बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • न यात्रुलाई डर छ, न चालक जिम्मेवार

न यात्रुलाई डर छ, न चालक जिम्मेवार

  • मङ्लबार, अशोज १३, २०७७
न यात्रुलाई डर छ, न चालक जिम्मेवार
फाइल तस्विर

कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारीका समीर शर्मा सोमबार बिना मास्क आफ्ना साथीलाई बसमा पुगाउन धनगढी बसपार्क पुगे। डोटीको दिपायलमा रहेको प्राविधिक शिक्षालयमा ओभरसेयरको प्रवेश परीक्षा फाराम भर्नका लागि जान थालेका साथीलाई पुर्‍याउन उनी बसपार्क आएका हुन्।

‘भर्खर लगाएको थिए, पसिनाले भिज्यो र फालि दिएँ’ अन्नपूर्णको टीमसँग उनले भने,‘अब किनेर लगाउछु।’ १२ कक्षामा पढिरहेका उनको मुखमा मास्क नभएपनि, उनी आफूले लापरवाही गरेकोमा पछुताएझैं देखिन्थेँ। ‘सरी अंकल, म किनेर ल्याउछु’ मास्क देखिएको पसलतिर जाँदै उनले भने।

समीरसँगै १५ जना युवा युवतीको समूह बसपार्कमा थियो। एसईई पास गरेका विद्यार्थीहरु दिपायलमा रहेको प्राविधिक शिक्षालय (सरकारी) मा प्रवेश परीक्षा दिन हुल बाँधेर बसपार्क पुगेका थिए। एसईई दिएका विद्यार्थी आफैँमा जागरुक हुन्छन्। तर उनीहरुमध्ये छात्राबाहेक अधिकांश छात्रहरुले भने मास्कको प्रयोग गरेका थिएनन्।
‘गाउँमा खासै कोरोनाको डर त्रास छैन, त्यहाँ लगाइन्न पनि। त्यस्तै होला भनेर विना मास्क आएको, अब किन्न जाने हो’ समिरसँगै रहेका अर्का युवा सुरेन्द्र बोहराले भने। ‘बसपार्कमा बढीजसो यात्रु, बस स्टाफ कसैले पनि मास्क लगाएका छैनन्, अनी यस्तै त हो नी भन्ने लाग्यो।’

सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दुरीको पनि यातायात खोलेपछि अहिले बसपार्कहरुमा चहलपहल बढन थालेको छ। सरकारले जारी गरेको निर्देशनमा हरेक सार्वजनिक सवारी साधनलाई, यात्रु चढनु पूर्व डिस्सेन्ट्राईज गर्नुपर्ने, चालक र सहचालकले अनिवार्य रुपमा मास्क लगाउने, हरेक यात्रुलाई बस मालिकले भित्र प्रवेश गर्ने बेला हात धोएर वा स्यानीटाईजर गरेर मात्रै बसाउने उल्लेख छ।

‘तर सरकारको निर्देशन त निर्देशन मात्रै त हो नी, कसले मान्ने ? बसपार्कमा लापरवाही छ। यसरी, त कोरोनाको संक्रमण कसरी घट्ला ?’ बसपार्कमा भेटिएका यात्रु उमेश राईले भने, ‘काठमाडौं जाने भनेर आएको, तर बसपार्कको अवस्था हेर्दा चरम लापरवाही देखियो, कसैलाई कोरोनाको कुनै डर छैन।’

धनगढीको बसपार्कबाट, सुदूरपश्चिम यातायात प्रालि, मालिका यातायात, बडिमालिका यातायात, कर्णाली यातायात, महाकाली यातायात र अन्य प्रालिका गरी दैनिक तीन सयभन्दा बढी सवारी साधन देशका विभिन्न गाउँ शहरका लागि छुटने गर्छन। तर ती सवारी साधनमा चालक, सहचालकले नै मास्कको प्रयोग नगरेको पाइएको छ।
‘अहिले सवारी हालिरहेको छु, एकछिनमा मास्क किन्ने हो, उकुसमुकुस भएकाले नलगाएको’ धनगढी–महेन्द्रनगर चल्ने माईक्रोबस (विंगर) का चालक विष्णु भट्टले भने,‘पहिला पहिला त धेरै डर लागेको थियो, लकडाउनभरी बुकिङमा पनि गाडी निकालिन, तर अहिले त्यो डर विस्तारै कम भइरहेको छ।’

मास्क नलगाएरै यात्रु बसाइरहेका उनी जोडजोडले विना मास्क कराइरहेका थिए। उनी आसपासमा यात्रुहरुको भीडभाड थियो। ‘अब, सबैलाई एक न एक पटक कोरोना हुने नै हो, कत्ति डराउनु दाई। गर्मीका कारण दिनमा तीन/चार वटा सर्जिकल मास्क फाल्नुपर्छ, कति फेरिसक्नु ?’ उनले गुनासो गरे।

बसपार्कमा अछाम र बाजुरा चल्ने गाढीका चालक यज्ञराज जोशी पनि विना मास्क भेटिए। ‘अहिले घरबाट आएको, गाडी ल्याएर क्युमा लगाएको छु, अब मास्क किन्न जाने हो’ उनले कुरा टार्दै भने, ‘सुरक्षा त आफ्नै लागि न हो।’ उनले लामो दुरीको यातायात खुलेदेखि अहिलेसम्म आफ्नो गाडी डिस्सेन्ट्राईज नगरेको बताए। ‘दिनदिनै कसरी गर्नु डिस्सेन्ट्राईज ? सर्विसिङमा लगेको दिन धोइन्छ, त्यही हो’ उनले भने।

लकडाउन खुलेपछि कोरोनाको ग्राफ, उकालो लागेको छ। लामो दुरीको यातायात खुलेसँगै कोरोना संक्रमणको दर अझ बढिरहेका बेला बसपार्क र सार्वजनिक सवारी साधनमा यसरी लापरवाही देखिरहेको छ। तर सुदूरपश्चिम यातायात प्रालि धनगढीले भने, छुटनुभन्दा अगाडि हरेक बस डिस्सेन्ट्राईजेशन गरिरहेको बताएको छ। ‘हामीले यात्रु बसाल्नुभन्दा अघि डिस्सेन्ट्राईजेशन नगर्ने सवारी साधनका धनीलाई कारावाही गर्ने भनेको छौं, बसपार्कमै पनि बसहरु डिस्सेन्ट्राईजेशन गर्नका लागि कर्मचारी नै राखेका छौं’ सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहले भने। उनले कोरोनाबाट जोगिन सवारी साधन धनी, सवारीका स्टाफ र यात्रु सबैले जिम्मेवार भइदिन आग्रह गरे।

भारतबाट नेपाल फर्किनेहरुमा कोरोनाको अझ बढी जोखिम हुन्छ। लामो दुरीका यातायात खुलेपछि भारतबाट आउने र स्थानीय गरी सबै जना एउटै सवारी साधनमा यात्रा गरिरहेका छन्। जस कारण कोरोनाको संक्रमण अझै बढने खतरा देखिएको छ।अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार