बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘छक्का-पन्जा’ मा अब नयाँ टिम, जितु नेपाल नदेखिने!

‘छक्का-पन्जा’ मा अब नयाँ टिम, जितु नेपाल नदेखिने!

दीपक र जितु भन्छन्- हामीबीच झगडा भएको होइन

  • सोमवार, कार्तिक १७, २०७७
‘छक्का-पन्जा’ मा अब नयाँ टिम, जितु नेपाल नदेखिने!

‘छक्का-पन्जा’ फिल्मले आफ्नो नयाँ टोली विस्तार गर्ने भएको छ। हाँस्य विधाका फिल्महरू निर्माण गर्दै आएको यो टोलीमा अहिले दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), शिवहरि पौडेल लगायत कलाकार छन्।

तर अब यो टोलीबाट निर्माण हुने केही फिल्ममा जितु नेपाल नदेखिने भएका छन्। फिल्ममा उनी देखा नपर्ने विषयमा भने विभिन्न टिप्पणी बाहिरिएको छ। जितुले छक्का-पन्जा छाडेको, अब उनी भविष्यमा यो टोलीसँग देखा नपर्ने जस्ता भनाइ छन्। तर जितु र दीपक दुवैका अनुसार यस प्रकारको आधिकारिक निर्णय भने भएको छैन।

‘हामीले आधिकारिक रूपमा यसबारे कुरा गरेका छैनौं। विभिन्न विषयलाई आधार बनाउँदै बजारमा हल्ला फैलिएको हो,’ जितुले सेतोपाटीसँग कुराकानीमा भने। उनका अनुसार उनले छक्का-पन्जा टोली छाड्ने कुनै कुरा भएको छैन।

पछिल्लो समय जितुले सञ्चालन गर्दै आएको कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ का अध्यक्ष दीपाश्री निरौला हटेर नायिका करिश्मा मानन्धर भएसँगै जितु र छक्का-पन्जा टोलीबिच खटपट रहेको समाचार बाहिरिएका छन्। तर यसमा कुनै सत्यता नरहेको जितुको भनाइ छ।

‘मुन्द्रेको कमेडी क्लब’ टोली, दीपाश्री र जितुबीचको सहमतिमै दीपाको अध्यक्षता हटाइएको जितु बताउँछन्। त्यसपछि नै सिजन-२ का लागि करिश्मालाई प्रस्ताव राखिएको उनले बताए। कार्यक्रमका अपरेसनल निर्देशक सर्वेश रिजाल आफैंले दीपाश्रीसँग कुरा गरेर कार्यक्रमको अध्यक्ष फेर्ने निधो गरिएको जितुले जानकारी दिए।

जितु छक्का-पन्जा टोलीबाट बाहिरिएको भन्नेमा टोलीबीच भएको पछिल्लो भेटवार्तालाई पनि विषय बनाइएको छ। पछिल्लो समय ‘छ माया छपक्कै’ टोलीको भेटवार्तामा जितुको उपस्थिति थिएन। यसमा जितु भन्छन्, ‘पछिल्लो समयको भेटवार्तामा म समावेश थिइनँ। मलाई खबर पनि आएको थिएन।’

तर यसैलाई छक्का-पन्जा छाड्नुको कारण मान्न नमिल्ने उनी बताउँछन्। उक्त भेटवार्ता क्रम ‘छ माया छपक्कै’ फिल्मका निर्माता रोहित अधिकारीले केदारप्रसाद घिमिरेलाई आइफोन दिएको विषय पनि जोड दिँदै बाहिरिएको छ। यसमा दीपकले स्पष्टीकरण दिँदै भने, ‘फिल्मको सुटिङमा केदारले फिल्म ब्लकबस्टर हुन्छ भन्थे। यसमा रोहितजीले पनि जिस्किँदै फिल्म ब्लकबस्टर भए केदारलाई आइफोन दिन्छु भन्नुभएको थियो। त्यसैले पछिल्लो समय भेट्दा दिनुभयो।’

निर्माता रोहितले केदारलाई आइफोन-१२ दिएका हुन्। त्यही भेटवार्ता क्रममै ‘छ माया छपक्कै-२’ बन्ने कुरा सार्वजनिक भएको हो। यो फिल्ममा भने जितुको भूमिका रहने छैन।

‘फेरि त्यही विषयलाई आधार मानेर हामीबीच झगडा भएको भन्न मिल्दैन,’ दीपकले भने, ‘हामीले छक्का पन्जालाई अझ ठूलो टोली बनाउन खोजेका हौं। त्यसैले नयाँ कलाकारलाई पनि समावेश गर्ने भन्ने हो।’

दीपकका अनुसार अहिलेको समय टोली जति विस्तार गर्‍यो उत्ति नै भविष्यमा सहज हुनेछ। त्यसैले नयाँ कलाकारलाई फिल्ममा लिन लागेका हुन्। छक्का पन्जाले बनाउने फिल्ममा शिवहरि पौडेल, विल्सन बिक्रम र निर्मल शर्मालाई देख्न सकिने उनको भनाइ छ।

त्यसैले सामाजिक सञ्जालमा जितुले छक्का पन्जा टोली छाडेको भन्ने विषयलाई दुवै पक्ष आधिकारिक रूपमा निर्णय नभएको र यस विषयमा कुनै वार्ता नभएको बताउँछन्। दुवैका अनुसार उनीहरूबीच अझै पनि पारिवारिक ढंगको सम्बन्ध छ र भविष्यमा एकै पर्दामा फेरि पनि देखा पर्नेछन्।

चर्चामा

सम्बन्धित समाचार