शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो

  • सोमवार, कार्तिक १०, २०७७
स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो

आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद मुम्बई शीर्ष स्थानमा कायम रहेको छ ।

राजस्थानको जीतमा बेन स्टोक्स नायक रहे । अबुधावीमा खेलिएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै १९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा राजस्थानले १८.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पछ्यायो ।

यद्यपि, राजस्थानको सुरुवात भने राम्रो हुन सकेन । मुम्बईका तीव्र गतिका बलर जेम्स प्याटिन्सनले राजस्थानलाई शुरुमा नै दुईवटा झट्का दिएको थियो । कप्तान स्टीभ स्मिथ ११ रन तथा रोबिन उथप्पा १३ रन बनाएर आउट भए । दोस्रोतर्फ स्टोक्सले पारी सम्हाल्दै ६० बल नटआउट रहँदै १०७ रन बनाए । उनले सञ्जु स्यामसनसँग मिलेर १५२ रनको साझेदारी गर्दै टीमलाई जीत दिलाए ।

खेलमा स्याम्सनले ३१ बलमा ५४ रन बनाए । उनले ३ छक्का र ४ चौका हिर्काए । योसँगै स्याम्सन यो सिजन सबैभन्दा बढी छक्का हिर्काउने खेलाडी बने । उनले २३ छक्का हिर्काएका छन् भने निकोलस पूरनले २२ छक्का हिर्काएका छन् ।

पहिलो पारीमा हार्दिक पाण्ड्याको ६० रनको मद्दतले मुम्बईले ५ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । सूर्यकुमार यादवले ४० तथा इशान किसनले ३७ रनको योगदान दिए ।

यसअघि पहिलो खेलमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ८ विकेटले पराजित गरेको थियो । बैंग्लुरु अंक तालिकामा तेस्रो स्थानमा रहेको छ भने चेन्नई पुछारमा सिमित छ ।

चर्चामा

सम्बन्धित समाचार