• होमपेज
  • राजनीति
  • सचिवालयले नै भन्यो : ‘रअ’ प्रमुखले प्रधानमन्‍त्रीसँग भेटेका हुन्

सचिवालयले नै भन्यो : ‘रअ’ प्रमुखले प्रधानमन्‍त्रीसँग भेटेका हुन्

  • शुक्रबार, कार्तिक ७, २०७७
सचिवालयले नै भन्यो : ‘रअ’ प्रमुखले प्रधानमन्‍त्रीसँग भेटेका हुन्

काठमाडौं : भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको सचिवालयले पुष्टि गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसँग गोयलले शिष्टाचार भेट गरेको जानकारी दिएका हुन्।

annapurna post

प्रधानमन्‍त्रीसँग भेटका लागि बुधबार बेलुका गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्।

रअका प्रमुख गोयलसहित भारतीय अधिकारीहरूको विशेष टोली बुधबार भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार नेपाल आएको थियो। काठमाडौं बसाइका क्रममा उनले केही अधिकारीसँग अनौपचारिक परामर्श गरेको दाबी स्रोतले गरेको छ।

पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। करिब २२ घन्टाको बसाइपछि गोयल बिहीबार नै स्वदेश फर्किएका छन्।

छिमेकी भारतसँग संवादहीनता बढिरहेका बेला भएको उनको आकस्मिक भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय सेनाप्रमुख कात्तिक तेस्रो हप्ता नेपाल आउँदैछन्। त्यही भ्रमणको तयारी बुझ्‍ने सिलसिला तथा चिसिएको सम्बन्धलाई कसरी पुरानै अवस्थामा न्यानो बनाउन सकिन्छ भन्‍ने बारेमा अनोपचारिक परामर्श गर्न उनी नेपाल नेपाल आएको स्रोतको दाबी छ।

यसअघि पनि दुई देशबीच राजनीतिक तहमा सम्बन्ध चिसिएका बेला प्रशासनिक तथा सुरक्षा संयन्‍त्रमार्फत सम्वाद र सम्बन्ध सुधारका पहल हुने गरेका थियो। भारतले आफ्नो भूमि दाबी गर्दै अतिक्रमित गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक तथा त्यहीअनुरुप संविधानमा समेत संशोधन गरेपछि यी दुई देशको सम्बन्ध चिसिएको हो।

चर्चामा

सम्बन्धित समाचार