छामेँ, मोबाइल त्यहीँ रहेछ । कसलाई फोन गरौं, एकछिन अलमलिएँ । तुरुन्तै पुलिसको सय नम्बर डायल गरेँ ।’ केही बेरमै बैतडी पुलिस घटनास्थल आइपुग्यो । त्यति बेलासम्म टमाटा सडकमा उक्लिसकेका थिए । उनको टाउकोमा समान्य चोट लागेको छ । उनलाई अहिले सिटीस्क्यानका लागि धनगढी माया मेट्रो अस्पतालमा ल्याइएको छ । बुबाको निधन भएकाले गत असोजमा घर आएका उनी काठमाडौं फर्कंदै थिए ।

बैतडीको दुर्गम बस्ती दोगकेदार गाउँपालिकाको सेलनीकी २४ वर्षीया विमला कुँवरले पनि होस खुल्दा आफूलाई भिरालो जमिनमा पाइन् । पतिसँग माइतीघर कञ्चनपुरको बेलौरी आउँदै गरेकी उनी निदाउने सुरसारमा थिइन् । काखमा डेढवर्षे बच्चा दूध चुसिरहेको थियो । बस कतिखेर खस्यो, उनले पत्तै पाइनन् । होस खुलेपछि उनले वरिपरि हेरिन् । बच्चा नजिकै रोइरहेको थियो । उसको टाउकोबाट रगत बगिरहेको थियो । उसलाई झटपट काखमा च्यापिन् । अनि पतिलाई खोज्न थालिन् । घटनास्थलमा कोलाहल मच्चिरहेको थियो । घाइतेहरू रोइ–कराइ गरिरहेका थिए ।

केही बेरमा उद्धार टोली आएर विमलालाई सडकसम्म ल्यायो । अहिले उनीसँगै बच्चालाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल ल्याइएको छ । अस्पतालको शय्याबाटै उनी ‘मेरो श्रीमान् खोइ’ भन्दै खोधखोज गरिरहेकी छन् । तर, उनलाई आफन्तले भन्न सकेका छैनन्– श्रीमान् करनसिंह ऐडीको घटनास्थलमै मृत्यु भइसकेको छ ।

आफन्तका अनुसार करनसिंहको शव विमला अड्किएको ठाउँभन्दा करिब २ सय मिटर पर भेटिएको थियो । उनी बसमुनि च्यापिएका थिए । विमलाका अनुसार बसमा खराबी आएको भनेर केही बेर पाटनमा रोकिएको पनि थियो । त्यसको केही समयपछि नै दुर्घटना भएको हो । ‘तिहार माइती घरमा मनाएर काठमाडौं बस्ने गरी आउँदै थियौं,’ उनले भनिन्, ‘लोकसेवाको तयारीसँगै जागिर पनि खोज्ने श्रीमान्‌को योजना थियो ।’

बसचालक वीरेन्द्र कार्की आफू पनि घाइते छन् । गाडीमा पहिले कुनै खराबी नदेखिएको तर एक्कासि ‘स्टेयरिङ’ अड्किएर बायाँ मोड्न नपाउँदा भिरबाट खसेको उनले बताए । ‘उकालोमा दायाँ भिरको मोडबाट गाडीलाई बायाँतिर मोड्न सकिएन,’ उनले भने, ‘गाडी पल्टिन पुग्यो ।’ उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति १० बजे भएको उक्त दुर्घटनाका घाइतेमध्ये सात जनालाई मायामेट्रो अस्पताल ल्याइएको छ । बसभित्रबाट निस्कन नपाएकाहरूलाई बढी चोट लागेको छ । दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । ४३ जना घाइते भएका छन् । ना५ख ५१४१ नम्बरको उक्त बस बैतडीबाट महेन्द्रनगरका लागि आउँदै थियो । #साभार कान्तिपुर

चर्चामा

सम्बन्धित समाचार