बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • लोप हुँदै भाषिक शुद्धता

लोप हुँदै भाषिक शुद्धता

  • सोमवार, अशोज २६, २०७७
लोप हुँदै भाषिक शुद्धता

दैलेखस्थित महाबु गाउँपालिकाले असोज २१ गते विद्यालय बन्दसम्बन्धी निकालेको सार्वजनिक सूचना यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त पत्रका सबै अनुच्छेद (प्याराग्राफ) मा त्रुटि देखिन्छ। कतिपय जोड्नु पर्ने शब्द जोडिएका छैनन् भने सामान्य शब्दमा पनि त्रुटि छ। उक्त सूचनाले स्पष्ट संकेत गर्छ कि, भाषिकसँगै व्याकरणीय शुद्धताप्रतिको उदासीनता।

यति मात्र होइन सरकारी कार्यालयमा हुने भाषा र व्याकरण पछिल्लो समय हराउँदै गएको छ। जसले गर्दा भाषा संरक्षणमा चुनौती देखिन्छ। भाषिक शुद्धता हराउँदै जाँदा नयाँ पुस्तामा समेत यसको नराम्रो प्रभाव देखिएको छ। भैरबी गाउँपालिकाले जारी गरेको विद्यालय बन्दसम्बन्धीको सूचना सामाजिक सञ्जाल फेसबुकमा राख्दै शिक्षा शास्त्र केन्द्रीय क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उपप्राध्यापक लक्ष्मी आचार्यले लेख्छन्, ‘सामाजिक सञ्जालको यो फोटो देख्दा भाषाको विद्यार्थी भएको नाताले भन्न मन लाग्यो। थोरै भए पनि भाषिक शुद्धतामा ध्यान दिऔँ।’ सूचना एक, गल्ती बिस ठाउँभन्दा बढी। अनि सूचना चाहिँ शिक्षा (विद्यालय) सम्बन्धको।’ यसले भाषागत शुद्धताप्रति उदासीनता देखिँदै आएको उनले बताए। केही वर्ष अगाडी भएको वर्ण विन्याससम्बन्धी विवादले पनि भाषालाई अझ थप कमजोर बनाएको उनको बुझाइ छ।

‘त्यतिबेलाको आन्दोलन जायज थियो,’ उनी भन्छन्, ‘तर आम मानिसमा भाषा जस्तो लेखे पनि हुन्छ भन्ने बुझाइ भयो।’ अंग्रेजी एउटा शब्द बिग्रियो भने गलत हुने भन्दै उनले भने, ‘नेपाली शब्द एउटा अशुद्ध भए पनि सही मानिन्छ। जसले गर्दा भाषा बिग्रिँदै गएको छ।’ ‘त्यस्तो शब्द कुराकानीका आधारमा ठीक भए पनि, लेख्यको आधारमा गलत हुन्छ।’ भाषाका आधारभूत कुरा ज्ञान हुनुपर्ने भन्दै उनले भाषाको सौन्दर्यता हराउने र भाषालाई कूरुप बनाउने ढंगले भाषा प्रयोग गर्न नहुने बताए। नेपाली भाषाप्रति बेवास्ता बढेकाले पनि भाषा र व्याकरण लोप हुँदै गएको भाषा विज्ञहरू बताउँछन्।

नेपाली भाषालाई हल्कारूपमा लिँदा भाषागत त्रुटि देखिने गरेको सुर्खेतका नेपाली विषयका शिक्षक नारायण तिमिल्सिनाले बताए। ‘नेपाली भाषीले भाषाको प्रयोग गर्दा ख्याल गर्नुपर्छ,’ उनी भन्छन्, ‘भाषाका आफ्नै सिद्धान्त, नियम र नीति छन्।’ नेपाली भाषालाई राष्ट्रिय भाषा भनिए पनि सरकारी क्षेत्रबाटै यसलाई बेवास्ता गरिएको उनको भनाइ छ। भाषा प्रयोग गर्दा सामान्यभन्दा गहिरोरूपले हेरिनु पर्ने उनले बताए। ‘पछिल्लो समय मिडियालगायत, सबै क्षेत्रमा भाषा बिग्रिँदै गएको छ,’ उनी भन्छन्, ‘यसले पछिल्लो पुस्तालाई असर पुर्‍याएको छ।’

हामीलाई शुद्ध भैंसीको घ्यू होइन भैंसीको शुद्ध घ्यू चाहिएको भन्दै उनले भने, ‘तर शुद्ध भैंसीको घ्यू चाहिएको भाषा प्रयोग गरिन्छ। जुन गलत छ।’ यस्तोखाले अभ्यासले भाषिक शुद्धता हराउँदै जाने भन्दै उनले चिन्ता व्यक्त गरे। भाषा कथ्यभन्दा लेख्यमा शुद्धताको ख्याल गर्नुपर्ने सिस्ने स्यार्पू साप्ताहिक पत्रिकाका पूर्व सम्पादक शेरबहादुर केसीले बताए। ‘एउटा शब्द प्रकाशित भएपछि आम पाठकसम्म पुग्छ,’ उनले भने, ‘अनि उनीहरूको आधिकारीक बुझाइ नै जे प्रकाशन भएको छ त्यहीँ हुन्छ।’ बालबालिकालाई झन् यसले कालान्तरसम्म असर पु¥याउने उनको भनाइ छ।

प्रकाशित गर्दा गहिरो अध्ययन र गम्भीरता नहुँदा विद्यालय, सरकारी तथा गैरसरकारी र विभिन्न सञ्चारमाध्यममा भाषागत त्रुटि हुने गरेको भन्दै उनले भने, ‘भाषाजस्तो महत्वपूर्ण विषयमा गम्भीर हुन जरुरी छ।’ -नागरिक दैनिक

चर्चामा

सम्बन्धित समाचार