बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सगरमाथामा ज्यान गुमाएका विदेशीको वाकिटकी बोकेर ‘प्रहरी हुँ’ भन्दै ठगी

सगरमाथामा ज्यान गुमाएका विदेशीको वाकिटकी बोकेर ‘प्रहरी हुँ’ भन्दै ठगी

  • शुक्रबार, अशोज ३०, २०७७
सगरमाथामा ज्यान गुमाएका विदेशीको वाकिटकी बोकेर ‘प्रहरी हुँ’ भन्दै ठगी
खड्काको साथबाट बरामद सामानहरु । तस्बिर : अपराध महाशाखा

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्कली प्रहरीलाई पक्राउ गरेको छ । विगत २ बर्षदेखि आफुलाई ‘नेपाल प्रहरी हुँ’ भन्दै मानिसहरुलाई अनुचित प्रभावमा पारेर आर्थिक लाभ लिने नक्कली प्रहरीलाई महाशाखाले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाकाअनुसार पक्राउ पर्नेमा जिल्ला रामेछाप खाँडोदेबी गाउँपालिका– ६ घर भई काठमाडौँ बाँनियाटार बस्ने २८ वर्षीय गोविन्द खड्का रहेका छन् ।

एसएसपी थापाले भने, ‘म प्रहरी हुँ भनि काठमाडौँ उपत्यकाका विभिन्न रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने स्थानहरुमा गई व्यवसायीलगायतका मानिसहरुलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको भन्ने बिशेष सूचनाको आधारमा खड्कालाई बाँनियाटारबाट पक्राउ गर्न सफल भयौं ।’

नक्कली प्रहरी भेषधारी खड्काले प्रहरी जस्तो देखिन सञ्चार सेट (वाकीटकी) बोक्ने र रातको समयमा ट्राफिक प्रहरीको यूनिफर्मको रेनकोट र प्रहरी टिसर्टसहित आफ्नो नाम भएका नेम प्लेटसहित हिँड्ने गरेको अनुसन्धानबाट खुलेको एसएसपी थापाले बताए ।

खड्काको साथबाट बरामद भएको सेट सन् २०१४ मा विदेशी पर्यटकहरु सगरमाथा आरोहणको समयमा आउने क्रममा पर्यटकहरुले खाना बनाउने र चालक काम गर्ने नेपाली मानिसलाई राख्न दिएकोमा २ वर्ष अगाडिबाट खड्काले दुरुपयोग गर्दै आएका थिए ।

प्रहरीले बरामद गरेको सञ्चार सेटले नेपालमा रहेका अन्य सञ्चार सेटको फ्रिक्वेन्सी, एयरपोर्टको ग्राउन्ड होल्डिङ,प्रहरीको सञ्चारसेट आदिको आवाज टिप्ने गरेको पाइएको छ । पक्राउ परेका खड्काले नक्कली प्रहरी, नेपाली सेना अन्य सुरक्षा निकाय समेतको पोसाक दुरुपयोग गरि सुरक्षा निकायको कर्मचारी हुँ भनि विभिन्न व्यक्तिहरुलाई प्रभावमा पार्ने गरेका थिए ।

खड्काको साथबाट केनउडड ब्राण्डको १४४ मेगाहर्जको एफएम ट्रान्सरिसिफर हेण्ड वाकिटकि सञ्चार सेट थान १, एलाईको लेखिएको जापानिज सञ्चार सेट थान १, ट्राफिक प्रहरीको यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, गोविन्द खड्का लेखिएको नेम प्लेट थान १, सुरक्षा निकायले लगाउने बुट २ जोर, खड्काको मतदाता परिचय पत्र १, सिठि थान २, बा ७८प १६२ नम्बरको मोटरसाइकल, सवारी चालक अनुमतिपत्र र विभिन्न ब्राण्डको ६ वटा मोबाइल बरामद भएको छ ।

प्रहरीले खड्काबाट कोही कसैलाई विभिन्न प्रभाव पारि ठगी गरेको भएमा महाशाखामा अर्थात नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार