शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • संगीतालाई कसले मार्‍यो : बलात्कारी कि गाउँका अगुवाले ?

संगीतालाई कसले मार्‍यो : बलात्कारी कि गाउँका अगुवाले ?

  • शुक्रबार, अशोज २, २०७७
संगीतालाई कसले मार्‍यो : बलात्कारी कि गाउँका अगुवाले ?

सप्तरी । १३ बर्ष पहिले रोजगारीका लागि पञ्जाब गएका श्रीमान फर्किएन् । उनले एक छोरा र दुई छोरी एक्लै हुर्काइन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरकी रधियादेवी मण्डलले छोरा श्याम, छोरीहरु संगीता र सवितालाई बाबुको अभाव हुन दिइनन् ।

घरमा गर्जो टार्न गाह्रो भएपछि दुई वर्ष पहिले रधियादेवीका २२ वर्षीय छोरा श्याम मलेसिया गए । दुई छोरी सविता र संगीता आमाकै साथमा थिए ।

५५ हिउँद छिचोलिकी आमाको मुहारमा थकान देखिदा जेठी छोरी ‘तपाईं चिन्ता नगर्नुस्, हामी छौं माँ, सबै ठीक हुन्छ’ भन्थिन् ।

घरभित्र मात्रै होइन बाहिरका काममा पनि पछि पर्थिनन्, संगीता । महिलामात्रै भएको परिवारमा घर बाहिरको प्रायः सबै काम उनकै भागमा पर्थ्यो ।

सँधै जस्तै २९ भदौमा पनि संगीता बटिया लिएर पानी लगाउन खेतमा पुगिन् । तर त्यसदिन खेतबाट फर्किँदा उनको हातमा चुरा थिएन । चुरा मात्रै होइन खेत जानुअघि जे थिइन्, त्यो संगीता थिइनन् ।

अनुहारमा त्रास थियो । सधैं हाँसी खुसी गर्ने छोरीको अनुहारको रंग उडेको देखेपछि रधियादेवीले सोधीखोजी गरिन् । संगीता एक्कासी रुन थालिन् र आफूमाथि भएको घटना सुनाइन् ।

वास्तवमा त्यो कुनै घटनाको विवरण नभई अमानवीय अपराधको बयान थियो । घरबाट अन्दाजी दुई किलोमिटर टाढा पानी बगाउन खेतको आली काटिरहँदा गाउँकै चार जना युवक त्यहाँ पुगेका रहेछन् ।

उनीहरू त्यहाँ असल नियतले जम्मा भएका थिएनन् । मानवीयता गुमाएका चार–चार जनाको अगाडि आफूलाई जोगाउन १६ वर्षीया संगीताले अनेक संघर्ष गरिन् । तर उनको केही लागेन । चारै जना मिलेर किशोरीलाई नियन्त्रणमा लिए र सामूहिक बलात्कार गरे ।

पीडितलाई न्याय दिलाउन साथ दिनु त कता हो कता उल्टै गाउँका अगुवाहरू बाधक बने । ‘प्रहरीमा गए ठीक हुँदैन भन्दै उनीहरूले धम्क्याउन थाले’ रधियादेवी भन्छिन्, ‘गाउँकै इज्जतलाई नडुबाउन भन्दै दबाब पो दिन थाले ।’
लाउँ–लाउँ खाउँ–खाउँ उमेरकी संगीताको मनमा के बित्यो होला ? उनको शारीरिक–मानसिक अवस्था कस्तो भयो होला ? अचानोको चोट खुकुरीलाई थाहा हुँदैन ।

परिस्थिति जति प्रतिकूल भए पनि आफूलाई सम्हाल्दै संगीता जसोतसो घर पुगिन् । हिम्मत जुटाएर आफूमाथि भएको अपराधबारे आमालाई सुनाउने निर्णय गरिन् ।

खाई नखाई फूलजसरी हुर्काएकी छोरीमाथि भएको त्यो हदको व्यवहारले कुन चाहिँ आमाको मन थामिन्थ्यो र ? रधियादेवीको पनि थामिएन । छोरीले आफूमाथि भएको आपराधिक कृत्यको बयान सुनाउँदा–सुनाउँदै रधियादेवी मुर्छित बनिन् ।

होस खुलेपछि पनि धेरैबेर आमा छोरी रोइरहे । साढे पाँच दशक लामो जिन्दगीमा रधियादेवीले यति ठूलो बज्रपात कहिल्यै भोग्नु परेको थिएन । साँच्चै भन्दा श्रीमानको अनुपस्थितिमा पनि जेनतेन छोराछोरी हुर्काएकी थिइन् । एक्लै छोराछोरी हुर्काउँदा जेजे दुःख आइलाग्यो सबैलाई स्वीकारेकी थिइन् ।

जो अगुवा, उही बाटो …

रधियादेवी र संगीताका लागि दिउँसै रात प¥यो । डाक्नेश्वरीको भूगोल समथर भए पनि उनको परिवारमाथि दुःखको पहाड खस्यो । के गर्ने ? कहाँ जाने ? कसलाई भन्ने ? केही सोच्न सकिरहेकी थिइनन् ।

तर आकाशै खसे पनि ती आमालाई छोरीको पीडामा आँसु बगाएर बस्ने छुट थिएन । गाउँका अगुवालाई भन्यो भने न्याय दिलान् कि भन्ने आशमा कसैलाई खेतबाट त कसैलाई घरबाट बोलाएर ल्याइन् ।

त्यो आपराधिक कृत्यको बयान गर्दा उनी पटकपटक भक्कानिइन् । र, पनि न्यायको आशमा सम्हालिएर सकिनसकी छोरीमाथि भएको अत्याचारको बेलीविस्तार लगाइन् ।
तर उनीहरुले बलात्कारीलाई कारबाही गर्न सघाउनुको साटो ‘जे भयो, भइहाल्यो’ भन्दै मिलापत्र गराउन खोजे । पीडित पक्षलाई ५५ हजार रुपैयाँ दिलाउने फैसला नै सुनाइदिए ।

जीवनभरि मुटुमा गडेर बस्ने घाउको पनि मूल्य ? एउटा निर्दोष व्यक्तिको सिंगो जीवनको मुल्य ५५ हजार ? अगुवाहरुको त्यस्तो घृणित र गैरकानूनी फैसला रधियादेवीलाई स्वीकार्य हुने कुरै थिएन । त्यसैले सोमबार दिउँसो भएको त्यो छलफलमा उनले भनिन्, ‘मलाई पैसा चाहिएको छैन, मेरो छोरीलाई न्याय चाहियो ।’

अगुवाहरूले नै न्याय दिनुको सट्टा छोरीको इज्जतको मोलतोल गरेर बलात्कारीको पक्ष लिएपछि उनी आफैं प्रहरीमा उजुरी दिन जाने निधो गरिन् । तर पीडितलाई साथ दिनु त कता हो कता उल्टै गाउँका अगुवाहरू बाधक बने । ‘प्रहरीमा गए ठीक हुँदैन भन्दै उनीहरूले धम्क्याउन थाले’ रधियादेवी भन्छिन्, ‘गाउँकै इज्जतलाई नडुबाउन भन्दै दबाब पो दिन थाले ।’

चार–चार जनाले घृणित कार्य गर्दा नगएको इज्जत, कानूनी अधिकार प्रयोग गरेर न्याय माग्दा जाने रे ! १६ वर्षीया किशोरीलाई जोगाउने प्रयास नगरेको समाजले बलात्कारमा संलग्नविरुद्ध उजुरी गर्दा इज्जत जान्छ भन्यो । पीडितको बारेमा होइन पीडकको चिन्ता पो गर्न थाल्यो ।

अगुवा भन्नेहरूको यस्तो व्यवहारले पीडित परिवारको आलो घाउमा नुनचुक छर्‍यो । अगुवाहरूको निर्णयपछि संगीताले आफूलाई सम्हाल्न सकिनन् । सोमबार राति आमा र बहिनीलाई घरभित्र थुनिन् बरण्डामा पासो लगाइन् ।

रधियादेवीले गला अवरुद्ध पार्दै भनिन्, ‘जातीय अगुवाले न्याय दिनुको सट्टा मेरो छोरीलाई मर्न बाध्य पारे ।’

बलात्कारमा संलग्न चारै जना फरार छन् । पीडित परिवारका अनुसार गाउँकै १९ बर्षीय बब्लु, १८ बर्षीय रञ्जित मण्डलको समूहले सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरीले ५५ हजार रुपैयाँ दिएर मिलापत्र गर्न खोज्ने तीन जना अगुवालाई पक्राउ गरेको छ । जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरी अन्य अनुसन्धान शुरु गरिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बताए । ‘हामीले बलात्कारमा संलग्नको खोजीलाई तीव्र बनाएका छौं’ उनले भने ।

घटनापछि स्थानीयबासी मौन छन् । शुक्रबार हामी पुग्दा पनि उनीहरू त्रासमा देखिन्थे । यहाँसम्मकी वडाध्यक्षले पनि बोल्न चाहेनन् । घटनाबारे कुरा गर्न खोज्दा वडाध्यक्ष रामनारायण चौधरीले आफू बिरामी भएकाले केही नबोल्ने बताए ।

अगुवाकै कारण अर्को आत्महत्या

अगुवाले मनोमानी निर्णय गर्दा पीडितलाई थप पीडा दिएको यो पहिलो घटना भने होइन । सिराहाको लहान नगरपालिका–२४ का श्यामलाल रामले पनि गाउँका अगुवाको निर्णयपछि आत्महत्या गरेका थिए ।

उनका जेठी छोरीको सुरुङ्गा, सप्तरीका युवकसँग बिहे तय भएको थियो । तर उनकी छोरी गाउँकै युवकसँग भागेपछि जातीय अगुवाले श्यामलाललाई दोषी ठहर गर्दै ६० हजार रुपैयाँ जरिवाना तिराउन र मासुभातको भोज गर्नुपर्ने निर्णय गरे ।

दुई लाख रुपैयाँ र चार आना सुन लिइसकेको केटा पक्षले श्यामलालकी कान्छी छोरीसँग विवाह गर्ने बताएका थिए । तर जातीय अगुवाले जरिवाना वापत ६० हजार नतिरेसम्म त्यो बिहे हुन नदिने बताएपछि श्यामलालले आत्महत्या गरेका थिए ।

बलात्कारी जोगाउनेलाई सजाय के ?

अपराध गर्न सहयोग पुर्‍याउने, अपराध गरिसकेपछि अपराधीलाई भगाउने, लुकाउने वा अन्य कुनै किसिमबाट सहयोग पु¥याउने व्यक्तिलाई मतियार भनिन्छ । अपराधी जोगाउन खोज्ने मतियारका लागि कानुनमा स्पष्ट सजायको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ मा आपराधिक षड्यन्त्रमा संलग्न भई कसूर गर्ने, साधन वा ठाउँ उपलब्ध गराइदिने, जसको विरुद्धमा कसूर गरिएको हो त्यस्तो व्यक्तिलाई निजी रक्षाको अधिकारबाट बञ्चित गराउने वा कसूर गर्न आदेश दिने वा सल्लाह दिनेलाई त्यस्तो कसूर निजले गरे सरहको सजाय हुने व्यवस्था छ ।

त्यसबाहेक अन्य मतियारलाई भए गरेको अपराधमा उसको संलग्नताको मात्रा अनुसार त्यस्तो कसूर गरे बापत हुने सजायको आधासम्म सजाय हुने व्यवस्था छ ।

मुलुकी अपराध संहितामा सोह्र वर्ष वा सोह्र वर्ष भन्दा बढी र अठार वर्षभन्दा कम उमेरकी महिलामाथि बलात्कार गर्नेलाई दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजायको व्यवस्था छ ।

संगीतामाथि सामूहिक बलात्कार भएको देखिन्छ । ऐनको दफा २१९ को उपदफा ७ मा सामूहिक बलात्कार गर्नेलाई थप पाँच वर्ष सजाय हुने व्यवस्था छ ।

मुलुकी अपराध संहितामा जबर्जस्ती करणी गरेर ज्यान मारेको अपराधमा जन्मकैदको व्यवस्था छ । संगीताको मृत्यु बलात्कारकै कारणले भएको प्रमाणित भए दोषीलाई जन्मकैद वा आत्महत्या दुरुत्साहनको समेत मुद्दा लाग्ने कानूनविद्हरू बताउँछन् ।

संगीताको मृत्युमा आत्महत्या दुरुत्साहन प्रमाणित भए बलात्कारमा संलग्नमात्र होइन कानून विपरीत मिलापत्र गराउने अगुवाहरू पनि सजायको भागीदार हुन सक्नेछन् । संगीताको मृत्युमा बलात्कारमा संलग्नहरु दोषी हुन् वा उनीहरुलाई जोगाउन खोज्ने गाउँका अगुवा पनि ? यो त न्यायालयले नै छिनोफानो गर्ला । अनलाईन खबरबाट साभार

चर्चामा

सम्बन्धित समाचार