• होमपेज
  • समाज
  • सुदूरपश्चिममा दोषीले संरक्षण पाउँदा पत्रकारमाथि श्रृंखलाबद्ध आक्रमण बढ्दै

सुदूरपश्चिममा दोषीले संरक्षण पाउँदा पत्रकारमाथि श्रृंखलाबद्ध आक्रमण बढ्दै

  • आइतवार, भदौ २८, २०७७
सुदूरपश्चिममा दोषीले संरक्षण पाउँदा पत्रकारमाथि श्रृंखलाबद्ध आक्रमण बढ्दै

 शुक्रवार दिसँसो करिब १२ बजेको समयमा दिनेश संञ्चार गृहमा प्रवेश गरी एउटा समूहले साँघातिक हमला गर्यो। सञ्चार गृहको समाचार कक्षमा काम गरिरहेको अवस्थामा सहायक सम्पादक जनक विष्ट सहितका पत्रकार र व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिह लगायतमाथि समेत कुटपिट र दुव्र्यवहार गरिएको थियो।

प्रहरीलाई उदृत गर्दै प्रकाशित गरिएको समाचार हटाउन भन्दै दिनेश संञ्चार गृहमा पुगेको समूहले आक्रमण गरेको थियो। आक्रमणमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउँनुपर्ने माग गरिएपनि हालसम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेको पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले बताए।

‘संञ्चार गृह भित्रै पत्रकारमाटि कुटपिट गरिनु आम संञ्चार जगतकै लागि दुःखत पक्ष हो,’ उनले भने, ‘यस घटनाका दोषीलाई कडा कारवाही गर्न पत्रकार महासंघ जोडदार माग गर्दछ।’ यसअघी पनि दिनेश सञ्चार गृहमै आवद्ध पत्रकारहरुलाई पटक–पटक आक्रमण गरिएको थियो, भने कैलाली सहितका अन्य जिल्लामा समेत गत वर्ष मात्र पत्रकारमाथि आक्रमण गरी कुटपिट भएका दर्जन बढि घटना सार्वजनिक भईसकेका छन्।

केही महिना पहिले मात्र कान्तिपुर दैनिकका पत्रकार गणेश चौधरीमाथि कैलालीको टीकापुरमा कुटपिट भएको थियो। तर पत्रकार र सञ्चार गृहमाथि आक्रमण हुँदा समेत सरोकारवाला निकाय गम्भीर नबन्दा सोही प्रकृतिका घटना दोहोरिदै जान थालेका छन्।

‘सञ्चार माध्यममा प्रकाशन/प्रशारण भएका समाचारप्रती कुनै विमती भए कानूनी उपचार खोज्न सकिने भएपनि भौतिक आक्रमण हुनथालेपछि पत्रकार असुरिक्षत भएका छन्,’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्यालले भने,’ ‘प्रहरी प्रशासनले पनि दोषीलाई कारबाही गर्न लापरवाही गरिरहेको छ, यस कारण पत्रकारमाथी हुने श्रृंखलाबद्ध आक्रमण रोकिएका छैनन्।’

पत्रकारमाथि आक्रमण गर्ने अपराधिक मनोवृत्ति भएका व्यक्तिहरुलाई संरक्षण दिईन थालेपछि समस्या भएको छ। उनीहरुले सहजै उन्मुक्ति पाउँदा अपराधिक मानसिकतालाई बल पुग्ने गरेको बुझाई धेरैको छ। जसका कारण दण्डहिनता मौलाएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले यसअघिका घटनामा पनि संलग्नहरुलाई कडा कारबाहीको माग गरिएको बताए।

उनले अहिलको घटनाका दोषीलाई पनि कानूनको दायरामा ल्याउन सिङ्गो पत्रकार महासंघ लाग्ने बताए। सार्वजनिक स्थानमै पत्रकारलाई आक्रमण गर्नेहरु खुलेआम हिड्ने गरेको भएपनि प्रहरी प्रशासनले समेत नियन्त्रणमा लिन सकेको छैन्। घटना भएको केही दिन सम्म निकै चर्चा हुने र कारवाहीका लागि एक आवाज सुनिने भएपनि केही समयपछि त्यस्ता घटना सेलाउने गरेका छन्।

आम सञ्चार माध्यम र पत्रकारमाथि हुने आक्रमण, कुटपिट, दुव्र्यवहारका घटनालाई गम्भीर रुपमा लिएर दोषीलाई कारवाही गर्न सम्बन्धित निकायले तदारुकता देखाउँनुपर्ने मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख झंकर रावलले बताए। तर पत्रकारमाथि आक्रमण गर्नेहरुलाई राजनीतिक संरक्षण दिने प्रवृत्ति मौलाउँदै गएको छ।

चर्चामा

सम्बन्धित समाचार