वसन्तप्रताप सिंह — निषेधाज्ञा र लकडाउनका बेला बझाङमा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । दुई ठूला दल नेकपा र नेपाली कांग्रेसका अभियानले कोरोना रोकथामका सबै कामलाई भर्सेलामा पारेको त छ नै, उल्टै संक्रमणको जोखिम पनि बढाइदिएको छ ।
संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले भेला नहुन सचेत गराइरहेका बेला दुवै पार्टीबीच जिल्लाभर आमसभा र भेला गर्दै एकअर्को पार्टीका कार्यकर्तालाई भित्र्याउने प्रतिस्पर्धा चलेको छ । पार्टी प्रवेश गरेकाहरूलाई बधाई दिएका तस्बिर र स्टाटसले सामाजिक सञ्जालहरू रंगिएका छन् ।
बझाङ प्रशासनले भदौ ३ मा जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, भेलालगायत भीडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गर्यो । त्यही दिन प्रशासन कार्यालयभन्दा करिब ६ सय मिटरको दूरीमा रहेको नेकपा पार्टी कार्यालयमा चार सय जनाभन्दा बढी नेता–कार्यकर्ताको उपस्थितिमा भेला गरियो । जहाँ नेकपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पूर्वमन्त्री, सांसद, केन्द्रीय नेता तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा डेढ सयभन्दा बढीलाई पार्टी प्रवेश गराइएको बताइयो ।
त्यसै दिन प्रशासन कार्यालयबाट डेढ किलोमिटरको दूरीमा रहेको जयपृथ्वी नगरपालिका–७ मा कांग्रेसले पनि उत्तिकै संख्यामा नेता–कार्यकर्ताको भेला डाकी १ सय २० जना नेकपाका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएको दाबी गर्यो । यो भेलामा पनि कांग्रेसका जिल्ला र केन्द्रीयस्तरका नेता सहभागी थिए ।
त्यसयता दिनहुँजसो जिल्लाका विभिन्न ठाउँमा दुवै पार्टीले आमसभा र भेला गर्दै पार्टी प्रवेशको होडबाजी चलाएका छन् । नेकपा र कांग्रेसका केन्द्र, जिल्ला र स्थानीयस्तरका अधिकांश नेता रातदिन नभनी कार्यकर्ता तान्ने ध्याउन्नमा गाउँगाउँ खटिएका छन् । बिहीबारसम्म कांग्रेस छाडेर दुर्गाथली, तल्कोट, खप्तडछान्ना, थलारा, मस्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाबाट मात्रै पाँच सयभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका नेकपा बझाङले जनाएको छ । यस्तै, खप्तडछान्ना, थलारा, मस्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका ४ सय ५० भन्दा बढी नेकपाका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेसको दाबी छ ।
भदौ ३ यता प्रत्येक दिन तीन–चार ठाउँमा दुवै पार्टीले भेला र आमसभा गरिरहेका छन् । कांग्रेसले भने साउन लागेबाटै भेला गर्न थालेको हो ।
थलारा गाउँपालिकामा क्वारेन्टाइनबाट घर फर्केका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेका बेला पनि कांग्रेसले त्यहाँ भेला डाकेको थियो ।
‘मूर्खतापूर्ण व्यवहार’
बाढीपहिरोलगायत विपद्का घटना र संक्रमणको जोखिमलाई समेत बेवास्ता गर्दै जनप्रतिनिधि र नेताहरू संगठन विस्तारमा खटिएको प्रति सामाजिक सञ्जाल र स्थानीयस्तरमा विरोधको आवाजसमेत उठ्न थालेको छ । ‘महामारीका बेला सबैलाई सुरक्षित बनाउन लाग्नुपर्ने नेताहरू नै भीडभाड गराएर पार्टी प्रवेश गराउने प्रतिस्पर्धा गरिरहेका छन् । यसको जति निन्दा गरे पनि कमै हुन्छ,’ जयपृथ्वी–३ का राकेश खड्काले फेसबुकमा लेखेका छन्, ‘यस्तो गर्नेलाई कारबाही हुनुपर्छ । भोलि संक्रमण फैलिए उनीहरूले जिम्मा लिनुपर्छ ।’
महामारीका बीचमा पनि चुनाव आएजस्तै गरी भेला र आमसभा गर्नु, पार्टी प्रवेशको होडबाजी चलाउनुले नेताहरूको गैरजिम्मेवार चरित्र उदांगो भएको बुद्धिजीवीहरू बताउँछन् । ‘स्थानीय तहमा सार्वजनिक सुनुवाइ गर्दा भीडभाड हुन्छ भनेर सुटुक्क कोठाभित्र आयोजना गरेर प्रक्रिया मिलाइरहेका छन् । उनै जनप्रतिनिधि पार्टी प्रवेश गराउन आमसभा गरिरहेका छन् । चुनाव आए जस्तै रातारात घरघरमा गएर सदस्यता बाँड्दै छन्,’ जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक लालबहादुर बोहराले भने, ‘नेता र जनप्रतिनिधिहरू बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न र महामारीबाट जनतालाई कसरी बचाउने भनेर लाग्नुपर्ने बेला भोट बढाउने ध्याउन्नमा लाग्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’
लक्षणसहितका संक्रमितको संख्या बढिरहेका बेला भेला र आमसभा गरिनु जोखिमलाई निम्तो दिनुजस्तै भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डा. मिलन खड्काले कोरोना समुदायस्तरमा फैलिसकेका बेला भीडभाड हुने खालका गतिविधि गरिनु मूर्खतापूर्ण भएको बताए । ‘समुदायमा संक्रमण फैलिसकेको छ । रिपोर्ट आउन मात्रै बाँकी हो,’ उनले भने, ‘यो कुरा हामीले विभिन्न माध्यमबाट भनिरहेका छौं । यस्तो बेला भीडभाड हुने काम गर्नु आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हो ।’ उनले सबै पक्षको सतर्कता र सुझबुझपूर्ण व्यवहारले मात्रै महामारीसँग लड्न सकिने बताए ।
दलका आ–आफ्नै दाबी
नेकपा र कांग्रेसका नेताहरूले भने आमसभा र भेलाको आयोजना आफूहरूले नगरेको दाबी गरेका छन् । कांग्रेस बझाङका सभापति हर्कजंगबहादुर सिंहले भने, ‘जनतामा देखिएको निराशा र राज्यसत्ताले गरेको विभेदपूर्ण व्यवहारका कारण मानिस आफैं पार्टी प्रवेश गर्न आएका हुन् । हामीले त्यसको सम्मान मात्रै गरेका हौं । कांग्रेसले कुनै आधिकारिक कार्यक्रम गरेको छैन ।’
नेकपाका जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जनप्रतिनिधिहरू बाढीपहिरो र विपद्को क्षति अनुगमन गर्न गाउँ गएका बेला कांग्रेस र अरू दलप्रति वितृष्णा जागेका कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको बताए । ‘कोरोना महामारीप्रति हामी सचेत छौं । हामीले नेपाल सरकारको प्रोटोकलभित्र रहेर सचिवालयको बैठक मात्रै आयोजना गरेका हौं,’ उनले भने ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कमलराज रेग्मीले आफूले दलका नेतालाई व्यक्तिगत रूपमा पनि भेला नगर्न सचेत गराएको बताए । ‘मैले उहाँहरूलाई भेला नगर्नु होला भन्दा नेपाल सरकारको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेका छौं भन्नुभएको छ । उहाँहरूले भनेपछि त्यही भएको छ भन्ने मान्नुपर्यो,’ उनले भने । कान्तिपुरबाट शाभार