मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा दुई महिनादेखि संक्रमित भेटिएनन्

बाजुरामा दुई महिनादेखि संक्रमित भेटिएनन्

  • शुक्रबार, अशोज २३, २०७७
बाजुरामा दुई महिनादेखि संक्रमित भेटिएनन्

बाजुरा–बाजुरामा विगत झण्डै दुई महिनादेखि कोरोना संक्रमण शुन्यमा छ। जिल्लामा पाँच सय ७७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएकोमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको थियो।

तर त्यसपछि दुई महिनायता बाजुरामा कोरोना संक्रमणको दर शुन्यमा झरेको छ। बाजुरामा तत्काललाई कोरोना नियन्त्रणमा आएको भएपनि जोखिम कायमै रहेकाले जिल्लालाई संक्रमण मुक्त भन्न नमिल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्त बताउँछन्।

उनले स्थानीय प्रशासन, जिल्लाका अन्य सरोकारवाला निकाय, जिल्लाबासीको संयुक्त पहलमा तत्काल संक्रमण नियन्त्रणमा आएको बताउँदै जोखिम कायमै रहेकाले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्न आग्रह पनि गरे।

संक्रमण पुष्टि भएका ५ सय ७७ जना को थिए ? 

बाजुरामा यसअघि संक्रमण पुष्टि भएका ९५ प्रतिशत बढि संक्रमित भारत तथा अन्य प्रभावित क्षेत्रबाट फर्किएका व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

‘संक्रमण पुष्टि भएका सबैजसो भारत तथा अन्य प्रभावित क्षेत्रबाट जिल्ला फर्किएका व्यक्तिहरु नै थिए।’ स्वास्थ्य कार्यालयका प्रमुख पन्तले भने, ‘आन्तरिक ट्राभल हिस्ट्री भएका ७ जना स्वास्थ्यकर्मी र १० जना प्रहरी हुनुहुन्थ्यो। उहाँहरुलाई पनि छुट्टयाएर राख्दा थप संक्रमण फैलिन पाएन।’

बाजुरामा यसअघि अन्यत्रबाट फर्किनेहरुलाई अनिवार्य क्वारेन्टिनमा राखेकै कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको बताईएको छ।

‘संक्रमणको अवस्था पत्ता लगाउन हामीले संक्रमित भेटिएका व्यक्तिको घरका एकजना सदस्यको अनिवार्य परीक्षण गर्यौै। पहिलो चरणमा पाँच सय ८६ जनाको परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आायो।’ उनले भने, ‘दोस्रो चरणमा बैँक तथा वित्तिय संघसंस्था, प्रहरी, पत्रकार, कपाल काट्ने नाई गरी एक सय १६ जनाको परीक्षण गर्दा पनि सबैको रिर्पोट नेगेटिभ आयो। तेस्रो चरणमा दुई सय ५६ जनाको परीक्षण गर्दा हुलाकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भयो। उहाँहरुलाई पनि अलग्गै राख्यौँ।’

पछिल्लो पटक धनगढीबाट बाजुरा फर्किएक एकजना शिक्षकमा संक्रमण पुष्टि भएको थाहा पाएपछि उनीसँगै जहाजमा यात्रा गरेका २४ जनाको नमूना संकलन गरी परीक्षणका लागि जुम्ला पठाईएको उनले बताए।

सार्वजनिक सवारी साधन चलेपछि भारत, काठमाडौँ, धनगढी लगायतका ठाउँबाट जिल्ला भित्रिने क्रम बढेको र क्वारेन्टिनमा बस्ने क्रम समेत घटेकाले जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ। दशैँतिहारका बेला हुने आवागमनले संक्रमण फैलाउने मद्दत गर्ने भएकाले सकभर प्रभावित क्षेत्रबाट गाउँ नफर्किन समेत आग्रह गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार