शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • भारतीय सहयोगमा बनेका यी परियोजना जो प्रयोगमै नआइ अलपत्र छन्

भारतीय सहयोगमा बनेका यी परियोजना जो प्रयोगमै नआइ अलपत्र छन्

  • आइतवार, अशोज १८, २०७७
भारतीय सहयोगमा बनेका यी परियोजना जो प्रयोगमै नआइ अलपत्र छन्

नेपालमा निर्धारित समयमा सम्पन्न हुन नसकेका विकास परियोजनाका उदाहरण त प्रशस्त छन्, मित्र राष्ट्रहरुले बनाइदिएका परियोजनाहरुसमेत सञ्चालन गर्न नसकेका उदाहरण पनि थपिँदै गएका छन् ।

छिमेकी मुलुक भारतले नेपालमा निर्माण गरेका कतिपय यस्ता पूर्वाधारहरु छन् जो अझै प्रयोगमा आउन सकेका छैनन् । कतिपय पूर्वाधारहरु खण्डहर बनिरहेका छन् भने कतिपय भत्किएर पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

मुस्ताङ जिल्लाको मुक्तिनाथ क्षेत्रमा भारतले सन् २०१२ मा मुक्तिनाथ गेस्ट हाउस निर्माण गरेको थियो तर हालसम्म पनि उक्त गेस्ट हाउस सञ्चालनमा आएको छैन । भारतले पाँच करोड रुपैयाँको लागतमा सम्पूर्ण पूर्वाधार तयार गरी नेपाल सरकारलाई हस्तान्तरण पनि गरे पनि हालसम्म सञ्चालनमा आउन नसकेको हो ।

बरागङ गाउँपालिकाका अध्यक्ष छेप्तेन गुरुङका अनुसार उक्त गेस्ट हाउस मर्मत नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन । लामो समयसम्म बेवारिस रहेका कारण छतसमेत चुहिन थालेको छ भने झ्यालढोका भाँचिएको छ ।

पहिला विभिन्न अवरोधका कारण उक्त गेस्ट हाउस सञ्चालनमा नआएको भए पनि अब गाउँपालिकाले मर्मत गरेर चाँडै सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

त्यस्तै, सप्तरीको राजविराजमा महेन्द्र विन्देश्वर बहुमुखी क्याम्पसको कन्या छात्रावास निर्माण सम्पन्न भएको १० वर्षभन्दा बढी बितिसक्यो । उक्त छात्रावास हालसम्म सञ्चालनमा आएको छैन । ५६ कोठे उक्त छात्रावास पनि मर्मतबिना सञ्चालन हुन नसक्ने अवस्थामा पुगिसकेको छ ।

झ्यालढोका भाँचिनुको साथै छत पनि चुहिन थालेको छ । छात्रावास परिसरमा बोटबिरुवा उम्रिएर खण्डहर जस्तो देखिन थालेको छ ।

छात्रवास निर्माण समितिका संयोजक एवं राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले भुक्तानीको समस्याले गर्दा सञ्चालन गर्न नसकिएको बताए । सम्झौता अनुसार भारतले १ करोड ९६ लाख रुपैयाँ दिनुपर्ने हो तर १ करोड ६२ लाख रुपैयाँमात्र दिएको उनको भनाइ छ ।

छात्रावास निर्माणमा दुई करोडभन्दा बढी खर्च भइसकेको बताउँदै उनले यसलाई सञ्चालनमा ल्याउन पहल भइरहेको जानकारी दिए । दूतावाससँग कुराकानी भइरहेको र अब चाँडै सञ्चालनमा ल्याउने उनले बताए ।

जिल्ला समन्वय समिति सप्तरीका अनुसार छात्रावास निर्माणका लागि ९० प्रतिशत रकम निकासा भइसकेको छ । एक करोड ९६ लाख ४५ हजार ५ सय ३२ रुपैयाँ लागतको योजना पूरा गर्न दूतावासले सन् २००६ को समयसीमा निर्धारण गरेको थियो ।

त्यस्तै, जनकपुर–जयनगर रेल सञ्चालनका लागि सम्पूर्ण पूर्वाधार तयार भइसके पनि हालसम्म रेल सञ्चालनमा आएको छैन । रेलको लिक दुरुस्त छ, नेपाल सरकारले रेल खरिद गरेर ल्याइसकेको छ तर त्यो कहिलेबाट सञ्चालनमा आउँँछ भन्ने अझै टुङ्गो लागेको छैन । त्यस्तै विराटनगर–जोगवनीमा पनि रेलका लागि लगभग पूर्वाधार तयार भइसके पनि रेल सञ्चालन हुने कि नहुने भन्नेमा अझै अन्योल देखिएको छ ।

यस्तै, भारत सरकारको सहयोगमा निर्माण भएको पशुपति मैत्री धर्मशाला भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको दुई वर्ष बितिसक्दा पनि सञ्चालन गर्न नसकेर हाल निजी क्षेत्रलाई होटलको रुपमा सञ्चालन गर्न भाडामा दिएको छ । पशुपति दर्शन गर्न आउने भक्तजनका लागि सस्तो र सुलभ दरमा बासका लागि भारतले बनाइदिएको धर्मशालालाई नेपालले भने होटलका रुपमा भाडामा लगाएको हो ।

काठमाडौँको तिलगंगामा अवस्थित सो धर्मशाला सञ्चालन तथा व्यवस्थापनको जिम्मा पोखराको होटल आनन्द म्यानेजमेन्ट प्रालिले पाएको छ । सो धर्मशाला १० वर्षका लागि भाडामा दिइएको छ । होटल आनन्द म्यानेजमेन्टले वार्षिक एक करोड पाँच लाख ४१ हजार ६१८ रुपैयाँ तिर्नेछ । १९ रोपनी क्षेत्रफलमा निर्माण भएको सो धर्मशालामा ८० वटा कोठा छन् ।

सन् २०१८ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला उद्घाटन गरिएको जनकपुर–अयोध्या बस सेवा पनि बन्द भएको छ । भारतीय दूतावास स्रोतका अनुसार बस सेवा बन्द भएको एक वर्षभन्दा बढी भइसकेको छ ।

यस्ता सानातिना थुप्रै आयोजनाहरु छन्, जुन निर्माण भइसकेर पनि विभिन्न कारणले सञ्चालनमा आएका छैनन् । कतिपय ठाउँमा भारतले नै समयमै काम सम्पन्न नगरेको कारण अलपत्र रहेका छन् भने निर्माण भइसकेका संरचनालाई विभिन्न बहानामा प्रयोगमा ल्याउन नसक्नुले नेपाली पक्षको व्यवस्थापकीय कमजोरी देखाउँछ ।

चर्चामा

सम्बन्धित समाचार