• होमपेज
  • समाज
  • स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि हातपात

स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि हातपात

  • मङ्लबार, भदौ २३, २०७७
स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी- स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। बैतडीको सिगास गाउँपालिका- ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो।

भूमीराज आधारभूत विद्यालयमा बन सम्बन्धी बैठक चलिरहेको बेला आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए। उनले भने, ‘बैठक चलिरहेको थियो। ती व्यक्ति मदिरा सेवन गरेर गालीगलोज पनि गरिरहेका थिए। मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा हातपात नै गरे।’

स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हातपात भएपछि स्वाब संकलन कार्य समेत रोकिएको सिगास गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। उनले भने, ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पठाएका थियौं। तर स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ, आज संकलन गर्न जाँदै छन्।’

स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको बताइएको छ। स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी भुपेन्द्र बोहराले बताए। उनले भने, ‘यसरी मलाई काम गर्न निकै असहज भएको छ। अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु। यसपछि के हुन्छ त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु।’

बैतडीमा जिल्लाका प्रत्येक स्थानीय तहमा समुदायमा कोरोना परीक्षण गर्ने हिसाबले संक्रमिततका आफन्तहरुको स्वाब संकलन गर्ने कार्य भइरहेको छ। अहिलेसम्म ३७५ जनामा कोरोना पुष्टि भएको  छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन्। जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। #स्वास्थ्य खबर

चर्चामा

सम्बन्धित समाचार