• होमपेज
  • विचित्र संसार
  • अमेरिकामा अरिङ्गालले खैलाबैला, पहिलोपटक भेटियो गोलो

अमेरिकामा अरिङ्गालले खैलाबैला, पहिलोपटक भेटियो गोलो

  • शनिबार, कार्तिक १५, २०७७
अमेरिकामा अरिङ्गालले खैलाबैला, पहिलोपटक भेटियो गोलो

हामीकहाँ दशैँको बेलामा अरिङ्गालको गोलो निकालेर भुटेर खाएका तस्वीरहरु धेरै देखिए फेसबुकमा । अरिङ्गाल यत्रतत्र पाइने र साहसिला मान्छेहरुले अरिङ्गालका गोला निकालेर भुटभाट पार्ने कामसमेत सबैतिर हुने हुनाले अरिङ्गालको समाचार बन्दैन । तर अमेरिकामा चाहिँ अरिङ्गालको गोलो फेला परेको र त्यो गोलोलाई नष्ट गरिएको घटना ठूलो महत्वको समाचार बनेको छ ।

नबनोस् पनि किन ? इतिहासमै पहिलोपटक अमेरिकामा अरिङ्गालको गोलो फेला परेको हो । अनि अमेरिकामा पहिलोपटक भेटिएको अरिङ्गालको उक्त गोलो सफलतापूर्वक नष्ट गरिएको छ ।

वाशिङटन राज्यस्थित ब्लेइने सहरमा एक रुखको टोड्काभित्र फेला परेको उक्त अरिङ्गालको गोलोलाई राज्यको कृषि मन्त्रालयका किटविज्ञहरुले हटाएर ठूलो संख्यामा अरिङ्गालहरु समाउन सफल भएको खबर अमेरिकी सञ्चारमाध्यमहरुले प्रमुखताका साथ प्रकाशन गरेका छन् ।

वाशिङ्गटन राज्यका विभिन्न ठाउँमा विगत केही समयदेखि केही अरिङ्गालहरु देखा परेपछि किटविज्ञहरु चिन्तित बनेका थिए । खासगरी एसियाली मुलुकहरुमा पाइने अरिङ्गाल अमेरिकामा पुगेपछि त्यसलाई खतरनाक मिचाहा जीबको रुपमा लिँदै विज्ञहरुले पासो थापेर अरिङ्गाल समाउँदै रेडियो ट्रयाकर जडान गरेर छाडिदिएका थिए ।

त्यसो गर्दा अरिङ्गालको गोलो पत्ता लगाउन सकिने उनीहरुको ध्येय थियो । अन्ततः त्यसैगरी जडान गरिएको रेडियो ट्रयाकरका सहायताले विज्ञहरुले अमेरिकामा पहिलोटक अरिङ्गालको गोलो पत्ता लगाएका हुन् ।

अघिल्लो हप्ता विहीबार उनीहरुले रुखको टोड्कामा अरिङ्गालको गोलो पत्ता लगाएर शनिवार त्यसलाई नष्ट गर्न सफल भएका हुन् ।

रुखको टोड्काभित्र रहेको गोलाबाट ठूलो संख्यामा अरिङ्गालहरु भ्याकुमले तानिएको छ भने गोलोमा रहेका रानी अरिङ्गालहरु समेत निकालिएको छ ।

टोड्कामा रहेका खाली गोलो र त्यसमा रहेका अरिङ्गालका फुल र बच्चाहरु निकाल्नका लागि रुख नै काट्नुपरे पनि काट्नका लागि सम्बन्धित घरधनीले अनुमति दिएको बताइएको छ ।

अमेरिकाको वाशिङ्गटन राज्यमा गत डिसेम्बरमा पहिलोपटक एसियन जाएन्ट हर्नेट भनिने अरिङ्गाल फेला परेको थियो । त्यसपछि अरिङ्गाल समाउने पासोहरु यत्रतत्र राखिएकोमा जुलाई महिनामा पहिलोपटक जालीमा अरिङ्गाल परेको थियो ।

अमेरिकामा अरिङ्गाल देखिएपछि त्यसले माहुरीपालनलाई ठूलो असर पर्ने भन्दै किटविज्ञहरु चिन्तित बनेका छन् । अरिङ्गालले घारमा आक्रमण गरी माहुरी (मौरी)लाई मार्ने गर्दछ ।

– सिएनएनबाट

चर्चामा

सम्बन्धित समाचार