काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका दुईसहित तीन महिला र तीन पुरुष गरेर ६ जनाको मृत्यु भएको हो।योसँगै मृत्यु हुनेको संख्या ३१२ पुगेको छ।
२४ घण्टामा मत्यु हुनेमध्ये काठमाडौंकी ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गर्दा १०८१ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुग्दा डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ। अहिले होम आइसोलेसनमा सात हजार ३७ रहेका छन् भने संस्थागत आइसोलेसनमा सात हजार ९८८ जना रहेका छन्।
नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ५ हजार ४८० जना रहेका छन्।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन्। त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमण शून्यमा झरेको छ।