शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बजार
  • दसैँमा कुन बाइक चढ्ने : प्रतिस्पर्धी बजारमा यस्तो छ कम्पनीहरूको स्किम

दसैँमा कुन बाइक चढ्ने : प्रतिस्पर्धी बजारमा यस्तो छ कम्पनीहरूको स्किम

  • आइतवार, अशोज २५, २०७७
दसैँमा कुन बाइक चढ्ने : प्रतिस्पर्धी बजारमा यस्तो छ कम्पनीहरूको स्किम

काठमाडौँ — दसैँ–तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै अटोबजारमा चहलपहल सुरु भएको छ । विशेषतः अटो बजार त्यसमा पनि दुई पाङ्ग्रे सवारीका सोरुममा यतिखेर ग्राहकहरूको राम्रै भीड देख्न सकिन्छ । दसैँ–तिहारको अवसरमा मोटरसाइकल तथा स्कुटर किन्नेहरूको सोरुममा बाक्लो भिड लाग्न थालेको छ ।

यो वर्ष पनि दसैँ–तिहार जस्ता ठूला चाडवाड नजिकिएसँगै अटो व्यवसायीहरूले धमाधम ग्राहक लक्षित आकर्षक उपहार तथा छुट योजना सार्वजनिक गरिरहेका छन् ।

योसँगै अटोबजारमा ग्राहकहरूको चहलपहल सुरु भएको यामाहा मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजका बजार प्रमुख विक्रम पौडेलले रातोपाटीसँग बताए ।

‘दसैँ–तिहारको मौसममा थप उपहार तथा छुट योजनाले ग्राहकहरू आकर्षित हुँदैछन् । असोज लागेसँगै अटो बजारमा चहलपहल सुरु भएको छ । गत वर्षहरूमा जस्तो ठूलो उत्साह त छैन तर पनि बजारको चहलपहलले उत्साहित छौँ,’ बजार प्रमुख पौडेलले भने, ‘गत वर्षहरूको तुलनामा यस वर्ष झण्डै ६०–७० प्रतिशतले नै बजार डाउन हुने अनुमान गरेका छौँ । यद्यपि चार पाङ्ग्रेको तुलनामा दुई पाङ्ग्रेको बजार राम्रो हुनेमा हामी विश्वस्त छौँ ।’

कोभिड–१९ का कारण प्रभावित अर्थबजारमा व्यक्तिको क्रयशक्तिसमेत कम भएको अवस्थामा समग्र अटो बजारको व्यापार कम भए पनि तुलनात्मक रूपमा दुई पाङ्ग्रेको व्यापार राम्रो हुने पौडेलको भनाइ छ ।

यता सुजुकी मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक भीजी सुजुकीले भने, कोभिड–१९ कै बीच मोटरसाइकलको व्यापार राम्रो रहेको बताएको छ । करिब झण्डै ६ महिना लामो बन्दाबन्दी कारण शिथिल भएको अटोबजारले दसैँ–तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै गति लिन थालेको सुजुकीका लागि बजार प्रमुख समिति सिंहले रातोपाटीसँग बताए ।

‘दसैँ–तिहार नजिकिएसँगै अटो बजारले गति लिन थालेको छ । यसले हामीलाई उत्साह प्रदान गरेको छ ।’ बजार प्रमुख पौडेलले भने, ‘यो समयमा पनि हामीले दैनिक झण्डै ४५ को हारहारीमा मोटरसाइकल बेचिरहेका छौँ ।

गत वर्षहरूको जस्तै व्यापार त नभनौँ र पनि यस वर्ष कम्तीमा ४–५ हजार मोटरसाइकल बिक्री हुन्छ कि भन्ने अपेक्षा गरेका छौँ । हेरौँ अब बजारको अवस्था के हुन्छ,’ सिंहले भने ।

त्यसो त कोभिड–१९ कै कारण दुई पाङ्ग्रेको बजार बढेको सिंहले थपे ।

‘कोभिडले सिकाएको पाठ बन्दाबन्दी, स्वास्थ्य सुरक्षा तथा सामाजिक दूरी जस्ता विषयहरूले गर्दा नै निजी सवारीको आवश्यकता महसुस भएको छ । यसले थप बजारमा दुई पाङ्ग्रे माग बढ्न गएको छ,’ सिंहको भने ।

यता नेपाली बजारमा लोकप्रिय रहेका अन्य मोटरसाइकल तथा स्कुटर ब्रान्डहरू बजाज, हिरो, होन्डा, भेस्पा, अप्रिलिया, बेनेली लगायतका दर्जन हारहारीका कम्पनीले समेत दसैँ–तिहार नजिकिएसँगै व्यापार राम्रो हुँदै गएको बताएका छन् । गत महिनाको तुलनामा झण्डै दोब्बरले व्यापार बढेको र सोरुमहरूमा भिजिटरहरूको उपस्थिति बढेको कम्पनीहरूको भनाइ छ ।

त्यसो त ग्राहक आकर्षित गर्नकै लागि कम्पनीहरूले प्रतिस्पर्धात्मक रूपमा दसैँ–तिहार विशेष उपहार तथा छुट योजनाहरू सार्वजनिक गरिरहेका छन् ।

यस्तो छ दुई पाङ्ग्रे विशेष दसैँ–तिहार उपहार योजना

बजाज

१० हजार नगद छुटः शून्य प्रतिशत फाइनान्सिङ सुविधा

दसैँ–तिहार विशेष अफरमा बजाज मोटरसाइकल किन्ने ग्राहकले अधिकतम १० हजार नगद छुटसहित मोटरसाइकलको मासिक किस्ता बापत शून्य प्रतिशत ब्याजदर सुविधा पाउने भएका छन् ।

चाडपर्वको अवसरमा बजाजका कुनै पनि मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशतको फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी जनाएको छ ।

यद्यपि कम्पनीले कम पैसा हुने ग्राहकलाई भने २० प्रतिशत डाउन पेमेन्टमै नयाँ मोटरसाइकल उपलब्ध गउने बताएको छ । तर उक्त ग्राहकले मासिक किस्ता बापतको ब्याज भने तिर्नुपर्ने छ ।

सुजुकी

 

१२ हजार नगद छुटः १ वर्षको रोड ट्याक्स फ्री

सुजुकी मोटरसाइकलले दसैँ–तिहार विशेष ‘चाडपर्व सबैको हौसला हाम्रो अफर’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि सुजुकी मोटरसाइकल वा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रूपैयाँ नगद छुट पाउने छन् भने १ वर्षको रोड ट्याक्ससमेत फ्री पाउने छन् ।

साथै जुनकुनै मोटरसाइकलको खरिदमा ग्राहकले निःशुल्क हेल्मेटसमेत पाउनेछन् ।

यो योजना फाइनान्स गर्दा वा एक्सचेन्ज गर्दा समेत लागू हुने सुजुकी मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले जनाएको छ ।

हिरो

५ हजार पक्का छुटः १ लाखको बम्पर उपहारः

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ‘दसैंको पर्व हिरोत्सवको हर्ष’ उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले ५ हजार नगद छुटसहित १ लाख रूपैयाँको बम्पर उपहार योजना अघि सारको छ ।

यस योजनाअन्तर्गत हिरोका कुनै पनि मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रूपैयाँ पक्का डिस्काउन्टसहित स्क्र्याच कार्डमार्फत १ लाख रूपैयाँसम्म पाउन सक्ने छन् भने बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख रूपैयाँ नगद जित्न सक्ने छन् । साथै हिरोका ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमै फाइन्यान्सिङ सुविधासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यामाहा

१० प्रतिशत डाउन पेमेन्टमै मोटरसाइकलः एक्सचेन्जमा १५ हजार बोनस

यामाहा मोटरसाइकल कम्पनीले १० प्रतिशतको डाउन पेमेन्ट सुविधादेखि शून्य प्रतिशत फाइनान्सिङ सुविधा तथा १५ प्रतिशत थप बोनस एक्सचेन्ज अफरसमेत प्रदान गरेको छ । यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकलको खरिदमा ग्राहकले १० प्रतिशत डाउनपेमेन्ट सुविधा पाउने छन् भने एक्सचेन्ज अफरमा थप १५ हजार रूपैयाँ बोनस पाउने छन् ।

‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड टु फ्युल इन्जेक्सन’ अफर अन्तर्गत कम्पनीले यस्तो उपहार योजना ल्याएको हो ।

यामाहा ब्रान्डका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एक्सचेन्ज अफरमा जुनकुनै पुराना मोटरसाइकलसँग यामाहाका नयाँ मोटरसाइकल साट्न सकिने र प्रचलित बजार मूल्यभन्दा थप १५ हजार बोनस रकम प्रदान गरिने जनाएको छ ।

साथै मोटरसाइकल तथा स्कुटरको खरिदमा शून्य प्रतिशत फाइन्यान्सिङ सुविधासमेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

टीभीएस

९ हजार नगद छुट ः हरेक हप्ता अपाचे आरआर ३१० जित्ने अवसर

टीभीएस मोटरसाइकलको खरिदमा ग्राहकले अधिकतम ९ हजार क्यास डिस्काउन्ट पाउनका साथै ७ लाख ७९ हजार ९ सय रूपैयाँ बराबरको अपाचे आरआर ३१० मोटरसाइकल जित्ने अवसरसमेत पाउने छन् ।

‘टीभीएस दसैँको आशा’ योजनाअन्तर्गत कम्पनीले आफ्नो जुनकुनै मोटरसाइकलमा ९ हजार र स्कुटरमा ७ हजार रूपैयाँ नगद छुट प्रदान गरेको छ भने हरेक हप्ता १ जनाले अपाचे आरआर ३१० जित्न सक्ने गरी लक्की ड्रको योजना राखेको छ । जसअनुसार गत हप्ता मात्र एक जना भाग्यशाली ग्राहक अपाचे आरआर ३१० विजेता बनिसकेका छन् ।

त्यस्तै कम्पनीले ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदमा ५० प्रतिशत डाउन पेमेन्ट सुविधा प्रदान गरेको छ भने शून्य प्रतिशत फाइनान्सिङ सुविधासमेत प्रदान गरेको टीभीएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले जनाएको छ ।

भेस्पा अप्रिलिया

५ हजारदेखि ५० हजारसम्मको स्क्र्याच कुपन, एसेसरिज फ्री

नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले दसैँ–तिहार विशेष बडादसैँ तिहार योजना ल्याएको छ ।

सो योजनाअन्तर्गत भेस्पा र अप्रिलिया स्कुटर किन्ने ग्राहकले स्क्र्याच कार्डमार्फत ५ हजारदेखि ५० हजारसम्मको नगद छुट पाउने छन् । भने अतिरिक्त सुविधामा भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङका साथै एक आर्थिक वर्षको सडक करसमेत निःशुल्क प्राप्त गर्नेछन् ।

सोही उपहार योजनाअन्तर्गत कम्पनीले १५० सीसी भेस्पाको खरिदमा १० हजार रूपैयाँ बराबरको फ्री र पेरिमिटर किटसमेत उपलब्ध गराएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाटै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा निःशुल्क डेलिभरी समेत गराउने बताएको छ ।

बेनेली

एक्सचेन्जमा १५ हजार बोनस, लक्की ड्रमा ५० इन्चको एलईडी स्मार्ट टीभी

इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले दसैँ तिहार छुट अफर ल्याएको छ । कम्पनीले टीएनटी १५० आई र टीएनटी१५ मोडलमा एक्सचेन्ज, नगद र शून्य प्रतिशत ब्याज गरी तीनवटा अफर ल्याएको हो । टीएनटी १५० आई मोडलका तीनवटै एक्सचेन्जमा निःशुल्क हेल्मेट दिइनेछ ।

हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्याङ्कन दिइने कम्पनीले जनाएको छ । नगद अफरअन्तर्गत हरेक मोटरसाइकल बिक्रीमा १५ हजार नगद छुट र २ वर्षसम्म शून्य प्रतिशत ब्याज सुविधा रहनेछ । टीएनटी १५ मोडलमा भने शून्य प्रतिशत ब्याज अफरमा मात्रै निःशुल्क हेल्मेट दिइनेछ ।

हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्याङ्कन, नगद अफरमा हरेक बिक्रीमा ८ हजार नगद छुट र शून्य प्रतिशत ब्याजमा भने २ वर्षसम्म ब्याज लिइने छैन । यसबाहेक एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी पाउन सक्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार