शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • राउटेले पाउने भए थप २ हजार भत्ता

राउटेले पाउने भए थप २ हजार भत्ता

  • शुक्रबार, कार्तिक १४, २०७७
राउटेले पाउने भए थप २ हजार भत्ता
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग समुदायका समस्या राख्दै राउटे मुखिया सुर्यनारायण शाही

लोपोन्मुख फिरन्ते जाती राउटे समुदायले थप २ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायका नागरिकहरुलाई मासिक २ हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका हुन् । सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओली सहित बस्तीमा पुगेका मुख्यमन्त्री शाहीले यस्तो घोषणा गरेका हुन् ।

कर्णालीका गहनाको रुपमा रहेको राउटे समुदायका नागरिकहरुले संघीय सरकार मार्फत लोपोन्मुख जातीअन्तरगर्त मासिक ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । राउटे समुदायका नागरिकलाई संघीय सरकारले प्रदान गर्र्दै आएको ३ हजारसँगै कर्णाली प्रदेश सरकारमार्फत थप २ हजार रुपैयाँ भत्ता प्रदान गर्न लागिएको हो । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले दिने थप २ हजार भत्ता मदिरा सेवनमा खर्च नगर्न राउटे समुदायलाई आग्रह गरेका छन् । ‘सरकारले दिने भत्ता कपडा किन्न र पोषणयुक्त खाना किन्न मात्रै खर्च गर्नुहोस्,’ मुख्यमन्त्री शाहीले भने ।

मुख्यमन्त्री शाहीले राउटे समुदायका नागरिकहरु बिरामी पर्दा प्रदेश सरकारले निशुल्क उपचार गर्ने समेत घोषणा गरेका छन् । ‘समुदायमा स्वास्थ्यकर्मी खटाउँछौं, तपाईहरु एकै ठाउँमा बसे प्रदेश सरकारले घर बनाइदिन्छ, एकै ठाउँमा बसेर काठका सामग्री निर्माण गर्नुहोस्,’ मुख्यमन्त्री शाहीले भने ।

मुख्यमन्त्री शाहीले समुदायका नागरिकहरुलाई पढाईमा ध्यान दिन आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीले अघिल्लो वर्ष राउटे समुदायले बृक्षारोपण गरेको क्षेत्रलाई राउटे बाटिका बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेपाली नागरिकता लिन आग्रह

फिरन्ते रुपमा जीवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिलाई गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गरिसकेको छ । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र दिएको हो ।

त्यसबेला राउटेको नाम, थर, जन्ममिति र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र प्रदान गरिएको हो । स्थायी परिचयपत्र पाएका राउटेहरु समुदायलाई नागरिकता लिन स्थानीय, प्रदेश र संघीय सरकारले आग्रह गर्दै आएको छ । तर, उनिहरुले अस्विकार गर्दै आएका छन् । राउटे समुदायमा पुगेका कर्णालीका मुख्यमन्त्री शाहीले उनिहरुलाई नागरिकता लिन आग्रह गरे ।

समुदायमा एइआइएन लक्जेम्वर्गको आर्थीक सहयोगमा सोसेक दैलेख मार्फत राउटे परियोजना सञ्चालित छ । परियोजना मार्फत तीन जना कर्मचारी खटिईएका छन् । एक जना अहेव र दुई जना जोडी शिक्षक समुदायमा कार्यरत छन् । अहेवले राउटे नागरिकहरुको स्वास्थ्यउपचार र अन्य दुईजनाको जोडी शिक्षकले राउटे नागरिकको आनीवानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा संचालन गरिरहेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले जनाए । अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार